ताप्लेजुङ । तीन वर्षअघि अविरल वर्षासँगै गएको पहिरोले ताप्लेजुङको लिवाङ, खोक्लिङ, थिङ्लावु लगायतका क्षेत्रमा ५९ जनाको ज्यान लियो । ७२ परिवार उठिबास भए । आफन्त र घरबार गुमाई विभिन्न ठाउँमा आश्रय लिएर बसिरहेकाहरुको अवस्था अहिले पनि उस्तै रहेको छ । पहिरोमा लिवाङका कुमार गिरीको बाबुआमा, दुईजना भाइ र एक बहिनीको निधन भयो । वैदेशिक रोजगारीमा रहेकाले उनी बाँचे । तर, परिवारै गुमाएका उनको खुसी अझै फर्कन सकेको छैन । हाल उनी फुङ्लिङ नगरपालिका–३ मेदीबुङमा साहुको जग्गा अधियाँ कमाएर दैनिकी चलाउँदैछन् । उनी भन्छन्, ‘पहिरोले घरबार र परिवारविहीन बनायो, दुःखै दुःखमा दिन कटाइरहेको छु ।’ लिवाङकै बुद्धिमान लिवाङले पनि पहिरोमा छोरा बुहारी गुमाए । भागेर बाँच्न सफल भएका उनको पनि घर खेत सबै बग्यो । खोक्लिङका भक्त कार्कीले लिवाङसहित अरु केही विस्थापितलाई आफ्नो बारीमा शरण दिएका छन् । मानवीय क्षति नभए पनि विस्थापित नरमाया घिमिरेको पाँच जनाको परिवार फुङ्लिङ नगरपालिका–२ तारिबुङमा मजदुरी गर्दै गुजारा चलाइरहेको छ । अर्का पीडित तिलविक्रम तिवारीले ८० वर्षकी वृद्धआमा र बालबालिकालाई सदरमुकाममा सुरक्षित ठाउँमा राखेका छन् । पहिरोले अलिकति बचेको ठाउँमा उनी आफू भने जोखिम मोलेरै बसिरहेका छन् । ‘यहाँ बाहेक अन्त कतै एउटा सुर्को बारीसम्म छैन’ तिवारी भन्छन्, ‘बचेको थोरै ठाउँमा तरकारी फलाएर वृद्ध आमा र बालबालिकाको पालन–पोषण गरिरहेको छु ।’ ‘सरकारले केही गर्ला कि भनेर आशा गर्नु पनि बेकारै रहेछ’ मेरिङ्देन गाउँपालिका–५ थुकिमाका अष्टबहादुर सिवाले भने, ‘पानी पर्न थालेपछि सबैजना भेला भएर जाग्राम बस्छौं, जाने गइहाले, हामी जोगिएकालाई जिउनै हम्मे छ ।’ विस्थापित ७२ परिवारहरु आजसम्म अर्काकै शरणमा बसिरहेका छन् । तात्कालीन अवस्थामा सङ्घ –संस्थाले दिएको सहयोग र सरकारले मृतक परिवारलाई दिएको ४० हजारबाहेक पीडितले केही पाएका छैनन् । सरकारले पहिरो पीडितको लागि पटक–पटक विशेष व्यवस्था गर्ने भनेको छ । त्यस बेला केपी ओली नेतृत्वको सरकारले बजेट वक्तव्यमै ताप्लेजुङका पहिरो पीडितलाई विशेष व्यवस्था गरिनेछ, भने पनि घोषणामै सीमित भयो । एक वर्षअघि कञ्चनजङ्घा हीरक महोत्सव उद्घाटन गर्न आएका तात्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालले पनि विशेष व्यवस्था नै गर्ने भने । तर अहिलेसम्म पनि आफूहरु सोही विशेष व्यवस्थाको पर्खाइमा रहेको अर्का पीडित अर्जुन तिवारी बताउँछन् । ‘पहिरो गएपछि बनेका प्रत्येक सरकारले विशेष व्यवस्था गर्ने भन्न छाडेनन्, तर त्यो विशेष भनेको के हो ? थाहा छैन’ तिवारी भन्छन्, ‘हामीलाई आश्वासन दिएर झुक्याउने काम मात्रै भइरहेको छ ।’ गतवर्ष सम्पन्न तीनवटै तहको चुनावमा उम्मेदवारहरुले समस्या समाधान गर्ने आश्वासन दिएको तर अहिलेसम्म पहल नभएको तिवारीले बताए । पीडित परिवारले भूकम्प पीडितले पाएसरह घरघडेरीको व्यवस्था र घर बनाउनका लागि सहुलियत ऋणको व्यवस्था गर्न माग गरेका छन् । ‘हाम्रो पीडा भूकम्प पीडितभन्दा धेरै छ’ पहिरो पीडित समितिका अध्यक्ष गोपी अधिकारीले भने, ‘सहुलियतमा ऋण पाए खुट्टा टेक्न सक्ने थियौं ।’ पीडितहरुको माग सम्बोधनका लागि गाउँपालिकाको आगामी वर्षको बजेटमा योजना बनाइने मिक्वाखोला गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिवाङले बताए । ‘उहाँहरुको अवस्था दयनीय छ’ लिवाङले भने, ‘अहिले स्थानीय सरकार बजेट निर्माणमा जुटेकाले कम्तिमा पनि पुनर्वासको लागि बजेट विनियोजन गर्छौं ।’ उता मेरिङ्देन गाउँपालिका प्रमुख गणेशबहादुर लिम्बूले पनि थिङ्लाबु, सान्थाक्रा र लिङ्तेपका बाढी पहिरो प्रभावितको माग सम्बोधनका लागि गम्भीर रहेको बताए । ताप्लेजुङ लगातार पहिरोले दुःख दिइरहने जिल्लामा पर्छ । २०७३ भदौ २७ गते फुङ्लिङ नगरपालिकाको वडा नं. ७ र ८ मा पहिरो जाँदा दुईजनाको मृत्यु र १६ परिवार पूर्ण घरबारविहीन भएका थिए ।