चक्रघट्टी । सुनसरीको वराहक्षेत्र नगरपालिका–९ सालबनीमा रहेको जटायु रेस्टुरेन्ट (गिद्धलाई खाना खुवाउने ठाउँ) विश्व सम्पदा सूचीमा रहेर पनि ओझेलमा परेको छ । विश्वमै दुर्लभ र सङ्कटमा परेका गिद्धहरू संरक्षण गर्ने थलो हो जटायु रेष्टुरेन्ट । ०६९ सालमा स्थापना भएको रेस्टुरेन्ट हिमाली प्रकृति संस्था र रामधुनी सामुदायिक वनको सहकार्यमा सञ्चालित छ । प्रचार–प्रसार र व्यवस्थापनका लागि रकम अभावका कारण पछि परेको रेस्टुरेन्टका व्यवस्थापक केदार राई बताउँछन् । व्यवस्थापनका लागि स्थापना कालमा हिमाली प्रकृति संस्थाले ६ लाख ११ हजार र ०७२ सालमा २ लाख ४२ हजार सहयोग गरेको थियो । जिविसबाट ९० हजार र वराहक्षेत्र नगरपालिकाले ५ लाख सहयोग गरेको राईले बताए । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले बजेट विनियोजन गरेको बताउँदै वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनालले जटायु रेस्टुरेन्ट १ नं प्रदेशकै सान रहेकाले यसको संरक्षणमा नगर लागि परेको बताए । यसै आर्थिक वर्षमा रेस्टुरेन्टका लागि ५ लाख बजेट छुट्याइएको खनालले जानकारी दिए । नेपालमा ९ प्रजातिका गिद्धहरु पाइन्छन् । यस रेष्टुरेन्टमा ३ प्रजातिका गिद्ध पाइन्छन् । जसमा स्थानीय (डङ्गर) हिमाली र सुन गिद्ध छन् । सुन गिद्ध ७ ओटा मात्र छन् । हिमाली गिद्ध असोजदेखि मात्र हिमालदेखि यस क्षेत्रमा आउने गर्दछन् र बैशाखदेखि असारको पहिलो हप्तासम्ममा पुनः फर्किने गरेका छन् । ४ वर्ष पूरा भइसकेपछि मात्र गिद्धको प्रजनन हुने गर्दछ । मङ्सिर महिनादेखि गिद्धले गुँड बनाउन शुरु गर्ने भएका कारणले प्रजनन उमेर नभएका ४ वर्ष कम उमेरका हिमाली गिद्धहरु मात्र यस क्षेत्रमा आउने गर्दछन् । १ पटकमा गिद्धले एउटा मात्र अण्डा पार्दछ । कतिपय अण्डाहरुबाट चल्ला निस्कन सक्दैनन् । मङ्सिरमा गुँड लगाउन शुरु गरेर पुषमा मात्र अण्डा पार्दछ भने चल्ला निकाल्न अढाई महिना लाग्छ । ९० देखि १०० दिनमा मात्र उड्ने गर्दछ । यसको आयु ३० वर्षको हुन्छ ।
जटायु रेस्टुरेन्टमा गिद्धको आहाराको लागि शुरुमा १५ ओटा गाई पालिएको थियो । गाईबस्तु मरेपछि उक्त बस्तुको सिनो गिद्धको आहारको रूपमा प्रयोग गरिन्छ । अहिले २२ ओटा गाई छन् । बूढा गाईबस्तु अनुदानका रुपमा यस रेष्टुरेन्टलाई दिने गरिएको छ । बूढा बस्तुहरु मरेपछि मात्र आहारको रूपमा प्रयोग गरिने गरिएको छ । ‘डाइक्लोफोनिक’ औषधी प्रयोग नगरिएका बस्तुहरु मात्र गिद्धको आहारमा प्रयोग गरिन्छ । उक्त औषधी प्रयोग गरेका बस्तुहरु गिद्धको आहारको रूपमा प्रयोग गरेमा गिद्धहरु मर्ने गर्दछन् । रेष्टुरेन्ट शुरु हँुदा ५०–६० ओटाको हाराहारीमा स्थानीय गिद्धहरु थिए । ६–७ ओटामात्र गुँड थियो । अहिले ८०–९० ओटा गिद्ध छन् र १३–१४ ओटा गुँड छन् । स्थानीय गिद्धको बासस्थान रामधुनी र कुशाहा क्षेत्रमा पर्दछ । उनीहरु सिमल र सखुवाका ठूला–ठूला रुखमा गुँड लगाउने गर्दछन् । स्थापना कालमा गिद्धको अध्ययन अवलोकनका लागि आन्तरिक र बाह्य पर्यटक केही मात्रामा आउने गरेका थिए । रामधुनी सालबनी सामुदायिक वनले पिकनिक स्पोर्ट र बोट सञ्चालन गर्ने तयारी गरेको छ । यसले गर्दा जटायु रेस्टुरेन्टमा पर्यटन प्रवद्र्धन हुन सक्ने स्थानीय युवराज गौतम बताउँछन् ।