महारानीझोडा (झापा) । झापाको गौरादह नगरपालिका ५ स्थित स्कुलचौनमा रहेको महारानीझोडा सानाकिसान सहकारीको विउविजन केन्द्र १ नम्वर प्रदेशका किसानका लागि व्यवसायिक खेतीमा प्रोत्साहित गर्ने निकाय वन्दै गएको छ ।

सहकारीले ३ विगाहा १ कठ्ठा जग्गा खरिद गरेर कृषिका क्षेत्रमा केही गर्ने योजना वनायो र सरकार समक्ष प्रस्तावना पेश गर्यो । त्यसपछि सरकारको सिंचाई तथा जलश्रोत आयोजनाका रुपमा २ करोड बजेट प्रदान गर्यो । त्यसमा ४० लाख थपेर १४ कठ्ठा क्षेत्रफल रहेको ठाउँमा विउविजन केन्द्र भवन वन्यो । ०७२ माघ १४ गते थालिएको सो अभियानपछि ९५ लाख रुपैयाँको प्रसोधन मेसिन किनेर सुद्ध र उन्नत जातको विउविजन स्रोतकेन्द्रका रुपमा सहकारीले आफुलाई चिनाउन पाएको विउविजन केन्द्रका हेमराज विष्टले वताए । कृषि फर्म तरहराबाट मुल विउ ल्याएर आफुहरुले रोपी वार्षिक ४ सय २५ टन धान उत्पादन र विक्री वितरण हुने गरेको सुनाए । सहकारीले ८० विगाहा र ४० विगाहाको दुई कित्ता लिजमा लिएर त्यहाँका १ सय २ परिवार जग्गावालालाई समेत १ कठ्ठाको १ शेयरको शेयर सदस्य वनाइएको छ । ५ वर्षअघिबाट यो क्षेत्रमा १०÷१० विगाहाको ब्लक बनाएर धान लगाइएको छ । शेयर सदस्य किसानलाई त्यहाँ श्रम गरे वापत पारिश्रमिक पनि हुन्छ । ‘आफ्नो जग्गाबाट ६० प्रतिशत र अन्य किसानबाट किनेर प्रसोधन गरेको विउ यहाँबाट झापा, मोरङ, सुनसरी हुँदै सप्तरी लगायतका जिल्लामा विक्री वितरण हुन्छ ।’– उनले भने । किसानबाट लिने विउका लागि धान रोपेदेखि पटक पटक ५ पटकसम्म निगरानी गर्दै बिउ उत्पादनको तालिम दिइने गरेको छ ।

सहकारीको विउ विजन केन्द्र एउटा महत्वपूर्ण चिनारी वनेपछि थपमा कृषि क्षेत्रको प्रवद्र्धनका अन्य गतिविधि पनि प्रभावकारी रुपमा अघि बढाएको छ । माथिल्लो कित्ताको ६० विगाहा क्षेत्रमध्येमा गत वर्षदेखि ५० वटा गाइपालन सुरु भएको छ । ‘नमूना खेती’ नाम दिइएको सो क्षेत्रमा ३ वटा माछा पोखरी तयार भएका छन् । २ विगाहा क्षेत्रमा फलफुल खेतीको वागवानी तयारी छ ।

भूमिगत जलसिंचाई डिभिजन कार्यालयले स्थानीयको ७ प्रतिशत समेत गरी ८५ लाखमा डिप बोरिङको व्यवस्था गरिदियो । यो वर्षबाट प्रतिसेकेन्ड ४० लिटर पानी उत्पादन भई त्यहाँको ६० विगाहा क्षेत्रमा सिंचाईको सहज व्यवस्था हुन पुगेको नमूना खेतीका व्यवस्थापक अर्जुन खतिवडाले जनाए । १० जना कर्मचारी खटाइएको छ । त्यहाँ भाडाबाट ल्याइएको मेसिनबाटै धान रोप्ने गरिएको छ । त्यहाँ जडिवुटीको खेती पनि सुरु गरिएको छ । पशु नश्ल सुधार कार्यक्रम सञ्चालनमा छ । मल, दाना चोकर, विषादीको पसल र माटो परीक्षण पनि सहकारीले गराउने गरेको छ । दुध संकलन केन्द्र खोलेर दैनिक ७ सय लिटर दुध संकलन र विक्री हुँदै आएको छ ।

पशु विमा गरिएको र बालीको पनि बिमाको समेत योजना वन्दै गरेको सहकारीका व्यवस्थापक चिरञ्जिवी भण्डारीले जानकारी गराए । उनले ०५५ मा सरकारी निकायबाट सञ्चालन भएको साना किसान सहकारीलाई ०५९ मा दर्ता गराई ०६० बाट समुदायबाटै सञ्चालनमा ल्याइएपछि योजनावद्ध काम अगाडि बढेको प्रसंग उल्लेख गरे । १ लाख रुपैयाँबाट सहकारीले थालेको डेरी र कृषिजन्य सामग्रीको पसल २२ लाखको भएको छ । ‘त्यो पसलहुँदै अहिले कृषिको बृहत योजनासम्म आइपुग्दा १४ करोडको आन्तरिक स्रोत बनेको छ । २ करोड ६० लाख शेयर वचत तथा २६ करोड ८४ लाख लगानी भएको छ ।’– उनले संस्थाको प्रगति सुनाए । हाल खेतीलाई व्यवस्थित गर्र्दै अग्र्यानिक वनाउने अभियान सञ्चालनमा लागेको जनाए । भर्खर सिंचाईको प्रवन्ध भएकाले खेतीबाट उल्लेखनीय आम्दामी भइनहालेको प्रष्ट्याए । गत वर्ष २ लाख रुपैयाँ मुनाफा भएको सुनाए ।

नगरमा कृषि प्रवद्र्धनको जानकारीका लागि त्यहाँको विउविजन केन्द्रको अवलोकनमा मोरङको पथरीशनिश्चरे नगरपालिकाको टोली पुगेको थियो । विउविजन केन्द्र सहितको एकीकृत कृषि प्रणालीको सिको अरुतिपनि गर्नु आवश्यक रहेको नगर प्रमुख दिलीपकुमार राईले औंल्याए ।