ताप्लेजुङ/ताप्लेजुङमा नसर्ने रोग लागेकारोगीको सङ्ख्या बढ्दै गएको छ । जिल्ला स्वस्थ्य कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो समय नसर्ने रोगीका सङ्ख्या बढ्दै गएको हो । जिल्ला स्वास्थ्य कार्यालयले यो वर्ष मात्रै १० वर्ष भन्दा मुनिका ४ जना मुटुरोग र क्यान्सरबाट पिडित बालबालिकालाई सरकारले दिने उपचार सहयोगका लागि सिफारिस गरेको छ । यो तथ्याङ्कलाई हेर्दा जिल्लामाफ नसर्ने रोगका बिरामी बढ्दै गएको पाइएको हो ।

तथ्याङ्कमा उल्लेख गरिए अनुसार चालू आर्थिक वर्षमा ७४ जना नसर्ने रोगका बिरामीलाई सरकारले उपचारका लागि प्रदान गर्ने सहयोगका लागि सिफारिस गरेको छ । जसमा ३५ जना महिला र ३९ जना पुरुष छन् । नसर्ने रागको तथ्याङ्क शाखाका हेल्थ असिस्टेन्ट सन्दिप नेयोङका अनुसार जिल्लामा २० देखि ७० वर्षको उमेर समुहका मानिसमा नसर्ने रोगको समस्या बढी छ । कार्यालयले यस वर्ष मुटुका १२, मृगौलाका १०, हेट इञ्जुरीका ६, स्पाइनल कर्ड इञ्जुरीका २, स्तनक्यान्सरका ८ र अन्यक्यान्सरका ३६ जनालाई अनुदानका लागि सिफरिस गरेको छ । सम्पन्न, आफैं उपचार गराउन सक्ने हैसियत भएका तथा अनुदानका लागि नआउने बिरामीको रेकर्ड भने नहुने नेयोङले बताए ।

पछिल्लो वर्षमा उपचार गर्न आएका बिरामीको संख्यालाई आधार मान्दा सरुवा रोगहरुको प्रकोप घट्दो र नसर्ने रोग बढ्दो क्रममा रहेको छ ।दुई दशक यता सरकारले सरुवा रोगलाई प्राथमिकतामा राखेर कार्यक्रमहरु सञ्चालन गरेकाकारण टाइफाइट, रुघाखोकी, झापाडखाला जस्ता सरुवा रोगका बिरामीहरु आउने क्रम घटेको अस्पतालले जनाएको छ । विभिन्न प्रकारका क्यान्सर, मधुमेह, उच्च रक्तचाप, पक्षघात, मुटु, मृगौला, हेड इन्जुरी र स्पाइनलकर्ड इन्जुरी र मानसिक रोगका बिरामी बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अस्पतालको बहिरङ्ग कक्षमा दैनिक रुपमा ५–१० जनासम्म कुनै न कुनै प्रकारका नसर्ने रोगको समस्या भएका बिरामी आइरहेको उनको भनाई छ । ‘नसर्ने रोगहरु मध्ये पनि यहाँ एक तिहाई उच्च रक्तचापका बिरामी आउनुहुन्छ,’ अस्पतालका डाक्टर सोनिङ लामाले भने, ‘त्यसपछि मृगौला, स्तन क्यान्सर र मधुमेहको समस्या धेरै देखिएको छ ।’यस्ता नसर्ने रोगका बिरामीहरूलाई उपचारका लागि सरकारले बढीमा एक लाख रुपैयाँसम्म उपचार खर्च दिने गरेको छ ।

‘यो संख्या सिफारिस लानेको मात्रै हो, स्वास्थ्य संस्थामा आएर परिक्षण नगरेकाको संख्या अझै धेरै हुन सक्छ,’ नेयोङले भने,‘सरकारले सुविधा दिन थालेपछि उहाँहरु पनि सचेत हुन थाल्नु भएको छ र स्वास्थ्य संस्थासम्म आउन थाल्नुभएको छ ।’ यहाँबाट सिफारिस लिएर जिल्ला बाहिरका सुविधा सम्पन्न अस्पतालमा जाने गरेका छन् ।

हिमाली जिल्ला ताप्लेजुङमा सुर्तिजन्यपदार्थको सेवन र मादकपदार्थको सेवन बढी हुनु रोगको मुख्यकारण रहेको अस्पतालका डाक्टर लामा बताउँछन् । ‘यहाँ सँस्कारकै रुपमा मादक पदार्थ सेवन गर्ने चलन बढी छ, यसले नसर्ने खालका रोगहरुको समस्या बढाएको हो’ लामाले भने,‘युवाउमेरमै फेसनको रुपमा सुर्तिजन्य पदार्थको सेवन गर्ने क्रम बढेका कारण, मोटोपनको कारण, वायु प्रदुषण र असन्तुलित खानपानले बढी यस्ता खालका नसर्ने रोग बढ्दै गएको हो ।’