पाँचथर/ सरकारले दुर्लभ वन्यजन्तको सूचिमा राखेको सालकको संरक्षण चुनौतिपूर्ण बन्दै गएको छ । सालकको खपेटाको अबैध बिक्रिका लागि चोरी सिकारी बढ्नु, सालक संरक्षणका लागि सर्वसाधरणमा जनचेतना नहुनु र यसबारे सम्बन्धित निकायले समेत ध्यान नदिनुले सालक संरक्षण जटिल बन्दै गएको हो ।

गत असार २९ गते मेची राजमार्गको पाँचथर स्थित हिलिहाङ गाउँपालिका–२, बाट दश किलो चार सय ग्राम सालकको खपेटा सहित फुपुठिले शेर्पालाई प्रहरीले पक्राउ गर्यो । मे १ ज १४३९ नम्बरको बाेलेरो गाडिबाट अबैध खपेटा ओसारपसार गरिरहेका ५३ बर्षिय शेर्पा अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा छन् । शेर्पामाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला वन अधिकृत मेघराज राईले बताए । त्यस्तै खपेटा ओसारपसार मुद्धामा अदालतले जनही ५० हजार रुपैंयाँ जरिवाना तोकेका दुई फरार अभियुक्त समेत हालै पक्राउ परेका छन् । फिदिम नगरपालिका–८, बस्ने डेनि सुब्बा नेम्बाङ र सोही स्थान बस्ने शसित भनिने कृष्ण सिवालाई पाँचथर प्रहरीले पक्राउ गरेको हो । यसअघि ७ मंसीर २०७३ मा जिल्लाको हिलिहाङ गाउँपालिकाबाट दुई जनालाई पाँच किलो एक सय ग्राम खपेटा सहित प्रहरीले पक्रेको थियो ।

यी केही प्रतिनिधि घटनाले खपेटा बिक्रिकै लागि सालकको चोरी सिकार र ओसारपसार मौलाएको प्रष्ट हुन्छ । जिल्ला प्रहरी कार्यालयसँग चोरी सिकारी र खपेटा ओसारपसारमा संलग्न पक्राउ परेको तथ्याङ्क न्यून छ । तर गाउँ–गाउँमा लुकिछिपि सालकको सिकार गर्ने र अबैध खेपटा कारोबार गर्नेको संख्या धेरै भएको स्रोत बताउँछ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता प्रहरी निरिक्षक अनिल कुमार पौडेल पनि यो कुरालाई स्वीकार गर्छन् । भित्रभित्रै यस्तो कार्य भए पनि आफूहरुसम्म जानकारी आइनपुग्ने हुनाले कम मात्र पक्राउ गर्न सकिएको प्रवक्ता पौडेलले बताए । उनले भने– ‘भर्खरैको केशमा पनि बोलेरोमा सवार हाम्रै प्रहरी साथीले थाहा पाएर मात्र पक्राउ गर्न सकिएको हो, लुकिछिपि यस्ता कार्य धेरै भए पनि प्रहरीसम्म सूचना आइनपुग्दा पक्राउ गर्नै सकिंदैन ।’

जिल्ला वन अधिकृत राई यो कारोबार गर्ने ठूलो सञ्जाल रहेकाले त्यसलाई भत्काउँन गाह्रो भएको बताउँछन् । उनले भने– ‘यसमा देश बाहिरका गिरोह संलग्न छन्; उनीहरुले खपेटा संकलन गर्न र एक ठाउँदेखि अर्को ठाउँसम्म पुर्याउँन स्थानीयलाई प्रयोग गर्ने गरेको भेटिएको छ ।’ सालक संरक्षणका लागि स्थानीयलाई लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणको महत्व र यसबाट दीर्घकालीन रुपमा लिने सकिने लाभबारे बुझाउँन आवस्यक रहेको ताप्लेजुङको सिरिजंगा गाउँपालिका–४, स्थित इलाका वन कार्यालय तेल्लोकमा कार्यरत वन रक्षक चन्द्र बहादुर तुम्बापो बताउँछन् । केन्द्र, प्रदेश र जिल्ला स्तरबाट र यस्ता कार्यक्रम बनेर आए आफूहरु त्यसको प्रभावकारी कार्यान्वयनमा लागिपर्ने उनले बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को चौंथो शंसोधन २०७३ अनुसार लोपोन्मुख वन्यजन्तु मार्न, राख्न र ओसारपसार गर्न पाइदैन । यदी कसैले त्यस्तो काम गरेको पाइएमा पाँच लाखदेखि दश लाख सम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म जेल सजाय वा दुबै सजाय हुन सक्ने उल्लेख गरिएको छ । तर पनि सालकको चोरी सिकारी बढ्नु र खपेटा ओसारपसार नरोकिनु तत्काल पाइने आर्थिक लाभको लोभ र अज्ञानता नै भएको जिल्ला वन अधिकृत राई बताउँछन् ।

राज्यले सालकलाई लोपोन्मुख वन्यजन्तुको सूचिमा राखे पनि यसको संरक्षणमा ठोस काम गर्न नसकेको सरोकारवाला बताउँछन् । हालसम्म नेपालमा कति संख्यामा सालिक छन्; गणना हुन सकेको छैन । यसमा राज्यको चासो कम परेको देखिन्छ । पाँचथरका सबै सामुदायिक वन उपभोक्ता समूहहरुमा सालकको संरक्षणबारे छलफल चलाएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) पाँचथरका अध्यक्ष देवी प्रसाद न्यौपानेले बताए ।

कस्तो वन्यजन्तु हो सालक ?

नेपाल, भारत, चिन लगायतका दक्षिण एसियाली देश साथै अफ्रिकन मुलुकका उष्ण भू–भागहरुमा पाइने लोपोन्मुख वन्यजन्तु हो सालक । यसको शरीर कडा खपेटाले ढाकिएको हुन्छ । आफू अप्ठ्यारोमा पर्नासाथ यो वन्यजन्तु भकुण्डो जस्तै डल्लो पर्छ; र गुडुल्किएर ज्यान बचाउँछ । सालकको मूख्य आहारा धमिरा र कमिला हो । यसले कमलो जमिन खोजि दुलो बनाएर धमिरा र आहारा खोजि खान्छ । दिनमा भन्दा पनि रातमा आहारा खोज्न निस्कने हुनाले सालकको चोरी सिकार रातमा गरिन्छ । वन्यजन्तु विज्ञहरुका अनुसार विश्वमा आठ जातिको सालक पाइन्छन् । तर नेपालमा भने संकटग्रष्त कालो र लोपोन्मुख तामे सालक मात्र पाइन्छ । यो वन्यजन्तु ६० देखि ७० सेन्टिमिटरसम्म फैलिएको हुन्छ । एउटा वयस्क सालकको शरीरमा ढेढ किलोसम्म खपेटा हुन्छ ।

कहाँ लगिन्छ र के मा प्रयोग हुन्छ खपेटा ?

सालकको खपेटा कहाँ पुर्याइन्छ र के कामका लागि प्रयोग गरिन्छ ? यो अनुसन्धानकै बिषय बनेको छ । तर स्थानीय ब्यापारीले नै निकै महंगो मूल्यमा खपेटा किन्ने गरेको पाइएको छ । सालकको खपेटा सबैभन्दा बढी चिनमा जाने गरेको र त्यसबाट बुलेट प्रुफ लगायतका सामग्री बनाउँने गरिएको पक्राउ गरिएकाहरुले बयान दिने गरेको पाइए पनि तथ्य पत्ता लगाउँन नसकिएको प्रहरी निरिक्षक पौडेलले बताए । जिल्ला वन अधिकृत राईका अनुसार बुलेट प्रुफसँगै अन्धविश्वासका कारण खपेटाका सामग्री प्रयोग गर्ने र शौखिनहरुले समेत यसबाट विभिन्न शौखका सामग्रीहरु निर्माण गरी प्रयोग गर्ने गरेका छन् । सालकको खपेटा नेपालबाट चिनसँगै भारत र बंगलादेश पनि अबैध बाटो हुँदै लाने गरेको पाइएको राईले बताए । नेपालमै निकै महंगो मूल्य लगाइने खपेटा बिदेश पुग्दा कति मूल्यमा बिक्छ, भन्न सकिने अवस्था नरहेको उनको भनाई छ ।