पथरीशनिश्चरे / १ नम्वर प्रदेशमा कटानको मुख्य समस्यामध्येमा पर्ने बक्राहा खोलाको आसपासका बासिन्दाहरु आकाश धुम्मिनासाथ त्रसित बन्छन् । लामो समयदेखि उनीहरुमाझ रहेको त्रासपूर्ण वातावरण अन्त्य हुने कुनै निश्चित छैन । २०५३/०५४ मा ओपेक परियोजनामार्फत मोरङको मधुमल्लादेखि दक्षिणमा भारतको सिमासम्मको क्षेत्रसम्म भएको तटबन्ध गरियो । दुबैतर्फ बालुवाको डिल उठाएर तारजालीका सामान्य स्परहरु बनाएर टालटुले काम मात्र भयो । त्यसले लामो समय कामै गरेन । ‘वाँध भनिएको बालुवाको डिल २,३ वर्षदेखि नै भत्किन थालिहाल्यो ।’– मिक्लाजुङस्थित मधुमल्लाका समाजसेवी बुद्धिलाल निरौलाले इतिहास सम्झदै भने । परियोजनाले व्यवस्थित काम नगरेको विषयमा तत्कालीन मन्त्री खुमवहादुर खड्कामाथि भ्रष्टाचारको मुद्धा चल्यो ।
व्यवस्थित रुपमा तटबन्धको अभावमा बक्राहाले वर्षेनी दर्जनौंलाई घरबारबिहीन बनाउँदै आएको छ । सयौं बिगाहा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ ।
आर्थिक वर्ष ०७५/७६ वर्षको नीति, कार्यक्रम तथा बजेटमा व्यवस्थित तटबन्धका लागि संघबाट ‘जनताको तटबन्ध’ नामक छुट्टै परियोजना सञ्चालन गर्ने घोषणा भएपनि अझै त्यो खाले परियोजनाको निक्र्यौल भइसकेको छैन । तर पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलीपकुमार राईले संघीय सरकारबाट जनताको तटबन्धमार्फत बक्राहाको तटबन्ध गरिने कुरा आएपछि आफुहरु आशावादी बनेको जनाए । बक्राहातर्फ संघले गर्ने र डाँस र मोरङ्गी खोलातर्फ नगरले गर्ने कुरा जनतालाई भनेका छौं । सोही अनुसार नगरले अबको आर्थिक वर्षका लागि डाँस र मोरङ्गी खोलाको तटबन्धमा क्रमागत योजना बनाइसकेको छ ।’– केन्द्रको आशा व्यक्त गर्दै उनले भने । नगरपालिकाले ती २ खोला तटबन्धमा १ करोड रकम छुट्याएको छ ।
बक्राहा नदी नियन्त्रण संघर्ष समितिका संयोजक उर्लाबारीमा समाजसेवी मानबहादुर श्रेष्ठले भनें सरकारले गत वर्षदेखि छुट्टै परियोजना सञ्चालन गर्ने भनेर रातो किताबमा बजेट छुट्याएपनि हालसम्म त्यसखाले काम सुरु नभएकोमा दुखेसो पोखेका छन् । ‘सरकारले यो वर्ष पनि छुट्टै परियोजनाका लागि बजेट निश्चित नगरेकाले विश्वस्त हुन सकिएको छैन ।’– उनले भने ‘जनताको तटबन्ध परियोजना सञ्चालन हुने हो भनें त्यसको लागि प्रष्ट यथेष्ठ बजेट छुट्टिएर काम थालियोस् ।’
२ वर्षअघिदेखि मधुमल्लादेखि दक्षिणी भारतीय सीमासम्मको दुवैतर्फ गरी ५१ किलोमिटर दुरीमा व्यवस्थित पक्की तटबन्धको छुट्टै परियोजनाको कुरा भएपनि ०७३/७४ मा बक्राहा तटवन्धका लागि बल्लतल्ल ३ करोड रुपैयाँ मात्र छुट्टियो । त्यसपछि आफुहरुले दबाव दिएर थप २२ करोड रकम बिनियोजन भएको संयोजक श्रेष्ठले सुनाए । त्यो रकमले अति आवश्यक ठाउँहरुमा तारजालीको स्पर निर्माण भएपनि सवै ठाउँमा तटबन्ध पुरा हुन सकेन । दुवैतर्फ तारजाली सहितको पक्की डिल बनाएर तटवन्ध गर्न ४ अर्ब बढी रकम लाग्ने डीपीआर भएको उनले बताए ।
०७२ असार १५ गते राती र ०७३ मा असार ६ गते राती आएको बाढीले मधुमल्लामा २ ठाउँ बाँध भत्किएर सयौं बिचल्ली भए । लगातारको दबावपछि ०७३ मंसिर २६ र माघ २६ मा तात्कालिन सिंचाई तथा जलस्रोत मन्त्री दिपक गिरी सहितको सरकारी टोली आएर समस्याको स्थलगत जानकारी लियो । सो टोलीले विशेष योजना बनाउने बचन दिएपछि जल उत्पन्न प्रकोप व्यवस्थापन समितिले साढे ३ अर्ब बढीको परियोजनाको प्रस्तावना र डीपीआर समेत तयार गरेर मन्त्रालयमा पेश गर्यो । ‘प्रस्ताव स्वीकृत पनि भयो । तर काम अघि बढेन ।’– खोला तटबन्धका लागि लगातार सरकारी ढोका ढक्ढक्याइरहेका श्रेष्ठले नालीबेली सुनाए ।
खोलो अग्लो भएर बस्तीमा पस्ने समस्या बढेपछि ठाउँको ढुंगा, गिट्टी र बालुवा निकाल्नका लागि वातावरण प्रभाव मुल्यांकन (आइइइ) गर्न स्थानीयले वारम्वार माग गरेपनि त्यो काम अहिलेसम्म हुन नसक्दा वर्षेनी खोलाको सतह बढ्ने समस्या जारी छ । मिक्लाजुङस्थित मधुमल्लाको पाण्डे चोक उत्तर र दक्षिण, उर्लाबारी १ को कोपिला चोक, मेचेडाँगी क्षेत्र, मिक्लाजुङ ६ को कसेनी, मलामी टहरा, उर्लाबारी ४ को थापाडाँगी, बिशाल टोल, उर्लाबारी ८ को सन्थालबस्ती, बगर टोल क्षेत्रको बाँध जतिखेर पनि फुट्न सक्ने खतरापूर्ण अवस्थामा रहेको छ । बाढीबाट विस्थापित बनेका २५ घर परिवार बेतेनी सिमसार क्षेत्रको जंगल किनारमा टहरा बनाएर दुःखपूर्ण रुपमा बस्दै आएका र उनीहरुको व्यवस्थापन हुन सकेको छैन ।
०७३ साउन ८ गते पथरीशनिश्चरे ५ को हसन्दहस्थित जयनगरमा करिब ४ सय मिटर बालुवाको बाँध भत्काएर बक्राहा बस्तीमा पसेको थियो । त्यसबेला तत्कालिन हसन्दह, अमरदह, गोविन्दपुर सहित भारतीय सिमा क्षेत्रका २ सय वढी घर डुबान भएको थियो । त्यहाँ कामचलाउन बाँध बनेपनि स्थानीयहरु व्यवस्थित परियोजनाको पर्खाइमा रहेको वडाध्यक्ष जोगबहादुर धिमालले बताए । ‘यस क्षेत्रका बासिन्दा यो बेला राती बाढी पस्ने त्रासमा निदाउँन सकिरहेका छैनन् ।’– उनले भने ।