निकै रमाइलो र भव्य सृजनशील माहौल आँखाले र मनले सम्झिरहेको छ । यसखाले कार्यक्रम नभएको निकै वर्ष भएको थियो । १ दशक अघि गजलको २ दिने देशव्यापी जमघट भएयता त्यही तहको जमघट हुन पाएको थिएन । ‘दमक साहित्य कला महोत्सव ०७५’ मा असारको २६ र २७ गतेको उर्जाशील जमघटमा गजल, कविता, हाइकु, मुक्तक जस्ता फरक फरक कार्यक्रमका सृजना तरंगले दमकलाई त तरंगित पार्यो नै । भूगोलको सीमाको दशगजाभित्र र दशगजा बाहिर रहेकाहरुसमेतको अन्तरक्रियात्मक कार्यक्रमले दमकलाई चिनायो अनि साहित्य कलाको तंरग सबैतिर तरंगित बनायो ।
गजलमा शब्दशिल्प भर्न माहिरहरुले नेपालको गजलको वर्तमान अवस्था चरितार्थ पारे । कविता र अन्य विधाहरुको प्रभावकारिता झल्काए । गजलबाट सुरु भएको सृजना प्रस्तृतिको कार्यक्रमको सुरुवात गायक अनील फागोको अगुवाईको सुरभि कला केन्द्रले दिपीका मिश्रको गजल गायनबाट गर्यो । झापाबाट हाल विदेशमा रहेकी दिपीकाको ‘मर्नै पर्छ भनेदेखि देशको निम्ति मर्न सकौं’ गजलले देशभक्तिभावमा सबैलाई केन्द्रित गरेपछि पहिलो वाचनमा पाँचथरका मधु केरुङको पालो आयो । उनले जातीय सांस्कृतिक समीश्रम देखाएर गजलको स्वाद चखाए । त्यसपछि कैलालीकी सुमन स्मारिकाले यसरी गजलमा गहनता राखिन् :
कुनै नदीको कुनै अलपत्र किनार हो यो ।
बनाउँदा बनाउँदै छोडिएको निधार हो यो ।
सपनामा पनि आएर तर्साउने गर्छ,
ऐनाले बोकेको कस्को अनुहार हो यो ?
सिद्धार्थ बोर्डिङमा २६ गते गजल साँझ जम्यो । जसमा विशेष अतिथिका रुपमा पुष्प अधिकारी अञ्जली, रुपक अलंकार, अमला अधिकारी, अनन्त अनुराग, सुमन स्मारिका, प्रकाश किरण, शान्ति शर्मा, दिग्गध द्यौराली र मधु केरुङले गजल वाचन गरे । चितवनमा रहेको गजल गतिविधिमा नेपालमै सक्रिय पुष्प अधिकारी अञ्जलीले गजलमा यस्तो चिन्ता व्यक्त गरे :
बाको जिन्दगी साहुकोमा तमसुक छ । थाहाछैन हराएको छोरा कुन मुलुक छ ।
गजल माहौलमा सबैका गजल एकसे एक थिए । लयात्मक र भावात्मक दुवै प्रकारका शक्तिशाली गजल स्वादले तरंग फैलाइरहेको थियो । त्यस क्रममा, धनकुटाका प्रभावशाली गजलकार अनन्त अनुराग फुल र मालाको कुरा गर्दै थिए :
कुन फूल टिपी पठायो लौ त्यो पठाउनेले । विस्र्याे सियो र धागो माला बनाउनेले ।
सिन्धुलीकी अमला अधिकारीले नारी विद्रोह सहित ग्रामिण यथार्थता गजलमा पस्किएर वाहवाह पाइन् । चितवनका दिग्गज धौराली, काठमाडौंका रुपक अलंकार, प्रचुर अभावहरुको पनि उस्तै तारिफ भयो । जाजरकोटको भौगोलिक विकटतासंगै पछि परेको विकासको पीडा सुनाउँदै थिए प्रकाश किरण । :
कहिले ठोस बनेर कहिले तरल बनेर । गुज्रिरहेछ जिन्दगी मोफसल बनेर ।
प्रतिनिधि गजलकारका रुपमा अजय आँशु, गगन एक्पाङदेन, इन्दिरा कुमाल, राज दिलाञ्जली, महेन्द्र विरही, रोमा निरौला, चेतन अन्जान, मौसम वराल, विष्णु कार्की, राजन कार्की, प्रचुर अभाव, राजकुमार अनिश्चित, टंक भण्डारी र भूटानका याम थुलुङले आफ्ना प्रभावकारी गजल वाचन गरेर प्रभाव छोडे ।
उद्घोषणको कलात्मक साङ्गोपाङ्गोमा थिए विवश वलिभद्र कोइराला । प्राज्ञ उपेन्द्र पागलको प्रमुख आतिथ्यताको त्यही कार्यक्रममा क्रमश : धिमाल, लिम्बू र राजवंशी भाषा र साहित्यको क्षेत्रमा योगदान दिने दयाराम धिमाल, सेसेमीसे नाल्वो र पानीलाल राजवंशीलाई सम्मानित गरियो । नगरको पहिलो जातिका रुपमा घोषित नगरको पुरानो जाति धिमाल भाषा संस्कृतिका अगुवा सम्मानित हुनुले त्यस जातिप्रतिको थप सम्मान व्यक्त भएको अर्थमा कार्यक्रमले अर्काे महत्व बोकिरहेको थियो । शिक्षासेवी तेजकुमार श्रेष्ठ र साहित्य कला संगममा २१ लाखको अक्षयकोष प्रदान गरेर दमकलाई हौसला दिएका साहित्यानुरागी भवानीप्रसाद मिश्रको सम्मान पनि उस्तै उर्जाको अर्काे प्रतिक थियो ।
सो अवसरमा प्राध्यापक डाक्टर टंक न्यौपानेले ‘दमक नगरपालिकाको भाषिकस्थिती र अपेक्षित भाषानीति’ विषयक कार्यपत्र प्रस्तुत गरेर दमकलाई सृजनामा खोतले । उनले दमकमा नेपाली, अंग्रेजी सहित जातीय भाषा गरी कुल ४० भाषा बोलिने गरेको तथ्याङ् कार्यपत्रमा प्रस्तुत गरे । दमक नगरपालिकाले यसखाले कार्यक्रमका लागि केही हिस्साको आर्थिक व्यवस्थापन गरिदियो । जसले स्थानीय सरकारको पनि सृजनामा चासो बढेको अर्थमा पनि सर्जकहरु उत्साहित भए ।
समारोहमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली उत्सुकतापूर्वक बसे, हेरे र सुने । नेपाली भाषा र साहित्यप्रति गहिरो चिन्ता व्यक्त गरे । ‘पश्चिमा संस्कृतिको असरले लोपोन्मुख बनाउँदै लगिएको नेपाली भाषा र नेपाली साहित्यको विकासमा सबै लागौं र नगरपालिकाले पनि त्यसमा सहयोग पुर्याइरहन्छ ।’– नगरप्रमुख ओलीले यसरी हौसला प्रदान गरे । भाषा साहित्यलाई समाजसँग जोड्दै नीति कथाहरुको प्रसंग ल्याएर उनले भने ‘ गरौंला, भनौंला भन्ने शब्द प्रयोग गरेर उम्किने भन्दा पनि गरिहाल्छु, भनिहाल्छु भन्ने बानीको विकास गराउनु पर्यो । त्यसका लागि सृजनशील मानिसको आवश्यकता पर्छ । तपाईहरुले खबरदारीको भूमिका निर्वाह गरोस् ।’
दार्जीलिङकी अगुवा साहित्यकार मध्येकी डा.विन्द्या सुब्बाले भारतका विभिन्न प्रान्तमा बसेर लेखनमा पूर्ण स्वतन्त्रता महसुस गर्न नपाएको अवस्थामा पनि नेपाली भाषा र साहित्यको प्रवर्द्वनमा डटिरहेको सुनाउँदाको क्षण मनभित्र थप उर्जा भरिएको महसुस भइरहेको थियो । कविता प्रभावबाट उर्जा भर्नेमा थिए, एकु घिमिरे, प्रवीण वानियाँ, मनु विक, ताराबहादुर बुढाथोकी, धर्म तिवारी, सुन्दर कुरुप, इन्दु नेपाल योञ्जन, सागरमणि दहाल, मुकुन्द प्रयास, प्रेम ओझा, धनपति ढुंगेल, सन्देश सुब्बा, सबीर राई दिल्पाली, रमेशचन्द्र अधिकारी र अकेला यात्री । साथमा प्रकाश बुढाथोकी, मुनाराज शेर्मा, ढाकातारा पराजुली, शिवराम खड्का, मेचीपुत्र, विर्खे अन्जान, विराट किराती, नवीन प्राचीन र अमृता स्मृतिले उसैगरी मत्रमुग्ध नै बनाए । मिश्र वैजयन्ती, मधुसुदन गिरी, इरान राई, चेतनाथ धमला, कृष्ण सारथी, तीला लेकाली, डिकेश लामा, राजेन्द्र पासा, हेमसागर पोखरेल र असफल गौतमले आकारले सानो हाइकुको गहन र बृहता पस्किएर जिरे खुर्सानीको विशेषता झल्काए । हरि कट्टेल, खोलाघरे साँहिलो, रोहित पराई, टीका आत्रेय, सुरेश सुवेदी, खगिन्द्रा खुसी, गणेश खतिवडा, रीता पोखरेल, सीसा थारु चौधरी, अजय प्रधान, सृजना अर्याल अधिकारी, मनोज भण्डारीले छन्दका कविता वाचन गरेर छन्दको स्वाद दिएर यसको संरक्षणको सन्देश छरे । अशोक बस्नेत सहितले मुक्तक अनि विन्द्या सुब्बा, कविता क्षेत्री, अर्जुन निरौला, जिवीका अश्रु सहितले दशगजापारीका कविता प्रस्तुत गरेर कार्यक्रमको प्रभावकारिता झल्काएको महसुस गरिहेका थिए, संस्थाका अध्यक्ष नरपति पाण्डेले पनि । दशगजा पारिबाट प्रसिद्ध कवि हरिभक्त कटुवालकी छोरी कविता क्षेत्री र नातिनी नवनिता क्षेत्रीको सहभागिताले हरिभक्तको साहित्य मोह पुस्तेनी हुँदै आएर उनीहरुले आफ्नो इतिहास आफैंलेसंगै डोर्याएर जान सकिने पक्ष स्मरण भयो । नेपालको पूर्वदेखि पश्चिमसम्मका प्रतिनिधिमुलक सर्जक अनि भारतको विभिन्न ठाउँका साथै नेपालमै शरणार्थीका रुपमा बसोबास गर्ने भूटानी गरी ३ देशको सहभागितामा कार्यक्रमको सम्मिलन भयो । गजल गायनले गजललाई गायनका रुपमा लाँदाको थप प्रभावकारिता उजागर गर्यो । यतिखेर दमकमा मौसम बरालले समयको थकान र पैतालाको उत्साहलाई चिरफार गदैै पैतालाको स्वाभिमानको महानता व्यक्त गरेको गजलको दम सम्झिरहेछु ।
समयको निधारमा पहिलोचोटी थकान भेटिएको छ । बरु पैतालाका चिराहरुमा स्वाभिमान भेटिएको छ ।