ताप्लेजुङ/पूर्वको गोसाईकुण्डको नामले परिचित ताप्लेजुङ र पाँचथरको बिचमा रहेको तिम्बुङ पोखरी प्रचार प्रसारको अभावमा छाँयामा परेको छ । असार देखि असोज महिना सम्म सो ठाउँ घुम्नको लागि राम्रो समय भएपनि प्रचार प्रसारकै अभावमा त्यहाँ घुम्न जाने पर्यटक तथा तिर्थयात्रीको संख्या नगन्य रहेको छ ।

धार्मिक, जैविक र प्राकृतिक सौन्दर्यमा रमाउन चाहने जोकोहीको मन यसको सुन्दरताले छुन्छ । समुन्द्र सतह देखि चार हजार चार सय मिटर उचाइमा रहेको यो पाखरीको दर्शन गर्न भने कुहिरो र घामको लुकामारी छिचोल्नै पर्ने हुन्छ ।

तिम्बुपोखरीको नामाकरण स्थानिय लिम्बु भाषाका आधारमा गरिएको हो । पशुपालन गर्ने क्रममा गर्मी समयमा गोठलाई हिमालतिर लैजाने र चिसो बढ्ने बित्तिकै बेशी झार्ने चलन छ, सोही चलन अनुसार स्थानिय बासिन्दाले आफ्नो गोठलाई पोखरी छेउछाउ पुर्याउदा पोखरी छेउबाट ड्वाङ ड्वाङ आवाज निस्के पछि उनिहरुले आफ्नो भाषा अनुसार पोखरीको नाम नै तिम्बुङपोखरी राखेको स्थानियको भनाई छ । लिम्बु भाषामा तिम्बुकुको अर्थ बन्दुकु र बुङको अर्थ पड्कनुु हुन्छ ।

अर्को तर्फ धेरै वर्ष पहिला एक माहात्मा तिर्थ यात्राको क्रममा आफ्ना सहयोगी सहित तिम्बुपोखरी छेउ छाउ आइपुगेको, हिमालको बाटो हिडेका कारण महात्मालाई प्यास लाग्दा कतै पनि पानी नभेटेको र अन्तमा आफुसँग भएको त्रिशुलले पहाडलाई खोपी पानी निकालेर प्यास मेटेको त्यही पानी निकालेको ठाँउमानै पोखरी बनेको समेत किम्बदन्ती छ ।

करिब ४ सय मिटर लम्बाइ र २ सय मिटर चौडाए भएको पोखरीको हाल सम्म गहिराई नाप्न नसकिएको स्थानियको भनाई छ । तिम्बुङ पोखरी वरपर अन्य थुप्रै पोखरीहरु रहेका छन् । शिव पोखरी, सुर्य कुण्ड, हाँस पोखरी, मयुर पोखरी , नीलपोखरी लगायत १८ वटा पोखरीहरु रहेका छन् । अर्को चाखलाग्ने बिषयत केहो भने कुम्भकर्ण हिमालको वरिपरि १ सय ७८ वटा कुण्डहरु माला जस्तै रहेका छन् , त्यसैले तिम्बुङ पोखरी क्षेत्रलाई पुर्वको गोसाँइ कुण्डको समेत उपनाम दिएको छ ।

सच्चा मनले पोखरी गएर दर्शन गर्ने पुजा आरधना गरे पोखरीले मनोकाङ्क्षा पुरा गरिदिने तर लोभ लालच र पाप सोचेर पोखरी गए पोखरीले अनिष्ट गर्ने स्थानियको जनविश्वास छ ।

दुई दिन पैदल हिँडेरै जानुपर्ने यस स्थानमा साउनदेखि असोज पहिलो सातासम्म पुग्न सकिन्छ । असोजदेखि यहाँ हिमपात सुरु हुन्छ । ठूल्ठूला नागी, खोला र झर्ना तथा बाक्लै पोखरीले सजिएको तिम्बुङ क्षेत्रमा माइकोपिला, कुटी, विखुमा, पाँचऔंले, खोकिमजस्ता अनेकन फुल र जडिबुटीे रहेका छन् । । तर पर्याप्त भने छैन । धेरै पर्यटक पु्र्याउन सकिने क्षेत्रमा स्थानीयबासीसँग मिलेर सरकारी स्तरबाट पूर्वाधार विकासमा गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको आगमन बढ्ने कुरामा दुई मत छैन ।

तिम्बुङ पोखरी जाने मौसम शुरु पूर्वको प्रशिद्ध पर्यटकीयस्थल तिम्बुङ पोखरी जाने मौसम शुरु भएको छ । पाँचथरको याङवरक गाउँपालिका र ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको संगममा रहेको तिम्बुङ यात्राको सिजन असारको शुरुदेखि आरम्भ भएर साउन महिनाभरि चल्छ ।

भदौ लागेपछि भने जाडो बढ्न थाल्छ । चौँरी गोठाला चौँरी लिएर बेँशीतिर झर्छन् । त्यसैले साउनपछि तिम्बुङ यात्रा सम्भव छैन । मनसुनी मौसममा पर्यटक र तीर्थयात्रीको भीड लाग्ने तिम्बुङ दृष्यावलोकन र तीर्थयात्राको लागि अब्बल गन्तव्य मानिन्छ । तिम्बुङ क्षेत्रमा यो सिजनभरि धार्मिक एवं जैविक–प्राकृतिक सौन्दर्यसँग रमाउने पर्यटकको लर्को लाग्छ ।