तेह्रथुम । एकै सिजनमा ५० मुरी बढी मकै फल्ने आठराई गाउँपालिका छातेढुङ्गाको तीन चम्के टार (टाहार) बाँझिन थालेको छ । छातेढुङ्गाको अर्चलेमा रहेको १९ रोपनी जमिनको एउटै टार काम गर्ने मान्छे नपाएकै कारण बाँझिने अवस्थामा पुगेको हो । छोराछोरीको पढाइ र शहरप्रतिको मोहका कारण गाउँ छाडेर बाहिरै बस्न थालेपछि जमिन बाँझिन थालेको जग्गाधनी देवी चापागाईंले बताए । ‘उमेर हुञ्जेल आफैँले गर्थेँ, छोराले खेतबारीमा काम गर्ने इच्छै गरेन । अब आफू गर्न सक्दिनँ, काम गर्ने मान्छे पाइँदैनन् ।’ ५६ वर्षिय चापागाईंले भने । टाहारमा धुलौटे जोत्नका लागि पनि कम्तिमा सात हल गोरु लाग्ने गरेको उनले बताए । घरबारी सबै कमाउन दिन्छु भनेर हारगुहार गर्दा पनि कसैले आँट नगरेको चापागाईंले दुःखेसो गरे । ‘पहिले जग्गा कमाउन कसले देला भनेर खोज्दै हिड्न पथ्र्यो अहिले कमाउभन्दा, धेरै भयो कमाउन सक्दिन भनेर जान्छन् ।’ चापागाईंले भने । नेपालमा थापा वंशले राज्य गर्दा थापा राजाहरू सहितको फौजको टोली आएर तीनओटा ‘चम्का’ (चम्को) लगाएर खाना पकाएर खाएको र त्यही जमिनमा पछि खेती गर्न थालिएपछि त्यसको नाम पनि ‘तीन चम्के टाहार’ राखिएको किवदन्ती छ । स्थानीय राम लिम्बूका अनुसार तीन चम्के टाहारको बीचमा अहिले पनि तीन ओटा चम्का रहेका छन् । यहाँबाट करिब दुई किलोमिटरको दूरीमा टुँडिखेल भन्ने गाउँ छ । जसको नाम थापा राजाहरुका फौजीले तीन चम्के टाहारमा खाना र बास बसेर परेड खेल्ने ठाउँको रूपमा राखिएको स्थानीय बताउँछन् । तीन चम्के टाहारसहितको घरबारी चापागाईंले २०६० सालमा किनेका हुन् । त्यसभन्दा अघि यहाँ पाठकहरूको ११ पुस्ताले कमाइ गरेको चापागाईं बताउँछन् । कृषि पेशाप्रति युवाहरूको वितृष्णा बढ्दै जाँदा जिल्लामा खेतीयोग्य जमिन बाँझिने क्रम बढेको हो । त्यसमा पनि बसाइँसराइ, शहरीकरण र बढ्दो शहर मोहका कारण खेतीयोग्य जमिन बाँझिने क्रम बढेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।