चतरा । ०७१ साल असार ५ गते सुनसरीको चतरादेखि मोरङको बाहुनीसम्म नहरका डिलमा बस्दै आएका हजारौँ परिवारले आफ्ना घरटहरा गुमाउनु पर्यो । सुनसरी मोरङ सिचाइ योजना (सुमोसियो) ले बिना विकल्प स्थानीयका घर भत्काइदियो । सुमोसियोले आफ्नो क्षेत्रमा बसेको भन्दै उठिबास लगाएपछि उनीहरूको कन्तविजोग भयो । यो पीडा अहिले पनि उस्तै छ । यो बर्खा पनि सिचाइबाट विस्थापित भएकाहरूका लागि कष्टकर छ । बस्ने थलो छैन । पीडित परिवारलाई स्थानीय सरकारले त हेरेन–हेरेन । यसमा राज्यको चासो पनि देखिँदैन । सुमोसियोद्वारा आन्तरिक विस्थापनमा परेका वराहक्षेत्रको चतरामा मात्रै २ सय ४८ घरधुरि छन् । यत्तिका सङ्ख्यामा घरटहरा भत्काइदिए पछि घरबारविहीन बनेका सिचाइ विस्थापितहरू कोही छिमेकीको शरण परे त कोही घरबहालमा बसे । कोही दशकौँदेखि बस्दै आएको ठाउँ छाडेर बसाइँ लागे । कसैको गन्तव्य भएन । कतै जाने उपाय नभएपछि भत्काइएका टहरामा त्रिपाल ओढेर बस्दै आए । पीडित ३०÷४० घरपरिवारको उपाय नभएपछि सोही ठाउँलाई नै आश्रय बनाई झरीमा ओत लागिरहेका छन् । अन्य पीडितको भने खोजखबर छैन ।

आफ्नै देशमा आन्तरिक विस्थापित हुनुपरेको छ । यतिका वर्ष बितिसक्दा पनि पुनःस्थापन गर्न सरोकारवाला निकायले सकेको छैन, पीडित उर्मिला राईले भनिन्, ‘अझै पनि खुल्ला आकासमुनि बस्न बाध्य छौँ ।’ उनी भन्छिन्, ‘जसोतसो आजसम्म विजोग भएर दिनहरू कटाउँदै आइयो, अबको दिनमा जीवन व्यतित गर्न गाह्रो छ, राज्यले हामीलाई न्याय दिलाउनु पर्छ ।’ सुमोसियोले आफ्नो क्षेत्र भन्दै घरटहरा भत्काउने क्रममा करोडौंको क्षति भयो । विस्थापित महिला, बालबालिकाको विजोग उस्तै छ । ‘छातीको दर्दनाक घाउ अझै मेटिएको छैन, पीडा उस्तै नै छ, ‘पीडित सुरेन्द्र मल्लिक दुखेसो पोख्छन्, ‘के गर्यो–गर्यो हुरिबतास सरी एक्कासी आयो घर भत्काइदियो ।’ घरमा परिवारसँग ३ महिना पनि बस्न पाएनन् सुरेन्द्र । नयाँ घर बनाएको तीन महिनामै सिचाइले उठिबास लाइदियो । ‘म अझै अलमलमा छु कमसेकम हामीलाई यति समय बितिसक्दा राज्यले व्यवस्थित गराउनु पर्ने हो’ सुरेन्द्र भन्छन् । वडा नं १ कै चम्पा मगरको दुःख भने अरू भन्दा फरक छ । वैदेशिक रोजगारीमा गएका श्रीमान्लाई उतै गुमाएपछि क्षतिपूर्ति वापत् आएको रकम घर निर्माणमा लगाएकी थिइन् । १५ लाख लगानीमा बनेको उनको घर पनि सिचाइले भत्काइदियो । परिवारसँग नयाँ घरमा १ वर्ष पनि बस्न पाइनन् चम्पा । वडा नं १ की रजियादेवी शाह औलिया मठ अगाडि विगत ३ दशकदेखि फलफूल व्यवसाय गर्दै आएकी छन् । अलिअलि जगेडा गरेको पैसा र झुम्कामा रहेको नम्बरी जग्गा बिक्री गरी आएको एकमुष्ट रुपैयाँले एकतले पक्की घर बनाइन् । तर, उनको पनि चम्पाको जस्तै एकबर्ष नबित्दै पक्की घर धुलो माटो र बालुवामा परिणत भयो । ५ दशकभन्दा अघिदेखि चतरा नहरको आसपासमा बस्दै आएका परिवारको घरटहरा जबरजस्ती भत्काइए । उनीहरूलाई पुनःस्थापना गराउनका लागि केही सङ्घ–संगठन, संस्था, सङ्घर्ष समिति पनि लागिपरे । तर, न्यायको छेऊटुप्पो भेटिएन । थकित उनीहरू पनि कुन दुलामा पसे । तत्कालीन राजनीतिक दलका अगुवा भने आफूहरूसँग अधिकार नै नभएको भन्दै पन्छिएको पीडितको गुनासो छ । भोटसँग चोट साट्न सकेनन् विस्थापितले । समस्याको समाधानका लागि पहल गर्ने गराउने निकायले न्याय दिलाउन सकेनन् । लाचार बने । तर, पीडितको पीडा उस्तै छ । जीवनशैली कष्टकर छ । यता सुमोसियोले नहरका डिलमा नबस्न भन्छ । ‘बस्ने बसिरहन्छन्, दुःख भोग्ने भोगिरहन्छन्’, स्थानीय भन्छन्,‘सानालाई ऐन, ठूलालाई चैन, बसेर बोलौँ सुनिँदैन, उठेर बोलौँ हावाले उडाएर लान्छ ।’