पथरीशनिश्चरे ।औलो रोगसंग लडेर घना जंगललाई खेतीयोग्य जमिन बनाउनु मात्र होइन विकासको गतिको शहर बनाउने आफ्नो योगदानको कदर गर्दै आफुहरुलाई प्रथम जाति घोषणा गरेपछि धिमाल समूदाय खुसी भएको छ ।
धिमालहरुको पुरानो बसोबास रहेको झापाको दमक र मोरङको पथरीशनिश्चरे नगरपालिकाले आफ्नो नगरको पहिलो जाति ‘धिमाल’ भएको घोषणा गरेपनि उनीहरुमा खुसीको लहर छाएको हो । ‘हाम्रो पुर्खाको पसिनाको सम्मान भएको छ । अनि सिंगो धिमाल जातिको कदर भएको छ । यसमा हामी ज्यादै खुसी छौं ।’– धिमाल जाति विकास केन्द्र मोरङका उपाध्यक्ष पथरीशनिश्चरे निवासी भूवन धिमालले भने । उनले दमक र पथरीशनिश्चरेमा मात्र नभई मोरङको उर्लावारी, बेलवारी नगर र कानेपोखरी गाउँपालिकामा पनि धिमालहरु नै पुरानोवासी भएकाले ती ठाउँमा पनि पहिलो जाति घोषणा हुनुपर्ने धारणा राखे ।
दमक नगरपालिकाले त पहिलो नगरसभाबाटै धिमाललाई ‘प्रथम नागरिक’ घोषणा गरेको थियो । केही कार्यक्रम उनीहरुका लागि अघि सारिएको अवस्थामा हालै सम्पन्न तेस्रो नगरसभाले उनीहरुका लागि भवन, तालिम, सीपविकास, निर्माण त कोही प्रवद्र्धन कार्यक्रम सहित गरी १५ लाख हाराहारीको बजेट छुट्याएको नगरप्रमुख रोमनाथ ओलीले जनाए । सो जातिको सम्मानमा दमक नगरपालिकाको मुलद्धारको भित्री भागमा धिमाल जातिको प्रतिमा निर्माण गरिएको छ । ०७४ असोज ३० गतेको प्रथम नगर परिषदले प्रथम नागरिक घोषणा गरेपछि प्रतिमा बनाउन थालिएको थियो । नगरपालिकाको ८ लाख लगानीको प्रतिमा ०७५ वैशाख १९ मा प्रधानमन्त्री केपी शर्मा ओलीबाट प्रतिमाको अनावरण गरेका थिए । ‘धिमाल जातिले पसिना बगाएर आवाद गरी समृद्धितर्फ अघि बढेको नगरमा उनीहरुलाई प्रथम नागरिकका रुपमा सम्मान गर्नै पर्ने ठान्यौं ।’– ओलीले भने । उनले पहिले जग्गा आवाद गरेर धेरै जग्गा जमिन भएका धिमालहरु अशिक्षाका कारण अहिले विपन्न अवस्थामा पुगेको जनाउँदै उनीहरुको चेतना अभिबृद्धिका कार्यक्रमहरु ल्याउनु आवश्यक रहेको उल्लेख गरे । दमकमा वडाध्यक्षका रुपमा रामबहादुर धिमाल, कार्यपालिका सदस्य खड्ग धिमाल, सदस्यमा मणिराज धिमाल र गजेन्द्र धिमाल चुनिएर इतिहास स्मरण गराउँदै आफ्नो उपस्थिती दर्शाएका छन् ।
पथरीशनिश्चरे नगर क्षेत्रको सवैभन्दा पुरानो वासिन्दाका रुपमा धिमाल जाति नै रहेको ठहर भयो । कार्यपालिका बैठकमा कार्यपालिका सदस्य तिलक धिमालले नगरको पहिलो जाति धिमाल भएको दावी गर्दै सोही हिसावले सम्वोधन गरी प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनु पर्ने कुरा उठाएका थिए । नभन्दै असार २९ गतेको नगरसभाले धिमाल जातिलाई पहिलो जातिको रुपमा घोषणा गर्न पुग्यो । त्यसपछि धिमाल समुदायमा खुसी छाएको धिमाल जाति विकास केन्द्र नगर अध्यक्ष साजन धिमालले सुनाए । ‘हामी त नगरमा दिपावली नै गर्ने तयारीमा छौं ।’– उनले भने । नगरमा धिमाल जातिको उत्थानका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउनु पर्न उनले माग गरे । नगरमा धिमाल समुदायबाट जनप्रतिनिधि वन्नेमा तिलकका साथै ५ नम्बर वडाध्यक्ष जोगबहादुर धिमाल, १ नम्बर सदस्य रोमान्सी धिमाल, ९ नम्बर सदस्य खरिन्द्र धिमाल रहेका छन् । मोरङ र झापामा गरी लोकतान्त्रिक धिमाल संघमा आवद्ध १९ जना तथा अन्य राजनीतिक आस्था नजिकका गरी २ दर्जन वढी धिमालहरु स्थानीय तहमा निर्वाचित भएको आंकडा छ ।
बंगाली लेखक डाक्टर हसनको निवन्धमा वि.सं.१८४७ मा कोसी पूर्व र टिष्टा पश्चिम विराट क्षेत्र भनिने बसोबासस्थलको पहाडी क्षेत्र दक्षिणको बीचभागमा धिमाल जाति हौं भन्ने ५ सय १ जना मानिस फेला परेको उल्लेख छ । सो इतिहास सहितका ११ वटा प्रमाणले मोरङ, झापा र सुनसरीमा सवभन्दा पहिलो पाइला टेक्ने धिमाल जाति नै भएको तथ्य प्रस्तुत गर्दै प्रदेश सरकारसंग सो कुरा सम्वोधनका लागि माग गरिएको दमक नगरपालिकाका पूर्व नगर उपप्रमुख लोकबहादुर धिमालले वताए । उनले धिमाल जातिको गौरवका ५ वटा योजना उल्लेख गरेर संघ र प्रदेश सरकारमा पेश गरेको सुनाए । दमकमा धिमाल संस्कृति संग्रहालयका लागि पर्यटन मन्त्रालयबाट ७० लाख सहित प्रदेश र नगरपालिका समेत गरी १ करोड हाराहारीको योजना बनेको उल्लेख गरे ।
प्रकृतिपूजक धिमालको आफ्नै भाषा छ । लिपी पनि भर्खरै बनेको छ । सार्वजनिक थलोका रुपमा धिमालका ९८ वटा टोल छन् । परापूर्वकालदेखि मुख्य रुपमा मोरङ र झापामा धिमाल जातिको बसोबास गर्दै आएका उनीहरुको जनसंख्या ३५ हजारको हाराहारी मात्रै छ । मोरङको तात्कालिन भोगटेनी गाविसको राजारानी क्षेत्र उनीहरुको जन्मथलो मानिने धिमाल जाति विकास केन्द्रका पूर्व अध्यक्ष एवम् दमक ९ का वडाध्यक्ष रामवहादुर धिमालले जनाए । त्यहाँ ऐतिहासिक २ वटा पोखरी रहेका छन् । त्यहाँ प्रत्येक वर्षको वैशाख २ गते धिमालको महत्वपूर्ण जात्री पर्व मनाउन सुरु गरिन्छ र उर्लावारीको मंगलवारेमा धिमाल जाति विकास केन्द्रस्थलमा असार २ मा मेला लाग्दै जात्री पर्व समापन गरिने गरेको छ । त्यहाँ सरकारले धिमाल उत्थानको परियोजना सञ्चालनमा १० विगाहा जग्गा उपलब्ध गराएको छ ।