पूर्वकी रानी भनिने इलाम जिल्लाको माईजोगमाई गाँउपालिकाका जनप्रतिनिधिहरु यतिबेला बजेट विनियोजन सगैँ आर्थिक वर्ष २०७५ /०७६ को बजेटको कार्यन्वयन विकास योजना पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,पर्यटनतर्फ केन्द्रित रहेका छन् । कुल एक सय ७२ वर्गकिलोमिटर क्षेत्रफलमा अवस्थित माईजोगमाई गाँउपालिका इलाम जिल्लाको सबैभन्दा ठूलो गाँउपालिका हो । यहाँको मुख्य आम्दानीको स्रोत कृषि,पशुपालन,व्यापार रहेको छ । यसका साथै नगदेबालीहरुमा अलैँची, आलु, चिया, अम्रिसो, अदुवा लगायत नगदेबाली यस क्षेत्रको आम्दानीको स्रोत रहेको छ । पर्यटनका क्षेत्रमा समेत अग्रता रहेको तर भौगोलिक कठिनाईका कारण ओझेलमा रहेका प्रसिद्ध बालागुरु शिवालयधाम, उत्तरे पोखरी, साततले झरना, सूर्योदयको दृश्यावलोकन गर्न प्रसिद्ध थुम्के डाँडा, मेग्मा तुम्लिङ, दक्षिण एशियाकै दोस्रो महत्वपूर्ण गुम्बा मेग्मा लगायतका धार्मिक पर्यटकीय स्थल भएको ६ वटा वडा रहेको माईजोगमाई गाँउपालिकाका अध्यक्ष जित बहादुर राईसँग ब्लास्टले गरेको कुराकानी प्रस्तुत गरिएको छ ।

बजेट विनियोजन पश्चात अहिले केमा व्यस्त हुनुहुन्छ ? गाँउसभा सकिएसगैँ बजेट विनियोजन पश्चात गाँउपालिकाका विभिन्न योजनाहरुको काममा व्यस्त छौ ।

माईजोगमाई गाँउपालिकाका आर्थिक वर्ष २०७५/०७६ को कुल बजेट कति हो र यसका प्राथमिकताका क्षेत्रहरु केके रहेका छन् ? माईजोगमाई गाँउपालिकाको कुल बजेट ३२ करोड रहेको छ । यसको प्राथमिकताका क्षेत्र भनेको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलाई मुख्य प्रथमिकताका साथ कार्यहरुलाई अगाडि बढाइरहेका छौ ।

माईजोगमाई गाँउपालिकामा कार्य गर्न कत्तिको सहज छ ? नयाँ संरचना भएकाले कतिपय कार्यहरु गर्न अफ्ठ्याराहरु छन् तर अफ्ठ्यारा भएतापनि कार्य गर्नैपर्छ र आफूले जिम्मेवारी लिएर कार्य गरिसकेकाले जिम्मेवारी पूरा गर्नैपर्छ । विभिन्न ऐन नियम बनाउन र दक्ष जाशक्तिको अभावमा चाहिँ केही कठिनाई भइरहेको छ, त्यसकासाथै पनि हामीले सहज ढंगले कामहरुलाई अगाडि बढाउन लागि परिरहेका छौ ।

विकास निर्माणका लागि समस्या र चुनौती के रहेका छन् ? विकास निर्माणको पहिलो चुनौती भनेको बजेट नै हो । आफूले चाहेजति कामहरु गर्नका निमित्त चाहिने जति बजेट विनियोजन गर्न सकिरहेका छैनौं दोस्रो चाहिँ प्राविधिक जनशक्ति अभावबाट कर्मचारी व्यवस्थापनका कुराहरुले गर्दा समस्या र चुनौती छ तर यसका बावजुत पनि हामीले कामहरु गर्दे आइरहेका छौ ।

गाँउपालिकाको मुख्य आयस्रोत के हो ? गाँउपालिकाको आयस्रोत कृषि, वनजंगल, व्यापार, व्यवसाय, जरिबुटी लगायतलाई गाँउपालिकाको आम्दानीको स्रोतको रुपमा लिइरहेका छौ ।

कृषिलाई व्यससायकिरण गर्न के–कस्ता योजना ल्याउनुभएको छ ? कृषिलाई व्यवसायीकरण गर्नुपर्छ भनेर योजना अगाडि बढाएका छौ । गत वर्ष २५ लाख लगानी गरेकोमा यस वर्ष ३७/३८ लाखको बजेट निर्धारण गरेका छौ । कृषिलाई व्यवसायीकरण गर्न कृषकहरुलार्ई आधुनिक कृषि औजारहरु, औषधी, बिउँबिजन र यसको बजारका निम्ति व्यवस्थापन गर्न र कृषिको माध्यमबाट मानिसहरुको जिविकोपार्जन गर्नका लागि र आर्थिक सम्वृद्धि गर्नका निमित्त मजबुत ढंगले व्यवसायीकरण गनुपर्छ भन्ने निती योजनाका साथ अगाडि बढिरहेका छौँ । कृषकहरुले आफूले उत्पादन गरेका बस्तुहरुको सहि मूल्यांकन पाउन् भन्ने योजना निर्धारण गरेका छाैँ । कृषकहरुले उत्पादन गरेका बस्तुहरुले जुन मूल्य पाउनुपर्ने हो सो नपएकाले सहि मूल्य पाउनका निमित्त बजारहरु व्यवस्थित गर्ने जुन किसिमले बिचौलियाहरुले नाफा कमाउने उद्देश्य राखेको छ त्यसलाई हटाएर कृषिलाई आधुनिकिकरण गर्ने लक्ष्य राखेका छौँ ।

युवाहरुलाई स्वरोजगार बनाउन के योजना ल्याउनु भएको छ ? युवाहरुलाई कृषिमा आकर्षित गरि स्वरोजगार बनाउन स्वरोजगार कार्यक्रम ल्याएका छौँ । जस्तै :- युवाहरुलाई व्यवसायी बनाउनका लागि कृषिमा अनुदान दिने, युवालाई स्वरोजगार बनाउने तालिमहरु दिने, युवाहरुलाई सीप कला उपलब्ध गराउने योजना तर्जुमा गरेर युवालक्षित विभिन्न कार्यक्रमहरु अगाडि बढाईरहेका छौँ ।

माईजोगमाई गाँउपालिकाको समग्र पर्यटनलाई कसरी हेर्नुभएको छ ? हाम्रो माईजोगमाई गाँउपालिका पर्यटकीय सम्भावनाले भरिएको क्षेत्र हो । यहाँका साततले झरना,उत्तरे पोखरी,बालागुरु शिवालयधाम,गुम्बा,मेग्मा तुम्लिङमा रहेको दक्षिण एशियाकै दोस्रो महत्वपूर्ण गुम्बा,प्रसिद्ध थुम्के डाँडालाई भ्यू पोइन्टको रुपमा विकास गर्न बजेट छुट्याईराखेका छौँ । यस्ता सम्भावना बोकेका धार्मिक पर्यटकीय क्षेत्रको विकासका निमित्त विभिन्न योजना बनाएर कार्य गरि माईजोगमाई गाँउपालिकाको पर्यटन विकास र यहाँका युवाहरुलाई पर्यटनका माध्यमबाट समेत रोजगारको व्यवस्थापनमा जोडेर सोही अनुसार योजना तर्जुमा गरिरहेका छौँ ।

सडकको पर्वाधारको अवस्था कस्तो छ ? फिक्कल नयाँबजार दुधाङ इलाम जोड्ने बाटो माईजोगमाई गाँउपालिकाको प्रदेश सरकारले गौरवको योजनामा राखेर दुई करोड ३३ लाख बजेट छुट्याईसकेको छ र त्यसलाई भविष्यमा इलाम नगरपालिका,सन्दकपुर गाँउपालिका हुदैँ बाखखोर जोड्ने सडकको रुपमा योजना अगाडि बढाइरहेका छौँ र अहिले स्थानीय सरकार आएको एक वर्ष भएको तर सरकार नआइकन सो बाटो उन्नती कार्यक्रम मार्फत टेन्डरमा परेकाले गाँउपालिकाहरुले लगानी गर्न नमिल्ने भएकाले फिक्कल नयँबजारको बाटो बन्न नसकेको र अब स्थानीय सरकारले लगानी गरि स्तर उन्नति गर्न अगाडि बढ्नाले गाँउपालिकाबासीलाई सहज बनाउन योजना बनाइराखेकाछौँ तर हाल भने बाटो निर्माणधिन अवस्थामा रहेको कारणले असहज परिस्थिति रहेकाले नयाँबजार फिक्कल यातायातका साधन चल्नलाई नै समस्या भइरहेको छ ,तर यसलाई चाडैँ विकास गर्ने लक्ष्य राखेका छौँ ।

चुनाव अगाडि गरेका प्रतिबद्धता पूरा होलान् त ? चुनाव अगाडि जुन प्रतिबद्धता हामीले गरेका थियौँ सम्बन्धित ठाँउ र जनताको आवश्यकतालाई हेरेर विकास निर्माणका,शिक्षा,स्वास्थ्य सम्बन्धि कुराहरु गरेका थियौँ र प्रतिबद्धता पूरा गर्न पाँच वर्षको अवधिमा एक वर्ष वितिसक्दा केही पूरा भएको र नीति योजनालाई थप प्राथमिकतामा राखिएकाले जनताका आवश्यकता पूरा हुनेछ । आर्थिक वर्ष २०७४ /०७५ सालमा ८० प्रतिशत योजना हरु पूरा भएको र प्राविधिक जनशक्तिको अभावका कारण २० प्रतिशत कार्य हुन सकेको थिएन तर यस वर्षको योजना मार्फत सबै कार्यलाई उत्तिकै महत्वका साथ सम्पन्न गराउन लागि परेका छौ ।

माईजोगमाईवासीले गाँउगाँउमा सिहंदरबारको अधिकार पाउन सक्लान् ? गाँउगाँउमा सिहंदरबारको अधिकार पुर्याउन हामीहरु लागि परिरहेका छौँ । गाँउबाट जनताले पाउनुपर्ने सुविधाहरु दिने अधिकार प्राप्त भएको तर नयाँ अभ्यासबाट अगाडि बढ्नु पर्ने कारणले केही दुविदा देखिएको छ तापनि सिहंदरबारको अधिकार जनतासम्म पुर्याउने जनतालाई त्यसको अनुभूति गराउने लक्ष्य योजनाबक साथ कार्य गरिरहेकाछौँ ।