पानवारी । उभौलीमा साकेला नाच्दै गरेका विशाल राई अल्लोको कोटमा सजिएका थिए । उनी मात्रै होइन उनको समुहमा नाच्ने अन्यले पनि अल्लोको कोट तथा इस्टकोट लगाएका थिए । सधै नयाँ नयाँ डिजाइनका कपडा लगाउने उनी पछिल्लो समय अल्लोका उत्पादनहरु मनपर्ने गरेको बताउँछन् । ‘अरु त सबैले लगाएकै हुन्छन्, अल्लोको डिजाइन मलाई साह्रै मनप¥यो र यो नेपाली कपडा भएकोले पनि लगाएको हुँ । जमाना फेसनको छ । अहिले सहरको त के कुरा गाउँमा हरेक कुरामा फेसन चलेको छ । दैनिकी जीवनशैली व्यस्त बनिरहेको बेला समय समयमा आउने चाडपर्व मात्र नभएर जमघट तथा भोज पार्टीहरुमा थरी थरीका फेसन देख्न पाइन्छ । आफुलाई स्मार्ट देखाउन मात्र नभइ संस्कार, सँस्कृति प्रति मोह बढ्दै गएकोले मौलिक उत्पादनका वस्तुहरु प्रयोग गर्ने चलन पनि बढ्दो छ । नेपाली उत्पादन खाडी, उन तथा ढाकाको कपडा लगाउने चलन धेरै अगाडीदेखि रहि आएतापनि पछिल्लो समय अल्लोको कपडा पनि थपिएको छ । मौलिक पहिरनको व्यापार तथा प्रबद्र्धन गर्न ४ वर्ष अघि धरानमा खुलेको चोमालुङ्मा कलेक्सनका सञ्चालक रामकर राईका अनुसार पछिल्लो समय अल्लोका उत्पादनको माग बजारमा बढ्दो छ । अल्लोबाट कपडाबाट लुगा मात्र नभइ जुत्ता, चप्पल, ब्याग, पर्स, झोला, टोपी, टाइ, बेल्ट लगायतको उत्पादन हुन्छ । विशेष गरेर अल्लोको कपडा विभिन्न साँस्कृतिक कार्यक्रम, चाडपर्वहरुमा सहभागी हुँदा लगाउने विशेष पहिरन बनेको छ । विवाह समारोहमा भेटीएका पूर्ण वान्तावा र उनका ५ वर्षिय छोरा अल्लोको पहिरनमा थिए । ‘अल्लोको कपडामा बाबु (छोरा) राम्रो देखिन्छ, मलाई पनि सुहाउँछ, विदेशी कपडा भन्दा धेरै राम्रो छ र सस्तो पनि छ ।’ अल्लोको एउटा कोट ६ हजारदेखि १० हजारसम्म मूल्य पर्छ । धरान–१ मा रहेको पूर्वेली ढाकाटोपी ट्रेडर्सका सञ्चालक प्रतिक श्रेष्ठले एउटा कोटको कपडा २५ सयदेखि ६ हजारसम्म र तयारी कोट ६ हजारदेखि १० हजारसम्ममा विक्रि गर्ने गरेको बताउँछन् ।

विदेशमा बस्नेलाई अल्लोको कोशेली

भनिन्छ, विदेशमा रहेका नेपालीहरुलाई स्वदेशको माया धेरै हुन्छ । विदेशी साथीका बीचमा नेपालको वस्तु जो नेपालले उत्पादन गरेको भनेर चिनाउन पाउदा गौरब महसुस हुन्छछ । अझ त्यो वस्तु ती विदेशी साथीलाई गिफ्ट दिन पाउँदा अत्यन्तै खुसी लाग्छ । बेलायतबाट दाईले नेपालको कोशेली पठाइदिनु भनेपछि धरान–१५ की उषा सुब्बाले अल्लोको कोट र ब्याग पठाइदिइन् । सुब्बाले भनिन् –‘यहाँबाट पठाइदिएको कोटहरु दाइले पनि साथी (विदेशी)लाई गिफ्ट दिनुहुन्छ रे ।’ स्वदेशमा भन्दा विदेशमा अल्लोको माग अत्याधिक छ । चोमालुङ्मा कलेक्सनका सञ्चालक रामकर राईका अनुसार लाहुरेका परिवारले विदेश पठाउन एकै पटकमा धेरैवटा सामान लाग्ने गरेका छन् । विदेशमा रहेका नेपालीले आफ्ना सहकर्मी साथीहरुलाई समेत उपहारको रुपमा स्वदेशी उत्पादन दिने चलन बढ्दै गएको छ । नेपालमा अल्लोको कपडा लगाउने चलन धेरै पहिलेदेखि नै आएको हो । अल्लो र भाङको रेशाबाट कपडा बुनेर भाङग्रा बनाएर लगाउने प्रचलन विशेष गरेर गुरुङ समुदायमा रहेको थियो । पछि त्यही भाङ्ग्राको विकास गरी अल्लोको कपडा चल्तीमा आएको व्यापारी रामकर राई बताउँछन् । किरातीहरुको साँस्कृतिक सामाग्रीहरुको अध्ययन गरी संकलन गरेर विक्री तथा प्रबद्र्धन गर्दै आएका राई गुरुङ तथा किरातीहरुले मात्र नभइ सबैलै अल्लोको कपडा मौलिक सम्पत्ति मानेर लगाउने गरेको बताउँछन् । अहिले फेसन शो, चलचित्रका नायक नायिका तथा म्युजिक भिडियोहरुमा समेत अल्लोको ड्रेस लगाएको पाइन्छ । चलचित्र यारीमा पनि अल्लोको कपडा लगाएको देख्न सकिन्छ ।