वराहक्षेत्र (ब्लष्ट) वराहक्षेत्र नगरपालिकाको दोस्रो नगरसभामा बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख निलम खनालले वराहक्षेत्रलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् । सरकारबाट प्राप्त हुने विभिन्न अनुदाको अधिकतम परिचालन गर्दै नगरभित्र स्रोतसाधन, राजस्वको पहिचान र परिचानल गरी नगरको आर्थिक समृद्धि हासिल गरिने उद्घोष गरे । नगर प्रमुख खनालले सार्वजनिक, निजी सरकारी क्षेत्रहरुलाई प्रेरित गर्दै भौतिक तथा सामाजिक पूर्वाधार तयार गर्दै समुन्नत, स्वाधिन, समाजवाद उन्मुख अर्थतन्त्रको निर्माणमा नगर अघि बढ्ने बताए । प्रमुख खनालले दीगो सन्तुलित र रोजगार प्रवद्र्धन गर्ने किसिमका सीप विकास आयोजना कार्यान्वयन गरिने बताए । नगरप्रमुख खनालले वराहक्षेत्र नगरपालिकाको बजेटका प्राथमिकता प्रस्तुत गर्दै नगरको आर्थिक वृद्धिदर हासिल गर्न कृषि, पर्यटन, जलस्रोत, उद्योगलगायतका क्षेत्रमा पुँजी विकास र परिचालन गर्ने बताए । उनले प्राकृतिक प्रकोपको न्यूनीकरण र पर्यावरणीय संरक्षणमा जोड दिइएको बताए ।
६४ करोड बढीको वार्षिक योजना वराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७५/७६ का लागि ६४ करोड ३१ लाख २८ हजार ८ सय ७ रुपैयाँको वार्षिक योजना सार्वजनिक गरेको छ । ३ करोड ७७ लाख १५ हजार अनुमानित आन्तरिक आय भएको नगरले सशर्त अनुदान वाषत २६ रोड २३ लाख प्राप्त गरेको छ भने समानीकरण अनुदान १९ करोड २१ लाख प्राप्त गरेको छ । राजश्व बाँडफाँडअन्तर्गत संघीय सरकारबाट १२ करोड ७७ लाख १६ हजार विनियोजित भएको छ भने प्रदेशबाट ४६ लाख ४६ हजार छ । नगरले गैरसरकारी संस्थासँगको सहकार्यमा ८२ लाख १ हजार ८ सय ७ रुपैयाँको बजेटमा वार्षिक योजना तयार गरेको छ । नगरले आगामी आवका लागि १५ करोड ३३ लाख १६ हजारको पुँजीगत तर्फको एकीकृत बजेट प्रस्तुत गरेको छ । वडा कार्यालयतर्फ ७ करोड ९२ लाखको पुँजीगत कार्यक्रमको एकीकृत बजेट प्रस्तुत गरेको छ ।
नगरवासीका आकांक्षा पूरा गर्न चुनौती नगरद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रममा नगरवासीका असीमित चाहना र आकांक्षालाई सन्तुलित रूपमा सम्बोधन गर्न नसकेको नगर प्रमुख निलम खनालले बताए । उनले कोशी बाढी पीडितको क्षतिपूर्ति दिलाउन र तिनको बसोबास व्यवस्थित गर्न नसकिएको उल्लेख गरे । स्थानीय तहको सहभागितात्मक योजना तर्जुमा प्रक्रियाको विषयमा तल्लो तहसम्म प्रभावकारी तवले जानकारी पु¥याउन नसकिएको, विकास गतिविधिमा संलग्न निकायबीच प्रभावकारी समन्वय हुन नसकेको, आन्तरिक स्रोत वृद्धि हुन नसकेको साथै कर दस्तुर र शुल्क न्युन राख्नु परेकोलगायतका चुनौती नगरसामु रहेको प्रमुख खनालले बताए । उनले स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, नियम र नीतिको अभाव भएकाले पनि नगरको काम कारबाही अघि बढाउन चुनौती रहेको उल्लेख गरे ।
धार्मिक पर्यटनमा जोड वराहक्षेत्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्य वराहक्षेत्रले पर्यटन विकासका लागि धार्मिक क्षेत्रको उन्नय र जल पर्यटनलाई प्राथमिकता दिँदै नीति तथा कार्यक्रम पारित गरेको छ । आइतबार दोस्रो नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख निलम खनालले स्थानीय वराहक्षेत्र मन्दिर, प्राचीनहरिद्वार चतराधाम, औलिया बाबा, सूर्यकुण्ड, अमाहा पोखरी, टेकाने पोखरीलगायतका धार्मिक क्षेत्रको विकासका लागि भौतिक संरचना निर्माण तथा प्रवद्र्धन गरिने बताए । वराहक्षेत्र नगरपालिका क्षेत्रमा रहेको सूर्यकुण्डमा भ्युटावर निर्माण गरी आन्तरिक पर्यटक र बाह्य पर्यटकमा वृद्धि गरी रोजगारी र राजश्वमा पुग्ने योगदानको आधारमा क्रमागत रूपमा लगानी अभिवृद्धि गरिँदै लगिने नगर प्रमुख खनालले बताए । पर्यटकीय गन्तव्यको रूपमा रहेको ऐतिहासिक वराहक्षेत्र मन्दिर र प्राचीन हरिद्वार चतराधामको उन्नयन र विकासमा जोड दिइने नगरको नीति छ । पर्यटकीय सम्भावनाको सूर्यकुण्ड, गिद्ध रेष्टुरेन्ट, अमाहा पोखरी, टेकाने पोखरी र वडा नं १० को पिकनिक स्पटलाई विकास गर्न लिङ्क रोड निर्माण र भ्यु टावर निर्माण लगायतका काम चालु वर्षमै सञ्चालन गर्न सम्भाव्यता अध्ययनको काम पूरा गर्ने नगर प्रमुख खनालले बताए । नगरको नीतिमा वराहक्षेत्र मन्दिर परिसरलाई सरसफाइयुक्त बनाई देश विदेशबाट आउने धार्मिक पर्यटकलाई उचित आवासको व्यवस्था मिलाउन सरकारी र निजी क्षेत्रको सहभागितामा कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ । यस्तै पर्यटनको थप विकासका लागि कोशी नदीमा जलविहारको प्रचुर सम्भावनालाई आत्मसात् गर्दै निजी क्षेत्रको सहभागितामा जल पर्यटनको विकासलाई प्रोत्साहन गरिने बताइएको छ । पर्यटन प्रवद्र्धनका लागि बन्जी जम्पिङ, प्याराग्लाइडिङ, ¥याफ्टिङ, क्यानोइङ र होमस्टेको सम्भावना भएको क्षेत्र पहिचानका लागि अध्ययन गराइने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । नगर प्रमुख खनालले कला, साहित्य तथा पत्रकारिताको माध्यमद्वारा पर्यटन क्षेत्रको प्रचार प्रसार तथा विकास गर्न साहित्य तथा पत्रकारिता क्षेत्रका सङ्घ–संस्थासँग समन्वय गरिने समेत बताए । वराहक्षेत्रको मधुवनमा निर्माण भइरहेको माझी सङ्ग्रहालय र वडा नं. ७ मा रहेको शिव पार्कका लागि बजेट विनियोजन गरेको समेत बताए । नगरमा रहेका विभिन्न जातजाति र भाषाभाषीहरूको पहिचान झल्किने कला, सँस्कृति, सीप र सामग्रीहरूको खोज संरक्षण एवम् प्रवद्र्धनमा जोड दिने नगरको नीति रहेको उल्लेख गर्दै नगर प्रमुख खनालले औलिया बाबा, वराहक्षेत्र मन्दिरको ५ सय मिटर वरपर मदिरा, माछामासु, बेचबिखन र सेवन गर्न निषेध गरिएको बताए । उनले वराहक्षेत्र मन्दिर परिसरमा आगामी आ.व.देखि सीसी क्यामेरा र निशुल्क वाईफाई सेवा जडान गरिनेसमेत बताए ।