विराटनगर । मानव स्वास्थ्यलाई अति नै आवश्यक पर्ने पानी विराटनगरमा सञ्चालित अधिकांश उद्योगले मापदण्ड पूरा नगरी सञ्चालनमा गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकिएको मापदण्ड अधिकांश पानी उद्योगले पूरा नगरी सञ्चालन गरेको पाइएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा निस्किएको अनुगमन टोलीले दुई दिन यतादेखि गरेको अनुगमनको क्रममा यस्तो रहस्य फेला परेको हो । आइतबार खाद्य अनुज्ञापत्र र मापदण्ड पूरा नगर्ने विराटनगरका दुईवटा पानी उद्योगमा अनुगमन टोलीले सिलबन्दी गरेको छ । विराटनगर–४ नोवेल हस्पिटलपछाडि सञ्चालित गोमारानी उद्योगले उत्पादन गर्ने ‘निकीगङ्गा पानी र विराटनगर–५ जामुनगाछीमा रहेको पूजा पानी उद्योगमा सिलबन्दी गरेको हो । निकिता श्रेष्ठले एकवर्ष अघिदेखि उत्पादन गर्र्दै गरेको गोमारानी उद्योगले खाद्य अनुज्ञापत्र नलिएको र रामविशाल साहले ३ वर्षअघिदेखि अनुज्ञापत्र नवीकरण नगरेको तथा व्यवस्थित तरिकाले पानी उत्पादन नगरेको देखिएपछि सिलबन्दी गरिएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयल विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बताए । अनुगमनको क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका–१ गङ्गाचौकमा रहेको शुभजल उद्योग र विराटनगर–२ तीनपैनी चौकमा रहेको त्रिपति उद्योगले उत्पादन गरेको श्रीजलले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले तोकेको मापदण्ड पूरा नगरेकोले चाँडै मापदण्ड पूरा गर्न निर्देशन दिएको खाद्य निरीक्षक अर्यालले बताए । विराटनगर–५ हरिहरपथमा रहेको शुभकामना जल उद्योगका सञ्चालक रञ्जिल अग्रवाल अनुगमन टोली आएको थाहा पाएपछि उद्योग बन्द गरेर फरार भएका थिए । खाद्य निरीक्षक अर्यालले भने, ‘मापदण्ड पूरा नगर्ने उद्योगको अनुज्ञापत्र नवीकरण हुने छैन । आउँदो असोजमसान्तसम्म समेत खाद्यले तोकिएको मापदण्ड पूरा नगरेको भेटिए त्यस्तो पानी उद्योग सिलबन्दी गर्नेछौं ।’ आन्तरिक राजस्व कार्यालय विराटनरको समेत टोली रहेको अनुगमनमा चार वटै उद्योगले बिलिङ नगरेको, हिसाब राख्ने खाता नदेखिएको, राजस्व कार्यालयले दिएको ‘करकट्टी’ पष्टरूपमा उद्योगले नराखेको पाइएपछि कारबाही गरेको छ । कर कानूनको पूर्णरूपमा पालना नगरेकोले तिरुपति जल उद्योग, पूजा जल उद्योग, शुभजल र गोमारानी पानी उद्योगलाई जनही ५ हजार र शुभजल उद्योगलाई दुई हजार रुपैयाँ जरिवाना गरेको आन्तरिक राजस्व कार्यालय विराटनगरका कर अधिकृत माधवपसाद दाहालले जानकारी दिए । ‘अनुगमनको क्रममा ४ वटै पानी उद्योगले मापदण्ड पूरा नगरेको भेटिएको छ’ सामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरले भने, ‘जसमध्ये अनुज्ञापत्र बिना सञ्चालित र नवीकरण नगर्ने उद्योगमा सिलबन्दी गरेका छौं ।’ अव्यवस्थित र फोहर देखिएका उद्योगलाई व्यवस्थित र सफा रूपमा सञ्चालन गर्न निर्देशनसमेत दिएको उनले बताए । कात्तिक २२ गतेबाट चैत मसान्तसम्ममा पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ अनुसार पिउने पानी उद्योगको पर्खालमा ५ फिटसम्म मार्बल टायल लगाउनुपर्ने, पानी भर्ने प्लान्ट र गोदाम घर छुट्टाछुट्टै हुनुपर्ने, पानी बोटलमा भर्दा अटमेट्रिकल मेनिफिसल मेसिन, फुड ग्रेड गुणस्तरको स्टिलको पाइप मात्रै उद्योगमा मापदण्ड पूरा गर्न निर्देशन दिएको तर हालसम्म अधिकांश उद्योगले पूरा नगरेको खाद्य निरीक्षक अर्यालले बताए । अनुगमन टोलीले गएको शुक्रबार विराटनगरको कोचाखालमा सञ्चालित एसएसएस जल उद्योगले अनुज्ञापत्र र मापदण्डसमेत पूरा नगरेको भेटिएपछि सिलबन्दी गरिएको थियो । शुक्रबार चारवटा उद्योगमा गरेको अनुगमनको क्रममा विराटनगर–५ विशाल चौकमा पुण्य भट्टराईले सञ्चालन गरेको शान्ति जल उद्योगले मात्र मापदण्ड पूरा गरेको थियो । मन्त्रालयको नेतृत्वमा निस्केको अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्तावादी संस्था पब्लिक फोरम, आन्तरिक राजस्व, वाणिज्य कार्यालय, पानी उत्पादक सङ्घ र सञ्चारकर्मीहरुको उपस्थितिमा पानी उद्योगमा अनुगमन गरिएको थियो । उपसचिव घिमिरेले सामाजिक विकास मन्त्रालयले प्रदेशबासीलाई शुद्ध खानेपानीको सुनिश्चितताका लागि अनुगमन र नियमन शुरु गरेको बताए । जनहितको लागि कार्यक्रम अन्तर्गत जनताको लागि शुद्ध पानीको नियम र अनुगमन भन्ने हाम्रो अभियान हो’ घिमिरेले भने, ‘१ नम्बर प्रदेशभरि शुद्ध पानी आपूर्ति गर्न निरन्तर रूपमा लागिपर्ने छौं ।’ यस्तो छ मापदण्ड पानी उद्योग सञ्चालन गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले विभिन्न मापदण्ड तय गरेको छ । कार्यालयको अनुसार पानी उद्योग सञ्चालन गर्न अनिवार्य रूपमा खाद्य अनुज्ञापत्र लिएको हुनुपर्ने, पानी उद्योगमा ५ फिटसम्म टायल लगाएको हुनुपर्ने, पानी भर्ने र प्लान्ट गर्ने छुट्टाछुट्टै कोठा हुनुपर्ने, पानी उद्योगदेखि शौचालय २० फिट टाढा हुनुपर्ने, पानी खानयोग्य हुनुपर्ने, पानी उत्पादन गरी जम्मा गर्ने स्ट्रिलको हुनुपर्ने र पानी बोटलमा भर्दा अटमेट्रिकल मेनिफिसल मेसिन हुनुपर्नेलगायतको विभिन्न मादपण्ड तय गरेको छ । अब खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले यी मापदण्ड पूरा गरेको उद्योगको मात्र अनुज्ञापत्र नवीकरण र नयाँ खोल्न स्वीकृति दिने गरेको छ ।