रङ्गगेली/ आफ्ना सन्तानलाई शुद्ध दुध खुवाउन ल्याएको एक गार्इबाट एउटी महिलाले सुरु गरेको गाईपालन अहिले करोडौको गौशाला परिणत भएको छ । मोरङको कटहरी गाउपालीका वडा–१ मा रहेको मोहन गौसाला रञ्जना चालीसेले १८ वर्ष अगाडी एउटा गार्इबाट सुरु गरेकी हुन् ।

 

माइत र घर नजिकै भएकाले बुवाले बुढेसकालमा दुध आफुलाई पनि हुने र नातिनातिनालाई पनि हुने भन्दै गाई किनिदिन भन्नुभयो र त्यहिबाट गौशाला सुरु भएको चालीसेले बताइन् । उनको माइत विराटनगर –२ मा रहेको छ । गार्इका लागी घाँस हुने बारि भएकोले बुवालाई गार्इ किनि दिए पनि बुढेसकालमा बुवाआमाले गार्इलाई स्याहार्न नसके पछि आफैले पाल्न थालेको चालिसेले बताइन् । जुन आज मोहन गौशालाको रुपमा परिचित छ ।

उनका श्रीमान इन्द्र मोहन ठाकुर मार्केटीङ पेसामा आबद्ध थिए । उनलाई गाई पाल्नु पर्ने कुनै आवश्यकता थिएन । तर उनको एउटा गाइ हेर्न राखेको सहयोगीबाट उत्साबर्धक सहयोग पाए पछि हौसला मिलेकोले गाइको संख्या बढाउदै लगेकी हुन । अहिले उनको गोठमा ८० माउ गाई रहेका छन् । गार्इको स्याहा गर्न ५ जनालाई रोजगरी समेत दिएकी छन् । यद्यपी उनले भैसी पनि पाल्ने प्रयास गरेकी थिइन । तर,भैसीमा भन्दा गार्इमा फाइदा भए पछि गाईमै जोड दिएको बताईन् ।

जिवनको ५० वसन्तापार गरिसकेकी चालीसे श्रीमान र छोराको सहयोग विना यो सफलता सम्भव नभएको बताउछिन् । गार्इको संख्या बढेसँगै उत्पदन भएको दुधको श्रीमानले बजारको व्यवस्थापन गरिदएको कारण उनलाई सहज भएको थियो । यसरी गाईको दुधबाटै घर खर्च समेत चल्ने अवस्था सृजना भए पछि श्रीमानले दुधको बजारीकरणमा समय दिन थालेको उनले बताईन् ।

उनको परिवारलाई गाई पालनको लागी उर्जा दिने तत्कालीन जिल्ला पशुसेवा कार्यालय मोरङका पशु चिकित्सक कुमारसिंह खत्रीलाई विर्सन नसक्ने बताइन् । हरेक अफ्ठ्यारो समयमा खत्रीले उर्जा दिने गरेकोले परिवारलाई नै काम गर्न हौसला मिलेको बताइन् ।

गाई पालनको सुरुको चरणमा उनको घरबाट गौशाला पुग्न आधा घण्टा देखि ४५ मिनेट लाग्थ्यो । गाई विरामी हुँदा रातविरात जनुपर्ने र मधेस आन्दोलन पनि उत्कर्षमा रहेको बेला राति सिंघिया खोला तरेर जान धेरै डरमर्दो भएपछि गाई गोठ छेउमा टहरो बनाए परिवार बस्न थालेको चालीसेले बताइन् ।अहिले गौशालाको कमाइ बाटै ठाकुर परिवारले सोहि ठाउमा घर बनाइ सेकेको छ । उनका तिन सन्तान मध्ये एक छोरा र छोरीको विवाह समेत गराइ सकेकी छन् । उनका तिनै सन्तानले उच्च शिक्षाको अध्ययन पुरा गरिसकेका छन् ।

समय–समयमा हुने गरेको ‘मिल्क होली डे’ बाट जोगिन ठाकुर परिवारले डेरी संचालनको साथै दुधका विभिन्न परिकार समेत बनाउन थालेको हो । आफ्नो र किसानको गरी १६ सय लिटर दुधको व्यवस्थापने गर्ने गरेको छोरा रविन ठाकुरले जानकारी दिए । त्यसैगरी दुधबाट बन्ने सबै प्रकारको मिठार्इ उत्पादन गर्ने गरेको रविनले बताए । विराटनगर –२ को बञ्जरा चोकमा रहेको विक्रिकेन्द्रबाट मिठाइ सँगै दैनिक १४ सय वटा समोसा समेत बिक्री गर्ने गरेका छन् । समोमोसामा पनीरको प्रयोग आफुलेमात्र गर्ने गरेको रविनले दावि गरे । अहिले मासिक सरदर १ लाख सम्म नाफा हुने गरेको बताए ।

२० हजारको लागतमा २ कठ्ठा जमिनमा गार्इ गोठ बनाएर सुरुगरेको अहिले साढे ६ कठ्ठा जमिनमा फैलिएको छ । निकट भविष्यमा १२ कठ्ठा जमिन थपेर कुखुरा र बाख्रा पालन सुरु गर्ने लागेको रञ्जना चालीसेले जानकारी दिइन । उनीहरुले ४ विघा जमिन भाडामा लिएर गाइलाई घास लागाउने गरेका छन् । मेहेनत गरे कृषी कर्मबाट पनि राम्रै जिवनयापन गर्ने सकिने देखर छोराहरुलाई पनि यसै पेसामा लाग्न उत्प्रेरित गरिरहेको चालीसेले बताई । उनले छोराहरुको सहयोगमा व्यवसायमा विविधता सहित बढाएर लैजाने सोच रहेको बतार्इन् । यद्यपी कृषी व्यवसायमा अझै पनि लागानीको लागी भने समस्या रहेको गुनासो गरीन् ।