दमक । दमक नगरपालिका कार्यालयले धिमाल जातिलाई ‘प्रथम नागरिक’ घोषणा गरेर केही कार्यक्रम ल्याउन थालेपछि उनीहरुमा धिमाल पाहुना वासस्थान (होमस्टे) लाई व्यवस्थित गर्दै आफ्नो पहिचान प्रवद्र्धन गर्ने उर्जा मिलेको छ ।

काठमाडौंमा रहेको तारा गाउँविकास समिति नामक संस्थाले पूर्वको अध्ययनका क्रममा दमकको पुरानो बासिन्दा धिमाल जातिको पहिचान झल्काउँदै धिमाल होमस्टे सञ्चालनको सुझाव दिएको थियो । जस अनुरुप उसले २ दिने सामान्य प्रकारको तालिम दिएपछि सन् २०११ मा हालको दमक ३ मा पर्ने दोघरेका १० धिमाल घरमा होमस्टे सञ्चालन सुरु भएको थियो । सोही वर्ष धिमाल महोत्सव सञ्चालन गरी होमस्टेको पनि प्रचार प्रसार गरिएको प्रथम नागरिक सामुदायिक धिमाल होमस्टेकाका अध्यक्ष हरिलाल धिमालले स्मरण गरे ।

त्यसपछि डेनमार्क, स्वीजरल्याण्डसम्मका मानिसहरु आएर होमस्टेमा खाने वस्ने गर्ने थाले । तर होमस्टेलाई धिमाल मौलिक घरका रुपमा बिकास, मुख्य सडक क्षेत्रमा बोर्ड सहितको प्रचार प्रसार र तालिमको व्यवस्थापन हुन नसक्दा अलि खस्किदो अवस्थामा पुगेको हरिलाले उल्लेख गरे । ‘तर अबनगरपालिकाले पनि हामीलाई यो बेला प्रथम नागरिक घोषणा गरेर हौसला दिएको छ । अव हामी हाम्रा मौलिक घरहरु निर्माण गरेर यसको प्रचार प्रसारमा जुट्ने योजना बनाइसकेका छौं ।’– आफ्नै घरको होमस्टेमा भेटिएका उनले उत्साहित हुँदै भने । उनले पाहुनका लागि राख्न खरको छानाको मौलिक घर बनाउने र ट्वाइलेट र बाथरुम त्यहीं जोडेर बनाउने योजना सुनाए । ‘हामी यसबेला प्रत्येक दिनजसो होमस्टेलाई व्यवस्थित गर्ने विषयमा बैठक बसिरहेका छौं ।’– उनले थपे । आफुले उत्पादन गरेको धान र सागसब्जीमा पनि प्राङ्गारिक मल, जैविक विषादी हालेर अग्र्यानिक बनाउने सहमति गरिसकेको पनि उल्लेख गरे ।

पूर्वपश्चिम मुख्य सडक अन्तर्गत दमकको ताराबारी चोकदेखि ३ किलोमिटर उत्तरमा छ यो होमस्टे बस्ती । प्रकृतिपूजक धिमाल जातिको पुरानो थात लोमध्येको हो दोघरे । हाल चाँही बढीमात्रामा काठे घर र केही पक्का घरमा होमस्टे रहँदै आएको छ । हरिलालका साथै जय, सतिलाल, नारायण, विजय, अम्वरबहादुर, गणेशकुमार, रुपाली, शान्ति र रतन धिमालको घरमा होमस्टे छ । पहिले प्रत्येक घरमा महिनामा १५,२० जना मानिस पाहुनाका रुपमा आउने गर्थे । तर त्यो संख्या घट्दै गयो । होटलहरु थप व्यवस्थित वन्दै गएको र होमस्टेलाई हामीले थप व्यवस्थित गर्न नसकिरहँदा र प्रचार प्रसारको अभावमा यो अलि ओझेल परेको होमस्टे सञ्चालकमध्येका जय धिमालको बुझाई छ । ‘अव हामी जुर्मुराएर लाग्दै छौं । हाम्रो जातीय सांस्कृतिक पहिचानलाई समेत यसमा जोडेर लान्छौं ।’– उनले भने । उनले आफ्नो जातिय पहिरन, अन्य सरसामानहरु पनि देखाउने हिसावले होमस्टेलाई व्यवस्थित गर्ने वताए । सोही टोलका होमस्टेका अर्का सञ्चालक शान्ति धिमाल भन्छिन् ‘हामीलाई तालिम चाँही धेरै चाहिएको छ ।’

प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि छुट्याइएको छ । त्यहाँ २ वटा बेडको व्यवस्था छ । होटलमा भन्दा सस्तो रुपमा घरायसी खाना खुवाइन्छ । त्यसमा पनि धिमाल जातिको सांस्कृतिक मौलिक खाना चिचिरी, घुँगी, गँगटा, वगिया सहितका परिकार खान पाइन्छ । लोकल कुखुरा, हाँस प्रत्येक घरमा छन् । गाई पनि घर घरमै छन् । दुध, दही पनि खान पाइन्छ । खसी र सुँगुरको मासुको पनि आवश्यकता अनुसार प्रवन्ध हुने गरेको छ । सवै घरमा आफ्नै खेतीपातीको अन्न र सागसब्जी छ । केही न केही फलफुल पनि छ ।

दमक नगरपालिकाले त पहिलो नगरसभाबाटै धिमाललाई ‘प्रथम नागरिक’ घोषणा गरेको थियो । हालै सम्पन्न तेस्रो नगरसभाले उनीहरुका लागि भवन, तालिम, सीपविकास, निर्माण त कोही प्रवद्र्धन कार्यक्रम सहित गरी १५ लाख हाराहारीको बजेट छुट्याएको नगरप्रमुख रोमनाथ ओलीले जनाए । ०७४ असोज ३० गतेको प्रथम नगरसभाले ‘प्रथम नागरिक’ घोषणा दमक नगर प्रमुख रोमनाथ ओलीली होमस्टेलाई व्यवस्थित गर्ने सहितका प्रवद्र्धनात्मक कार्यक्रमका लागि नगरपालिकाले सघाउने योजनै बनिएको जनाए । नगरपालिकाको पशुपंक्षी शाखाले यसबेला धिमाल वस्तीका ४० घरमा २५ वटाका दरले १ हजार वटा लोकल कुखुराको चल्ला प्रदान गरेको छ ।

प्रदेश सरकारसंग धिमाल जातिको प्रवद्र्धनात्मक गतिविधिका लागि गौरवका ५ वटा योजना उल्लेख गरेर संघ र प्रदेश सरकारमा कुरा सम्वोधनका लागि माग गरिएको दमक नगरपालिकाका पूर्व नगर उपप्रमुख लोकबहादुर धिमालले वताए । दमकमा धिमाल संस्कृति संग्रहालयका लागि पर्यटन मन्त्रालयबाट ७० लाख सहित प्रदेश र नगरपालिका समेत गरी १ करोड हाराहारीको योजना बनेको उल्लेख गरे । धिमाल होमस्टे भएकै वडा क्षेत्रमा भ्यू टावर, संसारकै अग्लो बुद्ध प्रतिमा पनि निर्माणका क्रममा रहेकाले पर्यटकीय क्षेत्रका रुपमा सो वडालाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ ।