आजभोलि भने ‘पावरलुम’ बाट पनि ढाका तयार पार्ने गरिएको छ । हातले बुनेको ढाका महँगो र ‘पावरलुम’ बाट बुनेको ढाका सस्तो हुने गर्दछ । धरान। ढाकाको कपडा नेपाली पहिचान, संस्कृति र गौरवसँग जोडिँदै आएको छ । अहिले आएर ढाकाको पहिरनले विभिन्न साँस्कृतिक, मनोरञ्जनात्मक कार्यक्रमदेखि ठूल्ठूला समारोहमा समेत रोनक बढाउन थालेको छ । ढाकाको कपडालाई विभिन्न आधुनिक तरिकाले डिजाइन गरी समयको मागअनुसारको पहिरन बनाउन थालिएपछि बालबालिका र युवामा पनि लोकप्रिय बन्दै गएको छ । विशेष गरी युवामा ढाकाको मोह बढ्दो देखिन्छ । चाडपर्व, विवाह, पास्नी, साँस्कृतिक, धार्मिक कार्यक्रमदेखि सौन्दर्य प्रतियोगितासम्ममा ढाकाले स्थान पाउन थालेको छ । अहिलेका युवा कुनै समारोहमा उपस्थित हुनुपरे ढाकाको सारी, गाउन, कुर्ता, वान पिस, कोट, टाइ, ब्याग वा सल मध्ये केही न केहीमा ढाकाको प्रयोग गरेकै हुन्छन् । अहिलेका युवा जहिले पनि अरूभन्दा फरक देखिन चाहन्छन् । त्यसमा ढाकाले पनि साथ दिइरहेको छ । अहिले ढाकाको शिरमा लगाउने शिरफूलदेखि पाउमा लगाउने जुत्तासम्म बन्न थालेको छ । यसले गर्दा पनि ढाकाप्रति युवाहरू लालायित छण्न् । ढाका बुन्ने काममा युवा ढाकाको कपडा लगाउन मात्र होइन, युवाहरू ढाकाको कपडा बुन्नमा पनि मोहित छन् । धरानमा थुप्रै ढाका पसलहरू छन्, त्यसमा पनि आफैं बुनेर बेच्ने पसल सिमित छन् । ती सिमित ढाका पसलमध्ये छथर घरेलु ढाका कपडा उद्योग पनि एक हो । छथर ढाका कपडा उद्योगमा युवा महिलाहरू आफैंले ढाका बुन्ने गरेका छन् । पसलकी सञ्चालक बन्दना लिम्बूले ढाका बुन्ने तालिम लिएर विगत ४ वर्षदेखि धरानस्थित शान्तिपथमा घरेलु ढाका उद्योगको सुरूआत गरिन् । उनी आफैं पनि ढाका बुन्छिन् । छथर घरेलु ढाका कपडा उद्योगमा सबै उमेर समूहका व्यक्तिहरुले कपडा मगाउने गरेता पनि धेरै युवाहरू भने ढाकाप्रतिको मोहकै कारणले आउने गरेको लिम्बू बताउँछिन् । छथर ढाका कपडा उद्योगमा लिम्बू समुदायबाहेक पनि थुप्रै युवाले ढाकाको कपडा बुन्छन् । धरान–१५ मा बस्दै आएकी नरमाया जिमी कक्षा १२ को परीक्षा दिएर बसेकी छन् । उनले ढाका बुन्न थालेको २ वर्ष भयो । उनी भन्छिन्, ‘सुरुमा सिक्दा हात नबसेको कारणले बिग्रने गर्छ तर बानी भएपछि ढाका बुन्न गाह्रो छैन ।’ स्वदेशी सीप आफ्नै हातमा हुँदा आम्दानी पनि हुने र गर्व पनि हुने नरमाया बताउँछिन् । सेलिब्रेटी र मोडलको रोजाइमा ढाका बेष्ट मिस पूर्वाञ्चल रूबी हुक्पाचोङ्वाङ लिम्बूले हरेक दिन प्रयोग नगरे पनि विशेष समारोह र अन्य विविध कार्यक्रममा ढाकाको पहिरन नै प्रयोग गर्ने गरेकी छन् । ‘ढाकाको कपडा स्वदेशी उत्पादन भएको र आफ्नो पन देखिने भएकाले ढाकाको प्रयोग गर्ने गरेकी छु ।’ रूबी भन्छिन् । यसैगरी मोडलिङ क्षेत्रमा कार्यरत धरानका विशाल बराइली पनि नेपालको महान चाडसँगै विशेष समारोहमा ढाकाको पहिरन नै लगाउन रूचाउँछन् । ‘ढाकाको पहिरन त मेरो बेस्ट हो नि, ढाकाको पहिरन स्वदेशमा मात्रै नभएर अन्तराष्ट्रिय क्षेत्रमा पनि चर्चा कमाउन सफल भएकाले आफ्नो पहिचान र आफ्नो उत्पादन ढाकाको पहिरन विशेष दिन लगाउने गर्छु ।’ विशाल भन्छन् । मौलिक नेपाली उत्पादन भएकाले यसको जगेर्ना गर्नु नेपालीको कर्तव्य भएको विशालको मत छ । नेपाली बजारमा दुई प्रकारको ढाकाको प्रचलन छ । ढाकाको कपडामा हुने बुट्टा भने चार किसिमको हुन्छ । ती चार बुट्टालाई फरकफरक तरिकाले बुनेर नयाँ बुट्टा निकालिन्छ । ढाकालाई हातले तानमा बुन्ने गरिन्छ । आजभोलि भने ‘पावरलुम’ बाट पनि तयार पार्ने गरिएको छ । हातले बुनेको ढाका महँगो र ‘पावरलुम’बाट बुनेको ढाका सस्तो हुने गर्दछ ।