धनकुटा । साँगुरीगढी गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ मा वडावासी कृषकहरुले उत्पादन गरेको कृषि उपजका वस्तुहरु संकलन गरी विक्रि गर्न सजिलो होस भन्ने उदेश्यले ३ स्थानमा तरकारी संकलन केन्द्रको निर्माण गरिदिएको छ । तरकारी संकलन केन्द्र निर्माणसंगै साँगुरीगढी गाउँपालिका वडा नं.३ खुवाफोक, वडा नं.७ र ८ मा पर्ने महाभारतका १ सय ३५ घरधुरी कृषकहरुलाई आफुले लगाएको विभिन्न प्रजातिको तरकारीहरु संकलन गरी विक्रि गर्न सहज भएको वताएका छन् । कृषि उपज संकलन केन्द्र निर्माण भएसंगै टोल–टोलमा उत्पादन हुने कृषि उपजका वस्तुहरु संकलन गरी विक्रि गर्न सहज भएको साँगुरीगढी–३ खुवाफोकका रुपमान याखाले वताएका छन् । उनी साँगुरीगढी–३ मादेन खुवाफोकमा निर्मित कृषि उपज संकलन केन्द्र निर्माण समितिका अध्यक्ष समेत हुन् । उनले कृषि उपज संकलन निर्माण गर्न जनश्रमदान सहित ६ लाख, १० हजार, ३७ रुपयाँ खर्च भएको वताएका छन् । जसमा साँगुरीगढी गाउँपालिकाले ५ लाख, ५० हजार, जन श्रमदान ६० हजार, ३७ रुपयाँ रहेको याखाले वताए । कृषि उपज संकलन केन्द्र स्थापना भएसंगै खुवाफोक मादेन आसपासका किसानहरुले उत्पादन गर्ने टमाटर, मुला, काउली, वन्दा, काँक्रा, आलु, अदुवा, वेसार, केरा,बदाम लगायत कृषि उपजका वस्तु विक्रि गर्न सहज भएको हो । संकलन केन्द्रखुवाफोक मादेनसम्म सुनसरीको धरान देखी गाडी आईपुग्ने भएकाले ढुवानी गर्न सजिलो भएको स्थानिय सेवाग्राही धनमाया लिंखाले ब्लाष्टलाई वताईन । उनले आफुले कति रुपयाँमा कृषि उपज संकलन केन्द्र निर्माण भयो, थाहा नभए पनि संकलन केन्द्र निर्माण कार्य सम्पन्न भएकोमा खुशि लागेको वताईन । त्यसैगरी साँगुरीगढी गाउँपालिका वडा नं.७ र ८ मा पर्ने महाभारतमा पनि २ छुट्टाछुट्टै कृषि उपज संकलन केन्द्रको स्थापना गरिएको कृषि विकास शाखा भेडेटारका प्रमुख कृषि प्राविधिक सहायक राजीवकुमार पाख्रीनले बताएका छन् । उनले हरेक संकलन केन्द्रले ४० देखी ४५ घरधुरी स्थानिय किसानलाई तरकारी संकलन केन्द्रसम्म आफुले उत्पानद गरेको कृषि उपजका वस्तुहरु ल्याउन सहज हुने वताएका छन् । संकलन केन्द्र स्थापना भएसंगै स्थानिय किसानहरुलाई आफुले उत्पादन गरेको कृषि उपजको वस्तु विक्रि गर्न सहज हुने र आर्थिक लाभहुने पनि आशा गरिएको प्राविधिक सहायक पाख्रीनले बताएका छन् । उनले दुवै संकलन केन्द्र निर्माणको लागी सागुरीगढी गाउँपालिका कृषि शाखावाट १० प्रतिसत जनश्रमदान जुटाउने गरी ५ लाख २० हजारका दरले अनुदान रकम उपलव्ध गराइएको वताए । त्यसैगरी साँगुरीगढी वडा नंं.५ डाँडा वजारमा पनि स्थानिय ५ जना कृषकलाई ह्वाईट टप जातको फुल काउली खेतीको लागी ३ लाख मुल्यको वरावरको विउ वितरण गरीएको सहायक प्राविधिक पाख्रीनले वताएका छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिका वडा नं.५ नाम्जे पञ्चकन्या टोलमा अर्गानिक तरकारी उत्पादनका लागी (टनेल हाउस) प्लाष्टिक घर निर्माण गर्न स्थानिय १० घरधुरीलाई १ लाख रुपयाँ अनुदान दिइएको कृषि प्राविधिक पाख्रीनले वताएका छन् । उनले आधुनिक तरीकाले अर्गानिक तरकारी खेती गर्न नाम्जे अत्याधिक चिसो भएका कारण टनेल भित्र अकवरे खुर्सानी, टमाटर लगायतका तरकारी उत्पादन गर्न सहयोग गरिएको वताए । टनेल निर्माणको लागी गाउँपालिकाले प्लाष्टिक, ड्रम, औषधी छिट्ने पम्प र हजारी उपलव्ध गराएको थियो भने उपभोक्ताहरुले वाँस, तार, भाटा र वनाउन श्रमदान गरेका थिए । यसरी भेडेटारको नाम्जेमा टनेल निर्माणको लागी अनुदान पाउनेहरुमा पञ्चकन्या टोलका गुञ्जमान मगर, अनिल कुमार राना, मतीमाय राना, गौरीमाया मगर, निमकुमारी मगर, लेखनाथ मगर, धनमाया राना, नरमाया मगर, देवीमाया मगर र मोहन मगर रहेको छन् । त्यसैगरी साँगुरीगढी गाउँपालिकाको विभिन्न वडाको १४ हेक्टर क्षेत्रफलमा लगाउने गरी आँप, लिची, कागती र सुन्तलाको विरुवा अनुदानमा वितरण गरिएको कृषि प्राविधिक पाख्रीनले वताएका छन् । साँगुरीगढी गाउँपालिकामा आ.व.०७४÷०७५ मा कृषि कार्यक्रमको लागी जम्मा ६६ लाख रुपयाँ आए पनि १७ लाख, ३० हजारको मात्र कृषि कार्यक्रम संचालन भएको वताइएको छ । त्यसैगरी पशु विकास कार्यक्रमको लागी पनि ५५ लाख रुपयाँ आएकोमा १८ लाख, ७० हजार वरावरको मात्र पशु विकास कार्यक्रम संचालन गरिएको वताइएको छ । वित्तिय समानिकरण र शर्शत अनुदानबाट मन्त्रालयबाट प्राप्त वजेट तथा कार्यक्रम विषयअन्तर गरिए प्रति विषयगत शाखामा कार्यरत कर्मचारी भने रुष्ट भएका छन् । यसरी विषयअन्तर गरिएको अधिकांश वजेटलाई भौतिक पुर्वाधारको क्षेत्रमा लगानी गरिएको पाइएको छ । यसैविच साँगुरीगढी गाउँपालिकाबाट आ.व.०७४÷०७५ मा कृषि र पशु विकास शाखावाट संचालित कार्यक्रमहरुको विहिवार अनुगमन गरिएको छ । अनुगमनमा गाउँपालिका प्रमुख कुमारजंङ्ग याखा, गाउँकार्यपालिका सदस्य बालकृष्ण राई, वडाध्यक्षहरु, विषयगत कार्यालयका कर्मचारी र स्थानिय संचारकर्मीहरुको सहभागिता रहेको थियो । सो अवसरमा पशु विकास शाखाबाट संचालित विविध कार्यक्रमहरु पनि अनुगमन गरिएको थियो ।