रङ्गेली । सुनसरी–मोरङ सिचाइ आयोजनाको मूल नहर नबन्दा मोरङ र सुनसरीको रोपाइँ प्रभावित भएको छ ।
पर्याप्त वर्षा नहुँदा मोरङ र सुनसरीका अधिकांश कृषकले रोपाइँ गर्न नसकेका हुन् । मोरङको केराबारी गापा र बेलबारी नपाको सिमाना केरौंनमा लोहोन्द्र खोलाले सुनसरी मोरङ सिंचाइ आयोजनाको पुल तथा सफाइन बगाउँदा त्यहाँ पूर्वका शाखा नहरमा पानी छैन । मोरङको ग्रामथान गाउँपालिकाका अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् ।
नहरमा पानी नआउँदा र वैकल्पिक सिंचाइको व्यवस्था नहुँदा र पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँ गर्न पाएका छैनन । यस गाउँपालिकाका किसानको सिंचाइको मुख्य स्रोत सुनसरी मोरङ सिचाइ आयोजनाको नहर भएको गाउँपालिकाका कृषि शाखा प्रमुख उदयकुमार सिंहले बताए । ‘यहाँका किसानको पानीको मुख्य स्रोत नहर हो । तर नहरमा पानी आएको छैन,’ सिंहले भने, ‘सरकारको तर्फ बाट यहाँका किसानलाई वैकल्पिक सिंचाइका लागि कुनै व्यवस्था गरिएको छैन । न्यून आय भएका किसान आफैंले बोरिङ गर्न सक्दैनन् ।’
केही दिन अघि परेको पानीले सीम र धोबी खेत हुनेले रोपाइँ गरे पनि अन्यले भने रोपाइँ गर्न नपाएको सिंहले बताए । असार अन्तिम लागि सक्दा ग्रामथानमा ५ प्रतिशत मात्र रोपाइँ भएको छ । सिंचाइले असार २०–२२ गते सम्म नहरमा पानी छोड्ने भनिए पनि अहिलेसम्म नछाडिएको सिंहले बताए । खेतमा जम्ने गरी वर्षा नहुँदा र नहरमा पानी नआउँदा चर्को पैसा तिरेर २ सय मिटर टाढा खोलाबाट पानी तान्नुको विकल्प नभएको स्थानीय बताउँछन् । कृषक विनिता थापा नहरमा पानी नआउँदा एक गाभो पनि रोप्न नसकिएको गुनसो गर्छिन् ।
मोरङका धनपालथान, जहदा, कटहरी गाउँपालिको अवस्था पनि उस्तै रहेको छ । सुनसरी मोरङ सिचाइ योजनाले लोहोन्द्रा खोलाकै पानी इनटेक (बाँध) गरेर नहरबाट सिंचाइको व्यवस्था गर्ने भने पनि अहिलेसम्म हुन सकेको छैन । नहरको पानीले १३ हजार हेक्टर जमिनको सिंचाइ हुनेमा नहर नबन्दा जमिनमा खेति गर्ने किसानहरू प्रभावित भएका छन् ।
मोरङमा ७८ हजार हेक्टर खेती योग्य जमिन रहेको छ । सुनसरी मोरङ सिचाइ आयोजनाको नहर पूर्णरुपमा सञ्चालन हुँदा जिल्लाको ३१ हजार ६ सय १० हेक्टरमा वर्ष भरी सिंचाइ सुविधा हुने गरेको छ । ३७ हजार ७ सय ७८ हेक्टरमा मौसमी सिंचाइ हुने जिल्ला कृषि कार्यालयको आँकडा छ । त्यस्तै ८ हजार ६ सय ६२ हेक्टरमा किसानले आकाशे पानीको भरमा खेती गर्ने गरेको कार्यालयले जनाएको छ