तेह्रथुम/ म्याङलुङको ठूलो सामुदायिक वनमा घाइते अवस्थामा फेला परेको गिद्ध उपचारको क्रममा चार दिनपछि मरेको छ ।
पछिल्लो समय गिद्ध संरक्षण नहुँदा घट्दै गएको अवस्थामा म्याङलुङ नगरपालिका– १ का वडा अध्यक्ष ईन्द्र तुम्वाहाम्फेले घाइते अवस्थामा गिद्ध फेला पारेका थिए । घाइते गिद्धको जिल्ला वन कार्यालयमा राखेर उपचार भएको थियो । उपचारको क्रममा गिद्ध सोमबार मरेको छ । अचेत अवस्थामा फेला परेको गिद्धलाई धेरै प्रयास गर्दा पनि बचाउन नसकिएको पशु सेवा कार्यालयका डा. शिवजीप्रसाद दासले बताए । अचेत अवस्थामा रहेको गिद्धको रोग नै पत्ता नलागेको डा. दासको भनाइ छ ।
प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय तेह्रथुममा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका जिल्ला वन अधिकृत देवीचन्द्र पोखरेलले बताए । ठूला रुख काट्न थालिएपछि गुँड बनाउने रुख घट्दै गएका हुन् । गिद्ध संरक्षणका लागि सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हुँदै गएका गिद्धको संरक्षण हुने अधिकृत पोखरेलको भनाइ छ । गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षरोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्ने उनले बताए । गिद्धको सुरक्षित बासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिनुले गिद्ध लोप हुने अवस्थामा पुगेको हो । पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्धहरु लोप हुन थालेको जानकार बताउँछन् । पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेका डा. दास बताउँछन् । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाने गिद्धको मिर्गाैला खराब भई मृत्यु हुने गरेको डा. दासले बताए । स्थानीय किसानले मरेको पशुको सिनो खाडल खनेर पुर्न थालेपछि गिद्धले आहारा नपाएकाले घट्दै गएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष तुलसी सङ्ग्रौलाले बताए । ‘गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ ।’ उनले भने ।
नेपालमा पाइने ८ प्रजातिका गिद्धमा सानो खैरो, डङ्गर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका वन अधिकृत पोखरेलले बताए । नेपालमा हाल १२ देखि १५ हजारको हाराहारीमा गिद्ध पाइन्छन् । यसमध्ये सबैभन्दा धेरै १० हजारको हाराहारीमा हिमाली गिद्ध पाइन्छ, भने सबैभन्दा थोरै सानो खैरो गिद्ध पाइन्छ उक्त गिद्ध जम्मा ६० ओटा रहेका छन् । यसबाहेक पहाड र तराईमा पाइने डङ्गर गिद्ध एक हजारदेखि दुई हजारको सङ्ख्यामा छन्, हिमाल र तराईमा पाइने राजगिद्ध ६० देखि १ सय, हिमालदेखि तराईमा पाइने सुनगिद्ध २ सयदेखि ४ सय, हिमालमा पाइने हाडफोर गिद्ध ४ सयदेखि ५ सयसम्म र तराई देखि हिमालमा पाइने सेतो गिद्ध ३ सय देखि १ हजारको सङ्ख्यामा रहेको वन अधिकृत पोखरेलले बताए ।