मधुमल्ला/ मधुमल्ला समुदायमा आधारित सहकारी संस्था केही ‘मुठ्ठीभर’का ब्यक्तिहरुले नियमविपरित खरिद गरी सञ्चालन गर्न थालेपछि सर्वसाधारणको बचत जोखिममा पर्ने देखिएको छ । उर्लाबारी–७ मा कार्यालय खोलेर सञ्चालनमा ल्याइएको मावा समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको कारोबार नै गैरकानूनी देखिएको हो । सहकारी सिद्धान्तअनुसार एकपटक दर्ता भएको सहकारी संस्था फेरि किनबेच गर्न पाइँदैन ।

२०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले लक्षित वर्गलाई समेट्ने गरी दर्ता प्रक्रियामा सहजीकरण र अनुदान कार्यक्रमसहित मोरङमा ४० वटा सहकारीलाई सञ्चालन अनुमति दिएको थियो । जसअनुसार उर्लाबारी–६ का अम्बिका तामाङको अध्यक्षतामा मावा समृद्धि बहुउद्देश्यीय सहकारी संस्था गठन भएको थियो । तामाङका अलवा मधुमल्लाका बबी राई, दिपक श्रेष्ठ, यमबहादुर बोहोरा र उर्लाबारीका अनिल श्रेष्ठसहित पदाधिकारी रहेको सहकारी कुनै गतिबिधि नगरी ‘झोलामा मात्र’ सीमित रहेको बेला किनबेच भएको हो ।

सदस्य नै नभएका ब्यक्ति अध्यक्ष भई मावा समृद्धि सहकारीमार्फत अपारदर्शी ढंगले ‘ठूलो परिणाम’मा बचत तथा ऋणको कारोबार गरिरहेका छन् । ‘नेतृत्वमा नै पुग्नुपर्छ भन्ने उद्देश्यले जो मान्छे सहकारीमा पैसा तिरेर आउँछ उसको नियत सफा देखिँदैन’ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ नेफ्स्कुनका पूर्व उपाध्यक्ष अमृता सुब्बाले भनिन् –‘नेतृत्वमा आउन पैसा खर्च गरिरहनु पर्छ भन्ने छैन ।’ सहकारीलाई नाफामूलक संस्थाका रूपमा सञ्चालन गर्न सहकारी संस्थाको किनबेच सु? भएको हुन सक्ने नेफ्स्कुनका पूर्व उपाध्यक्ष सुब्बाको भनाई छ । सहकारीलाई अगाडि बढाउने योजना भए प्रतिस्पर्धाबाटै नेतृत्वमा आउन सक्ने भएपनि मावा समृद्धिका वर्तमान अध्यक्ष भनिएका ध्रुबचन्द्र पराजुली कुनै साधारणसभाबाट नेतृत्वमा आएका ब्यक्ति होइनन् । स्रोतका अनुसार सहकारी नियमावलीको खिल्ली उडाउँदै कार्यसमिति सदस्यसमेत नभएका पराजुली अध्यक्ष हुन पुगेका छन् । पदाधिकारी हुन एक कार्यकाल कार्यसमिति सदस्य हुनै पर्ने सहकारी ऐन २०७४ मा उल्लेख छ । कतिसम्म भने पराजुली नेतृत्वको सहकारीको बार्षिक साधारणसभा पनि भएको छैन । तर, पराजुलीले भने २०७४ साल साउनमै बार्षिक साधारणसभा भइसकेको दाबी गरे । उता शेयर सदस्य नै नभएका ब्यक्तिलाई नेतृत्व जिम्मा लगाएर ६ लाख ५० हजार रुपैयाँ ‘नजाराना’ लिएको भन्दै मावा समृद्धि सहकारी स्थापनाकालका पदाधिकारीहरुबीच नै मनमुटाव सुरु भएको स्रोतले जनाएको छ । तत्कालिन समितिका एक पदाधिकारीले भने–‘म कार्यसमितिको जिम्मेवार ब्यक्ति हुँ, कुन मापदण्डमा रहेर सहकारी बेचियो, म नै बेखबर छु ।’ उनले हाकाहाकी सहकारी किनबेच भएको भन्दै डिभिजन सहकारी कार्यालयमा उजुरी गर्ने जानकारी दिए ।

सहकारी अभियान्ताहरुका अनुसार लक्षित वर्गको उत्थान र नितान्त पशुपालनमा लगानी गर्ने उद्देश्य बोकेको सहकारीलाई फाइनान्स कम्पनी जस्तो नाफामूलक संस्था बनाउन नपाइने र त्यसले बचतकर्ताको लगानी जोखिममा पर्ने निश्चित छ । ‘यसले दीर्घकालसम्म सहकारीमा समस्या आउन सक्छ’ सहकारीका एक अभियान्ताले भने–‘जनताको लगानीमाथि खेलबाड हुने कार्यमा सम्बन्धित निकाय मौन रहनु हुँदैन ।’ कानुनतः यसरी सहकारीको बिक्री गर्न पाइँदैन । तर, गैरकानुनी तरिकाले सहकारीको किनबेच भएकोप्रति मिहिन ढंगले छानविन गरी ‘एक्सन’मा जाने सहकारी डिभिजन कार्यालय मोरङ स्रोतको भनाई छ । सहकारी मूलतः सामूहिक हितका लागि खोलिनु पर्ने भएकाले सहकारीको नाफा पनि सदस्यहरूले बराबर रूपमा बाँड्नु पर्छ । तर, अहिले मावा समृद्धिका सञ्चालन समितिमा बसेकाहरूले घुमाउरो पारामा नाफा एकलौटी बनाउने गरेको पाइएको छ ।

यसैबीच मावा समृद्धि सहकारीले गैरसदस्य कारोबार गर्ने गरेको पनि खुलेको छ । कार्यक्षेत्र मिचेरसमेत बचत तथा ऋणको कारोबार भइरहेको छ । यसरी नियम कानुन मिचेर सहकारी संस्था सञ्चालन हुँदा सरोकारवाला निकायले भने अनुगमन गर्न सकेको छैन । उर्लाबारी र मिक्लाजुङलाई कार्यक्षेत्र बनाएको मावा समृद्धि बहुउद्देश्यीय सहकारीले बचतका नाममा दैनिक लाखौं रुपैयाँ उठाउने गरेको छ । केही व्यक्तिहरू मात्रै मिलेर सञ्चालनमा ल्याएको मावा समृद्धि सहकारीका पदाधिकारीहरुले सदस्यता विस्तारको नाममा गाउँ तथा सहरमा हरेकको घरदैलो गरी १ सय रुपैयाँको सेयर दिएर सहकारीको सदस्य बनाउने गरेका छन् ।

तर, सहकारीको नीति निर्माणदेखि हरेक क्रियाकलापमा ती सदस्यलाई सहभागिता नगराउने गरेको पाइएको छ । सदस्यहरूलाई बचतको प्रलोभन देखाएर त्यसैको आधारमा चर्काे ब्याजमा ऋण दिएर मुनाफा कमाउनु सो सहकारीका सञ्चालन समितिमा रहेका उर्लाबारी–५ का धु्रबचन्द्र पराजुली, नरकाजी श्रेष्ठ र उर्लाबारी–१ का गोविन्द भट्टराईको धन्दा बनेको छ । सो सहकारीले ऐनविपरीत रेमिट्यान्सको कारोबार गर्ने, बचतमा थोरै ब्याज दिएर ऋणमा अत्यधिक ब्याज असुल्ने गरेको पनि पाइएको छ । मिक्लाजुङ–८ का सन्तोष गौतमले मावा समृद्धि सहकारी अबैधानिक भएको थाहा पाएपछि आफूले बचत गरेको सम्पूर्ण रकम फिर्ता लिएको जानकारी दिए । गौतमले भने –‘मावा समृद्धिका सञ्चालकहरू सहकारीको नाममा आफ्नो भकारी भर्न उद्धत रहेको पाइयो ।’