शनिश्चरे । अझै पनि जनस्वास्थ्यको समस्याका रुपमा देखापरिरहेको कुष्ठरोगको निवारणका लागि मोरङका ५ वटा नगरपालिकामा अभियान सञ्चालन भएको छ । यही अभियान सञ्चालन भएकामध्ये विराटनगर पछिको बढी कुष्ठरोगी फेला परेको पथरीशनिश्चरे नगरमा कुष्ठरोगको अवस्थाका बारेमा नेदरल्याण्ड सहितका ५ देशका अधिकारीहरुले अध्ययन अवलोकन गरेका छन् । जिल्लाका विराटनगर महानगरपालिकाका साथै पथरीशनिश्चरे, सुन्दरहरैंचा, बेलबारी, उर्लाबारी र रतुवामाई नगरपालिका क्षेत्रमा सरकारले यो वर्ष घर घरमा गएर कुष्ठरोगीको खोजी गर्ने र निशुल्क उपचार गराउने कुष्ठरोग निवारण अभियान सञ्चालन गरेको छ । रतुवामाईमा बाहेक अन्यमा यो वर्षको अभियान सम्पन्न भएको छ । यो रोगको जिवाणुले शरीरका अंगहरु कुरुप बनाउने गर्दछ । मोरङमा हाल विराटनगरमा सबैभन्दा बढी ३२ जना कुष्ठरोगी फेला परेको जनाउँदै जिल्लाका १७ वटा स्थानीय तहमा १ सय ३५ जना कुष्ठरोगी फेला परेको र ९० जना नयाँ थपले समेत औषधि खाइरहेको जिल्ला क्षयकुष्ठ अधिकृत रामनरेश ठाकूरले जनाए । पहिले पहिले कुष्ठरोग हुनु भनेको पाप कर्मको फल हो भन्ने मान्यता बललिएको भएपनि अशिक्षा भएका ग्रामिण क्षेत्रमा भनें यो समस्या रहीरहेको ठाकूरले अवगत गराए । यस खाले समस्या समाधान समेत गर्ने र औषधि खान उत्प्रेरित गर्नेगरी कुष्ठरोग निवारण अभियानमा सघाएको नेदरल्याण्ड लेप्रोसी रिलिफ (एनएलआर) ले सञ्चालन गरेको कार्यक्रमको प्रभावकारिता अध्ययन अवलोकनका क्रममा लेदरल्याण्ड, ब्राजिल, इन्डोनेशिया, मोजाम्बिक र भारतका अधिकारीहरु पथरीशनिश्चरेमा सहभागि भएका हुन् । नेपालस्थित कुष्ठरोग नियन्त्रण महाशाखा निर्देशक मोहमद दाउदको अगुवाईमा आएको टोलीले नगरमा पछिल्लो पटक फेला परेका ९ जना कुष्ठरोगीका बारेमा जानकारी लिँदै वडा नम्बर १ की एकजना ६० वर्षीय महिला कुष्ठरोगीलाई भेटेको छ । जटिल प्रकारको कुष्ठरोगको लक्षण देखिना साथ गत वैशाख ३० गतेबाट औषधि खान सुरु गरेकी ती महिलाको बारेमा जानकारी लिने काम भएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । पथरीशनिश्चरे नगरपालिकाले सञ्चालन गरेको कुष्ठरोग निवारण अभियान अन्तर्गत कुष्ठरोगी, उसको परिवार तथा आसपासका छिमेकीलाई रोग लाग्न नदिने अभियान (एलपेप) अन्तर्गत औषधि खुवाउने काम सम्पन्न भएको टोलीलाई जानकारी गराइएको छ । नगरमा यसअघि १५ जनाको संख्यामा पुराना विरामी फेला परेर नियमित औषधि खाएका थिए । हाल ९ जना नयाँ बिरामी फेला परेपछि उनीहरुका साथै परिवार, चारैतर्फका छिमेकीलाई समेत औषधि खुवाउने कार्यक्रम सम्पन्न भएको छ । जसमा १ सय ५० जनालाई औषधि खुवाइएको छ । नगर प्रमुख दिलीपकुमार राईले टोलीलाई त्यसबारेमा जानकारी गराएका छन् । कुष्ठरोग निवारणका लागि नगर प्रमुखको चासोमा नगरपालिकाको सक्रियता रहेकोप्रति टोलीले खुसी व्यक्त गरेको छ । ८० वर्षमाथिकाहरुका लागि मासिक घर–घरमै चेक जाँच, ७० वर्षमाथिकालाई १ नम्बर प्रदेशभरी उपचारमा एकतर्फी एम्वुलेन्स भाडा, अवकास प्राप्त महिला स्वास्थ्य स्वयमसेविकालाई जनही ५० हजार प्रदान, ५ प्रकारका जटिल रोगीका लागि जीवनमा एकपटक १५ हजार सहयोग गर्ने सहितका नगरका स्वास्थ्यका कार्यक्रम जानकारी गराइएको थियो । स्वास्थ्य क्षेत्रमा सञ्चालन गरेका यसप्रकारका कार्यक्रमहरु नमूना भएको बिदेशबाट आएका संस्थाका अधिकारीहरुले व्यक्त गरेको एनएलआर नेपालका निमित्त कार्यकारी निर्देशक नन्दुलाल बास्तोलाले जनाए । संघीयता कार्यन्वय इकाई प्रमुख समेत रहनु भएका कुष्ठरोग नियन्त्रण महाशाखाका निर्देशक मोहमद दाउदले पथरी स्वास्थ्य चौकीलाई ५० शैयाको अस्पताल बनाउन भएको मागमाथि आफुले सहयोग पुर्याउने बताए । नगरपालिकाले सो टोलीलाई वडा नम्बर २ मा बनेको स्वास्थ्य चौकीको नयाँ भवन र त्यही बन्ने योजना अघि बढाइंदै गरेको ५० शैयाको अस्पतालको बारेमा अवलोकन गराएको थियो । टोलीले झापाको कमल गाउँपालिकास्थित लखनपुरका २ ठाउँमा पनि कुष्ठरोग निवारणको प्रभावकारिता अध्ययन अवलोकन गरेको छ ।