बेलबारी । जिल्ला वन कार्यालय मोरङका अधिकृत डा.विनोद देवकोटाले साझेदारी वन तथा वैज्ञानिक वन व्यवस्थापनप्रति राजनीतिक दलका प्रतिनिधि अझै पनि सकारात्मक हुन नसकेको बताएका छन् । मङ्गलबार मोरङको बेलबारीमा बेलबारी चिसाङ साझेदारी वन समुहले आयोजना गरेको एक अन्तरक्रियामा सांसदहरुले यसको विरोध गरेको अधिकृत देवकोटाले बताए । दीगो वन व्यवस्थापन र वैज्ञानिक वनको फरक बारे दर्शाउँदै देवकोटाले वैज्ञानिक वन व्यवस्थापन भनेको साधन भएको बताएका छन् । उनले ेसाध्यको रुपमा दीगो वन व्यवस्थापन नै रहेको बताए । सामुदायिक वन महासङ्घले दीगो वन व्यवस्थापनको वकालत गर्दै आएको छ । सामुदायिक वन महासङ्घ पक्षधर प्रतिनिधिहरु वैज्ञानिक वनको विपक्षमा रहेको उनले बताए । वैज्ञानिक हिसाबले प्रमाणित भइसकेको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमको अहिले नेपालमा लागू भइसकेको छ । यो कार्यक्रमबाट विश्वका अनेकौं देशहरु लाभान्वित भइसकेका छन् । तसर्थ यसमा खास राजनीति गर्ने मान्छेहरुले यो कार्यक्रमलाई स्वीकार नगरेको बताए । यद्यपि सरकारले संसदबाट पारित गरी यो कार्यक्रम लागू भइरहेको अवस्थामा यसलाई साथ सहयोग दिनु पर्ने उनको भनाइ छ । मोरङको चारवटा साझेदारी वनमा वैज्ञानिक वन व्यवस्थापन लागु भइरहेको छ । वैज्ञानिक वन व्यवस्थापन भएका सामुदायिक वनहरुमा समेत पुनरुत्पादन कार्य शुरु भइसकेको बताएका छन् । अन्तरक्रिया कार्यक्रममा पत्रकार, नागरिक समाज र राजनीतिक दलका नेता उपस्थित हुने भनिए पनि पत्रकारबाहेक अन्यपक्षहरुको उपस्थिति रहेको थिएन । वैज्ञानिक वनको विषयमा वन कर्मचारी र प्रदेश सांसद बीच बुझाइमा किन फरक रहेको भन्ने पत्रकारले जिज्ञासा राखेका थिए । मोरङ क्षेत्र नं. १ का प्रदेश सांसद उपेन्द्र घिमिरेले सोमबार लेटाङ नगरपालिकाको कार्यक्रममा वैज्ञानिक वन तथा साझेदारी वनको विषयमा पनि विरोध जनाएका थिए । कार्यक्रममा साझेदारी वनले आफ्नो सेवाक्षेत्रका ३४ जना छात्रछात्रालाई एक हजार चारसय २५ रुपैयाँका दरले छात्रवृत्तिसमेत प्रदान गरेको छ । साझेदारी वनका अध्यक्ष योगेन्द्र गुरुङलगायतले छात्रवृत्ति रकम वितरण गरेका थिए ।