इटहरीबाट पश्चिम झरेपछि धरानका कम्युनिस्टहरु हत्तपत्त एक्लै–दुक्लै हिँड्दैनथे । कारण यस्तो थियो– ०४८ को आम निर्वाचनमा गिरिजा पक्षधर मुस्लिम समुदायले इनरुवाको एमाले अतिप्रभावित क्षेत्र सखुवागाछीमा लाठी प्रदर्शन गरे । स्थानीय कम्युनिस्ट लखेट्न प्रयास गरे । यो प्रदर्शनमा काङ्ग्रेसको तर्फबाट नेतृत्व गरेका थिए, महफुज अन्सारीले । उनी अहिले नेकपाका केन्द्रीय सदस्य हुन् । यस्तो भएपछि काङ्ग्रेसलाई प्रतिकार गर्ने जनशक्ति इनरुवामा उपलब्ध थिएनन् । भरौलबाट अखिल पूर्वअध्यक्ष डेडराज खड्का, धरानबाट तत्कालीन अध्यक्ष मनोज मेयाङ्बोहरूले गाडीका गाडी कार्यकर्ता उतार्नुभयो । यदि भरौल र धरानबाट खुकुरी दस्तासहित मद्दत नआएको थियो त त्यो रात इनरुवाका कम्युनिस्ट लास भइसक्थे । काङ्ग्रेसका मान्छेहरू ‘धरानिया एलो, भाग–भाग’ भन्दै राति नै बेपत्ता ! भोलिपल्ट बिहान इनरुवा बजार शान्त थियो । राति लुक्नलाई मधेशा भागेको म बिहानै तत्कालीन पार्टी कार्यालय (इनरुवा–२, शान्तिचौक) पुगेँ । हिजो राति मनोज दाइको ‘खुकुरी दल’ मा इनरुवा आएका एकजना अर्का दाइसित भेट भयो । भन्नुभयो, ‘म तारा सुब्बा । प्ररायु सङ्घमा छु ।’ मैले भनेँ, ‘म अखिलको इनरुवा इलाका कमिटीमा छु ।’

उहाँहरूको झोलामा खुकुरी थियोे । रातभर सुत्नुभएको थिएन । डेडराज र मनोज दाइ त बाराम्बार देखेको नेता । तारा दाइसित चाहिँ पहिलो भेट थियोे । मामाघर धरान भएकाले र धरानकै परिवेशमा हुर्केको कारण मलाई सबै धराने आत्मीय लाग्ने । हामीलाई त्यसबेला ‘प्रत्येक नयाँ सहयोद्धामाथि विश्वास र शङ्का, दुबैको सम्बन्ध राख’ भन्ने प्रशिक्षण दिइएको थियोे । एक त प्ररायु सङ्घ नयाँ र स्थापित नभइसकेको सङ्गठन । त्यसमाथि रातभरको अनिदोले तारा दाइको आँखा राता राता । गुन्डा पो हो कि भन्ने लाग्यो । म जम्मा १५ वर्षको ठिटो । प्ररायु सङ्घका जिल्ला अध्यक्ष धरान, भोटेपुलका मणि लामालाई म चिन्थेँ । उहाँ त्यहाँ हुनुहुन्थेन । डेडराज दाइलाई सोधेँ । ‘गुन्डा होइन, पार्टीकै मान्छे हो’ भन्नुभयो । २०४९ सालमा म अनेरास्ववियुको जिल्ला सम्मेलन आयोजक कमिटीको सदस्य भएँ । मेरो कार्यक्षेत्र इनरुवा । त्यो क्षेत्र भनेको इटहरी पश्चिमदेखि शुरु हुन्थ्यो । हामीले संसदको चुनावमा सुनसरी– १ मा मनमोहन अधिकारीले जितेबाहेक सबै हारेको अवस्था । भर्खरै एक वर्ष अघि काङ्ग्रेसी लखेटेर फर्किएका तारा दाइले एकदिन इनरुवा पार्टी अफिसको फोनबाट मलाई फोन गर्नुभयो, घरको नम्बरमा । ‘विश्व भाइ होइन ?’ मैले भने, ‘हो, तपाईं को ?’ उहाँले ‘म धरानको तारा दाइ, चिन्यौ ?’ भन्नुभयो । ०४६ को परिवर्तनपछि सङ्गठन निर्माणको प्रारम्भिक समय थियोे त्यो । युवा सङ्घ भन्दा अखिलको ‘चार्मिङ’ भएको बेला । त्यसमाथि इनरुवा पश्चिम पार्टी सङ्गठन शून्य प्रायः को अवस्थामा । उहाँ चाहनुहुन्थ्यो, यो काम सँगै गरौं । हामी चाहिँ कुनै स्कुलमा ‘प्राक’ गठन गर्नुअघि त्यहाँ पार्टी नेता, समर्थकका छोराछोरी को–को छन् भनेर पहिला बुझ्ने गथ्र्यौँ । युवा सङ्घका हकमा त्यस्तो सम्भव थिएन । तर, यही प्रयोजनका लागि त्यसबेला म तारा दाइसित मोटरसाइकल चढेर दक्षिणका गाउँ पुगेँ । मसँग साइकल हुन्थ्यो । त्यो पनि पार्टीको, जिल्ला पार्टी कार्यालयमा भएको । पार्टी जिल्ला सचिव भीम आचार्यले चलाउने र मैले चलाउने एउटै साइकल थियो । तारा दाइ युवा सङ्घको जिल्ला अध्यक्ष भएपछि हाम्रो भेग हेर्ने राजकुमार कमरेड हुनुहुन्थ्यो । तारा दाइकै निर्देशनमा अखिल र युवा सङ्घका सङ्गठन विस्तारको संयुक्त अभियानमा हामी लाग्यौँ । तारा दाइ सजिलो मान्छे । कहिलेकाहीँ धरानबाट इनरुवा जान गाडी भाडा भएन भने दिनुहुन्थ्यो । म जब धरान पुग्थेँ, उहाँको एउटै चिन्ता हुन्थ्यो– रक्सी खाएर बिग्रेला भन्ने । धरानमा मेरो मावली खलक एक त काङ्ग्रेस, त्यसमाथि कट्टर जजमानी ब्राह्मण । ‘गोपाल सर (भण्डारी) को भान्जो नि,’ यत्ति भनेपछि तारा दाइ ढुक्क । त्र त्र त्र त्र त्र मैले ०५३ सम्म सुनसरीमा काम गरेँ । त्यसपछि काठमाडौंतिरै छु । तर, हामी जोडिने पार्टी एउटै । काठमाडौं आएका बेला भेट हुन्थ्यो । प्रत्येक भेटमा उहाँको माया, स्नेह मिल्थ्यो । पार्टीमा उहाँ जिल्ला कमिटी सचिवालय सदस्य । म जनसङ्गठनको केन्द्रीय उपाध्यक्ष । वामदेव कमरेडको सचिवालयमा म छु । ०७० को दोश्रो संविधानसभा निर्वाचनमा सुनसरी– १ बाट कृष्णकुमार राईले टिकट पाउनुपर्ने उहाँको सरोकार वामदेव कमरेडसमक्ष राख्न धेरै फोन गर्नुभयो । कृष्णकुमार दाइले टिकट पाएर चुनाव पनि जित्नुभयो । तर, स्थानीय निर्वाचनमा धरानको मेयरको टिकटका लागि उहाँले धेरै लविङ गर्नुपरेन । एक–दुई चोटि फोन गर्नुभयो । तर, लामो केही भन्नुभएन । ‘भाइ, अलिक ख्याल गरौँ हैु’ यत्ति हो उहाँले भन्ने गरेको । टिकट पाएपछि राति फोन गरेर भन्नुभयो, ‘भाइ, धेरै धेरै धन्यवाद । चुनावमा आउनु है ।’ स्थानीय चुनावमा धरान पुगेँ । उहाँ छाताचोकमा घरदैलोमा हुनुहुन्थ्यो । ‘मेरो भाइ, आउन त आएछ है !’ त्र त्र त्र त्र त्र उहाँ ग्राण्डी अस्पतालमा उपचाररत हुँदा म धरानमा थिएँ । अवस्था सामान्य भन्ने खबर थियो । त्यसैले खासै चासो राखिएन । अनलाइनमा खबर हेरेँ, ‘धरानका मेयर तारा सुब्बाको निधन !!!!’ एक छिन आँखा चिम्म गरेर तारा दाइलाई सम्झिएँ । खुकुरी बोकेर इनरुवा आएको दाइ, र प्रकारान्तरमा धरानको नक्षत्र हुँदाहुँदै विलीन भयो । हार्दिक श्रद्धाञ्जली तारा दाइ !!!!!