इटहरी । प्रदेश नं. १ का १४ जिल्ला र प्रदेश नं. २ का दुईवटा जिल्लामा सडक दुर्घटनामा चालु आर्थिक वर्षको ११ महिनामा ५ सय ५० जनाले ज्यान गुमाएका छन् ।

ट्राफिक प्रहरीले दुर्घटना रोक्न विभिन्न अभियान सञ्चालन गरिरहे पनि सडकमा दुर्घटना भने घट्नुको साटो बढ्दो छ । अघिकांश दुर्घटना चालककै लापरबाहीले हुने गरेको ट्राफिक प्रहरीको निश्कर्ष छ ।

चालु आर्थिक वर्षको शुरुवात साउनदेखि जेठ मसान्तसम्ममा दुर्घटनामा परी ज्यान गुमाउनेको तुलनामा पाँच गुणा बढी घाइते भएका छन् । ११ महिनाको अवधिमा एक हजार सातसय ६० वटा दुर्घटना भएकोमा मुख्य कारणमा चालकको लापरबाही नै रहेको प्रहरीको ठम्याइ छ । तर चालकहरु विरलै कारबाहीमा पर्ने गरेका छन् ।

सवारी चालकको लापरबाहीसँगै यात्रुमा बाटो काट्ने ज्ञान नभएर जथाभावी ढङ्गले बाटो काट्दा, एक–अर्को सवारी साधनबीच ओभरटेक गर्ने होडबाजी, मापसे, यान्त्रिक गड्बढी, ओभरलोड, सडकको अवस्था र सडकमा छाडा चौपाया छाड्नाले पनि दुर्घटना हुने गरेको पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीको एसपी राजकुमार लम्सालले भने । लम्साल भन्छन्, दुर्घटना न्यूनीकरण गर्न लागेका छौं, अहिले चालकको लापरबाही रोक्न राडार गन प्रयोग गर्दैछौं ।’

ट्राफिक प्रहरीले कार, जीप, भ्यान र पिकअपको बढीमा ८० किलोमिटर प्रतिघण्टा गति हुनुपर्ने तोकेको छ । यस्तै टेम्पो, स्कुटर, पावरटिलर तथा ट्रयाक्टरको बढीमा ४० किलोमिटर प्रतिघण्टा गति हुनुपर्ने उल्लेख छ । मोटरसाइकलको बढीमा ५० किलोमिटर प्रतिघण्टा गति हुनुपर्ने जनायो । अचेल युवायुवतीले तीव्र गतिमा मोटरसाइकल कुदाउने गरेकाले अन्य सवारी साधनभन्दा बढी दुर्घटना हुने गरेको पाइएको छ । कतिपय युवायुवतीले भने नियमनकारी निकायको आँखा छल्दै एउटा मोटरसाइकलमा तीनजनासम्म चढ्ने गरेको कारणले पनि दुर्घटना हुने गरेको एसपी लम्सालको भनाइ छ ।

यसैगरी बस, मिनीबस, मिनी ट्रक, पहाडी बाटोमा बढीमा ५० किलोमिटर र समतल बाटोमा बढीमा ७० किलोमिटर गति हुनुपर्ने उल्लेख छ । बाक्लो बस्ती भएको इलाकामा सबै प्रकारका सवारी साधनले प्रतिघण्टा ४० किलोमिटरभन्दा बढी गतिमा चलाउन नहुने उल्लेख छ । पूर्वमा जहाँ मानिसको चहल–पहल बढी हुन्छ, अनि सडक खुला छ, ती स्थानमा बढी मात्रामा दुर्घटना हुने गरेको छ । दुर्घटना बढी हुने स्थानलाई ‘ब्लाक स्पट’ को सूचीमा राखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

दुर्घटना कम गर्न स्थानीय तह र सरोकारवालासँग समन्वय गरी सडक अतिक्रमण हटाउने, पार्किङ व्यवस्थित गर्ने, फुटपाथ हटाउने, ट्राफिक सङ्केत राख्ने, छाडा चौपाया नियन्त्रण गर्ने, बस बिसौनी व्यवस्थित गर्ने, पैदल यात्रीलाई बाटो काट्ने जेब्राक्रस निर्माण गरिने भएको छ । सार्वजनिक सवारी चालकलाई लामो समयपछि हुने थकानले गर्दा दुर्घटना हुन नदिन पुनर्ताजगी पनि गराइने भएको छ ।

सवारी साधनलाई रोकी चालकलाई उतारेर मुख धुन लगाउने, पानी पिउन लगाउने, शरीरलाई यताउति चलाउन लगाउने र दुईजना चालक भए नभएको चेकजाँच गर्न थालिने भएको छ । जसका लागि धनकुटाको साँगुरीगढी वडा नं. ६ भेडेटार, इलामको रोङ वडा नं. ४ किटेनी र ओखलढुङ्गाको मानेभञ्ज्याङ वडा नं. ७ हर्कपुरमा रि–फ्रेस सेन्टर सञ्चालन गरिएको जनाएको छ ।

सुनसरीको कोशी गाउँपालिका वडा नं. ७ कोशी कटानक्षेत्रमा प्रदेश नं. १ कै सुविधा सम्पन्न नमूना रि–फ्रेसमेन्ट सेन्टर पनि स्थापना गर्ने काम भइरहेको छ । यस्तै सडक सुशासन कायम गर्न विभिन्न स्थानमा चेक प्वाइन्ट सञ्चालन गरिनेछ । यात्रुलाई सुरक्षित यात्राको प्रत्याभूति गराउन इलामको रोङ वडा नं. ४ को जोरकलश किटेनी, झापाको दमक वडा नं. ४ ताराबारी, धनकुटा वडा नं. ९ को मूलघाट, सुनसरीको कोशी गाउँपालिका, इनरुवा र दुहबीमा चेक प्वाइन्ट सञ्चालन गरिने क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनायो ।