झुम्का (सुनसरी) । कोही बाँसका सुइरा खुर्किरहेका हुन्छन् त कोही मुढा बुन्दै छन् । कोही भने फर्निचर बनाउँदै हुन्छन् । क्षेत्रीय कारागार झुम्काको दृश्य निकै रोचक लाग्छ । विभिन्न मुद्दामा सजाय भोग्न क्षेत्रीय कारागार झुम्का पुगेका कैदीबन्दीहरू सीपयुक्त भएर घर फर्कंदैछन् । झुम्का जेल अहिले उद्योग जस्दै भएको छ । कैदीबन्दी मध्ये धेरैले कुनै न कुनै सीपमूलक काम गरेर आय आर्जन गरिरहेका हुन्छन् कैदीहरू कैदलाई मिहिनेतसँग साटिरहेका छन् । जेलमा भेट्न पुगेका आफन्तलाई समय दिने फुर्सदसमेत छैन उनीहरूलाई । धेरैले सहज रूपमा अनुमान गर्छन्, कारागार नराम्रो गर्नेहरू सुधार्ने वा बस्ने थलो हो । हो, यहाँको कारागारमा त्यही भएको छ । कारागारमा आएका कैदीबन्दीले केही न केही गरिरहेका हुन्छन् । कैदीबन्दीहरु मासिक पाँच हजार देखि १२ हजारसम्म कमाइ गर्छन् । मिहिनेती र श्रम गर्नेहरु घाम–पानी नभनी श्रम गरिरहेका हुन्छन् । विभिन्न मुद्दामा सजाय काट्न क्षेत्रीय कारागार झुम्का (जेलमा ) पुगेका कैदीबन्दी मुढा बुनेर आर्यआर्जन गर्नेतर्फ आर्कषित हुन थालेका छन् । जेल जीवनलाई आर्थिक उपार्जनसँग जोडिरहेको आशय व्यक्त गर्छन् हुमलाल बिक । कारागार भित्र पनि रोजगारको अवसर पाइएको बताउँदै उनी भन्छन्, ‘मुढा बुनेर आम्दानीको स्रोत बढेको छm मुढा बुन्न नै सहज हुन्छ, यहाँबाट आएको र्दुइचार पैसाले पकेट खर्च चलाउँछु ।’ झण्डै १५ सय भन्दा बढी कैदीबन्दीमध्ये केहीले बाँसका मुढा , हस्तकलाका सामग्री बनाउँदै आएका छन् । केहीले कारागारमै बसेर परिवारको समेत पालन पोषणका लागि आवश्यक रकम आर्जनका गर्दै आएको कारागारका १ नम्बर ब्लकका कैदीबन्दी चौकीदार प्रेम लावती बताउँछन् । ‘अहिले विभिन्न मुद्दामा सजाय कटाउन आएकाहरु व्यवसायिक भएर फर्कने गरेका छन्,’ लावती भन्छन्, ‘जेल सुध्रने ठाउँ मात्र हैन आयआर्जन गर्ने ठाउँका रूपमा पनि विकास भइरहेको छ ।’ कैदीबन्दीलाई कारागारभित्र सीप सिक्नेदेखि आर्यअर्जन गराउने काम भइरहेको कारागारको २ नम्बर ब्लकका कैदीबन्दी चौकीदार खड्ग राई बताउँछन् । मुढा बन्ने पेशामा भने धेरै कैदीहरू लागिपरेको उनी सुनाउँछन् । ‘यहाँ रोजगार गरेर पैसा कमाउँछु भन्दा, कमाउन सक्ने ठाउँ छ ।’ राई भन्छन् । बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म मुढा बुन्नु उनीहरूको दैनिकी हो । झुम्का कारागारलाई देशकै उत्कृष्ट कारागारका रूपमा लिइएकाले सुधारगृह पनि भन्ने गरिएको छ । यहाँका कैदीबन्दीलाई सीप विकास गर्न सके राज्यले सोझै गर्नुपर्ने आर्थिक भारमा समेतमा केही सहुलियत हुने कारागार प्रमुख जेलर गणेश अधिकारी बताउँछन । कारागारमा कैदीलाई जनही दैनिक ६० रुपैयाँ र ७ सय ग्राम चामल उपलब्ध हुन्छ । कैदीहरूले त्यही ६० रुपैयाँले दाल, तरकारी मसलादेखि दैनिक खर्च पु¥याउनुपर्छ । सरकारले उपलब्ध गराउने रकम खर्चको तुलनामा ज्यादै कम भएपछि घरपरिवारबाट रकम तथा अन्य सामान झिकाएर दैनिक गुजारा चलाइहेको अवस्थामा कारागारभित्रै विकास भएको सीपमूलक व्यवसायले धेरैलाई राहत पुगेको छ । ०६६ मा स्थापित हाल प्रदेश १ कै सबैभन्दा ठूलो कारागार झुम्का कारागार पहिलो पटक कैदीलाई कुटेरै मारेको घटनादेखि १२ कैदीले सुरुङ खनेर भागेको घटनाले निर्कै चर्चामा आएको थियो । कारागारलाई सुधार गृहको रुपमा विकास गर्ने सरकारी नीतिलाई व्यवहारिक बनाउने हो भने विभिन्न खाले सीपमूलक तथा सामाजिक शिक्षाको कक्षा समय–समयमा कैदीलाई दिन सके कैदीबन्दीको क्षमता विकास हुने र मनोवृत्ति पनि परिवर्तन हुने देखिन्छ । सजाय भुक्तानपछि उनीहरूको सामाजिक जीवनसमेत सहज र व्यवसायिक हुने देखिन्छ ।