पाँचथर। जिल्लाको याङवरक गाउँपालिका–६, नागिका डम्बर भारतीले २०६८ सालदेखि व्यवसायिक टमाटर खेति सुरु गरे । चार पोपनी जमिनमा गरेको टमाटर खेतिले राम्रो आम्दानी दिन्थ्यो । मूल्य पाएको बेला प्रतिकिलो ७० रुपैंयाँमा पनि बिक्री हुन्थ्यो । टमाटर खेतिबाट भारती मात्र होइन याङवरक र हिलिहाङ गाउँपालिकाका किसानले गतिलै आय आर्जन गर्थे ।
तर करीब एक महिना अघिदेखि टमाटरको निर्यात ठप्प भएपछि भारती सँगै सो क्षेत्रका सयौं किसान निरास बनेका छन् । व्यापारीले नउठाइदिएपछि पाकेको टमाटर बारीमै कुहिएर गइरहेको छ । व्यापारीले उठाइदिने आसमा किसानले सडक किनारामा निकालेको टमाटरले सडकलाई दुर्गन्धित बनाइरहेको छ ।
यहाँ उत्पादित टमाटर पूर्वी नाका काँडकभिट्टा हुँदै भारत निर्यात हुने गरेको थियो । तर भारत निकासी हुने कृषि उपजको सूचिमा नपरेको भन्दै भारतले निर्यात रोकेपछि कृषकको लगानि र परिश्रम बालुवामा पानी जस्तै अवस्थामा पुगेको हो ।
टमाटर निकासीमा रोक लागे सँगै समस्या समाधानका लागि पहल गर्न माग गर्दै किसानहरुको ममूह प्रदेश–१ को सरकार समक्ष पुगे पनि समस्या सुल्झिएको छैन । अहिले किसान निरास र आक्रोशित समेत बनेका छन् । उनीहरुले बिहीबार हिलिहाङ गाउँपालिका–१, भालुभोकमा पोकेको टमाटर सडकमा घोप्ट्याएर सांकेतिक बिरोध समेत जनाएका छन् ।
तत्काल टमाटर निकासी नभए मेची राजमार्गमा यातायात नै ठप्प पार्ने सम्मको आन्दोलन गर्ने किसान चुडामणी बराइलीले आक्रोशित हुँदै भने । जिल्ला कृषि बिकास कार्यालयले याङवरक र हिलिहाङ गाउँपालिकालाई टमाटरको पकेट क्षेत्र घोषणा गरी टमाटर खेतिका लागि किसानलाई प्रोत्साहन समेत दिंदै आएको थियो । कार्यालयको रेकर्डमा पाँचथरबाट वार्षिक करीब साँढे तीन करोडको टमाटर निर्यात हुने गरेको छ । त्यसमध्ये अधिकांश टमाटर याङवरक र हिलिहाङमा उत्पादन हुने कार्यालयले जनाएको छ । तर झण्डै एक महिना देखि टमाटर निर्यात हुन नसक्दा किसान चरम निरासामा छन् ।
किसानहरुले चुनाबको बेला अनेकौं प्रलोभन देखाउदै भोट मागे पनि अहिले किसानको समस्यामा जनप्रतिनिहरु गम्भिर नभएको आरोप समेत लगाएका छन् । हिलिहाङ गाउँपालिका–१, का बहादुर अधिकारीले भने– ‘लगानि डुब्यो, हाम्रो लागि बोलिदिने कोही भएन, अब के गर्ने ?’ बारीमा कुहिएर सकिंदै गएको आफ्नो कमाइलाई टुलुटुलु हरेर बस्न बाहेक कुनै बिकल्प नभएको सोही ठाउँका किसान आइतरानी योङहाङले बताइन् । यता याङवरक गाउँपालिकाका अध्यक्ष लेखनाथ रिमालले भने किसानको समस्यालाई आफूले नजिकबाट महसुस गरिरहेको र समाधानको लागि पहल पनि गरिरहेको बताए । किसानको गुनासो आएपछि निकासीका लागि सम्बन्धित ठाउँमा आफूले पत्र लेखेको तर हालसम्म त्यसको जवाफ नआएको अध्यक्ष घिमिरेले बताए । तत्काल हिलिहाङ गाउँपालिकाका अध्यक्ष सँग समेत परामर्श गरेर किसानको समस्या समाधान गर्न ठोस पहलको काम थाल्ने उनले बताए ।
खाद्य संकट तिम्तिने खतरा : सो क्षेत्रका सबै किसानले मकै र धान फल्ने खेत र बारीमा समेत टमाटर लगाएका छन् । त्यसैले तत्काल टमाटर निर्यात हुन नसके खाद्य संकट निम्तिने खतरा रहेको कृषक प्रकाश उप्रेतिले बताए । चाँडै र धेरै आर्थिक लाभ लिन सकिने भएपछि खाद्यान्न बालीको ठाउँमा पनि किसानले टमाटर खेति लगाएका हुन् । तर टमाटर प्रतिकिलो एक रुपैंयाँमा पनि नबिकेपछि यसले खाद्य संकट निम्त्याउँने खतरा बढेको स्थानीयले बताएका छन् ।
कृषकलाई ऋणको बोझ : फलाएको टमाटर नबिकेपछि यसले किसानलाई ऋणको बोझ समेत हुने भएको छ । विभिन्न वित्तिय संस्थाहरुबाट ऋण लिएर कृषकले मकै र धानको ठाउँमा नगदेबाली टमाटर खेति लगाएका छन् । टमाटर बिक्रीबाट हुने आम्दानिले ऋण तिर्ने सोचमा रहेका किसानलाई ऋण तिर्ने अर्को माध्यम पनि नभएको किसान प्रकाश उप्रेतिले बताए । सम्बन्धित निकायले पहलकदमी गरेर तत्काल टमाटर निर्यातको बाटो नखोले यसबाट धेरै समस्या उत्पन्न हुने उनको भनाई छ ।