‘पछुतो कहिल्यै हुँदैन चिता वा चिहानलाई मान्छेलाई खरानी पारेको वा पुरिएकोमा । पछुतो तिनीहरुलाई हुन्छ, जसले चिता वा चिहानमा चढेको मान्छेप्रति आफूले गरेको कुव्यवहार सम्झेर चिता वा चिहान अगाडि उभिएको हुन्छ ।’ अलिकति खेत भोलि रोप्न भनेर आजै खनजोत गरी रोप्न ठिक्क पारी सकेर हातगोडा धोएर यसो पुस्तक हेर्न के लागेको थिएँ मोबाइलमा घण्टी बज्यो । मैले नचिनेको नम्बर थियो । चिनेको होस् वा नचिनेको जसको भए पनि म फोन उठाउँछु । मैले फोन उठाएँ । हेलो दाइ .......... सञ्चै हुनुहुन्छ ? ठीकै छु । धरानको केही खबर थाहा पाउनुभो ? त्यहाँ त नराम्रो भएछ नि ......... । यमजी को स्वरले भन्यो । मलाई शङ्का लागिहाल्यो, पक्कै धरानकै मेयरको बारेमा कुरा गरेको हुनुपर्छ । यमजी त्यहाँ के भएछ हँ ? ताराजी त बितेछन् नि हौ । ला ..... मलाई धरानको खबर भन्ने बित्तिकै यही लागेको थियो । त्यही भएछ । फेरि मनमनै सोचें कस्तो अभागी रहेछ धरान । एउटा सुन्दर सपना बुन्दै थियो जुनबेला धरानले, एउटा विश्वास जाग्दै थियो धरानबासीहरुमा । त्यो सपना त्यो विश्वास आज मुर्झाएको छ । थुप्रै काम गर्ने लक्ष्य बनाएका थिए उनले । धरानका विकासका कति योजना बाहिर आउनै नपाई उनीसँगसँगै गएका छन् । कति बाहिर त आए तर तिनीहरु पनि बेवारिसे हुने सम्भावना धेरै बढेको छ । त्यसको कार्य सम्पादन पनि उनीसँगै गएको छ । मैले सोधेँ –मेयरको शव कहाँ छ त ? यमजी ले उत्तरमा भन्नुभयो– काठमाडौंमा । साथीहरु छलफल गर्दैछन् के गर्ने भन्ने टुङ्गो भरेसम्ममा लाग्ला । त्यसपछि म के हुन्छ तपाईलाई खबर गर्छु भन्नुभएको थियो । तर अहिलेसम्म केही खबर गर्नुभएको छैन । त्यसपछि मैले मोबाइल खोलेर हेरेँ । धेरै जनाबाट समवेदना व्यक्त भएको समाचार आइरहेको थियो । देशको प्रधानमन्त्री, प्रदेश १ का प्रदेश प्रमुखसम्मका समवेदना आइसकेका रहेछन् । एकछिनपछि फेरि मोबाइलको घण्टी बज्यो .............यसो हेरेको मुरारी सुवेदीको रहेछ । हेलो .......धरानको........... भन्ने बित्तिकै मैले थाहा पाएँ भने । अब अरु कहाँ के गर्ने हो भन्नुहोला भनेँ । मनमनै सम्झेँ भरखर वडा नं. ७ का वडाअध्यक्षको निधनले शोकमा रसाएका आँखाहरु ओभाइसकेकै थिएनन्, फेरि अर्को बज्रपात परेको छ । किन लगातार धरान शोकले अनिदो बस्नु परेको ? नियति पनि कस्तो कहिलेकाहीँ त एकैठाउँ बारम्बार बज्र प्रहार हुन्छ ? खप्नलाई पनि गाह्रो हुने जस्तो ? तर मानिसलाई नै यस्तो समस्या आइपर्छ । मानिसले नै खप्नुपर्छ ती समस्याहरु ? ढु¨ालाई आउँदैन त्यसले आँशु पनि झार्नु पर्दैन ।
मैले अलिकति विगतलाई सम्झन चाहेँ– दुईहजार ४०–४१ सालतिरको कुरा हो । भिमानमा ऋषि देवकोटाको हत्या गराएपछि रामकृष्ण पन्त सुनसरीको सिडिओ भएर आएका थिए । उनले सुनसरीमा मण्डलेहरुकै आतङ्क मच्चाए । धरानमा केही मण्डलेहरुलाई लिएर प्रत्येक क्याम्पसमा गुण्डा परिचालन गरेका थिए । त्यसैबेला महेन्द्र क्याम्पसमा गुण्डा लगाएर त्यहाँका स्ववियु सभापति चन्द्र राई, लक्ष्मी उप्रेती, रमेश बस्नेतलाई पिटेका थिए । त्यसमा पनि स्ववियु सभापतिलाई मरणासन्न हुनेगरी कुटेका थिए । चन्द्र राई पहिले हात्तीसार क्याम्पस पढ्थे । पछि विद्यार्थी राजनीतिकै लागि महेन्द्र क्याम्पसमा भर्ना भई स्ववियु सभापति बनाइएको थियो । पार्टीले जिम्मेवारी दिएर मोर्चामा पठाएको आफ्नो कमाण्डरमाथि यति ठूलो हमला भएपछि तात्कालीन त्यहाँको पार्टीले प्रतिकारको योजना बनाएको थियो । त्यसमा तारा सुब्बाको अगुवाइमा रेवत राईलगायत विद्यार्थी अगुवाहरुको एउटा कमाण्ड बन्यो । २०४१ देखि नै उनको यो भूमिकाको बारेमा चर्चा गर्दा न्याय नै हुन्छ भन्ने लागेको छ । यसरी विद्यार्थी राजनीतिबाट आफ्नो यात्रा शुरु गरेका तारा सुब्बाले आफ्नो विद्यार्थीकाल सकेपछि युवा सङ्घ नेपाल सुनसरीको जिम्मेवारी सम्हाले । सुनसरी जिल्ला कमिटीको अध्ययक्षको दुई कार्यकालपछि युवा सङ्घ नेपालको केन्द्रीय सदस्य बनेका थिए । उनले त्यहाँ पनि दुई कार्यकालसम्म नेतृत्व गरे । उनी जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि राम्रो गरेर नेतृत्व दिन सफल भएका थिए । शुरुमा उनीसँग मेरो बाक्लै सम्पर्क थियो । तर पछि मेरो कामको मोर्चा परिवर्तन भएयता उनीसँग सम्पर्क पातलिएको थियो । फेरि परिस्थितिले हामीलाई एकै ठाउँमा काम गर्ने अवसर जुरायो । तारा सुब्बा तात्कालीन धरानको नगर कमिटीको सचिव भएयता पहिले मैले भेटेको तारा सुब्बा जोसँग जोस थियो । आफ्ना अगाडि जस्तोसुकै अवस्था आए पनि त्यसलाई छिमल्ने मामिलामा त्यो युवा जोस न कुनै कूटनीतिको आवश्यक ठान्यो न कुनै अनौपचारिक संवादको आवश्यकता ठान्थ्यो । जे ठीक हो, त्यसलाई जसरी भए पनि निर्णय गरेर अगाडि लिएर जानुपर्छ भन्ने दृढ सङ्कल्पित थियो । शत्रुहरुसँग कुनै पनि सवालमा झुक्नु हुँदैन । उनीहरुलाई कहिले पनि मौका दिनु हुँदैन भनेर आफ्नो निर्णयमा अडिग रहने तारा पछिल्लो समयमा पार्टीकोतर्फबाट नगरपालिकाको संयन्त्रमा पुगेपछि हिजोको तारा सुब्बा पूरै बदलिएका थिए । जोसँग अब पूर्णता आएको थियो । साँच्ची नै राजनीतिज्ञ भएका थिए । उनको बोलीको लवज हिजोकै थियो । तर शैलीमा सुधार आएको थियो । शब्दहरुलाई आवश्यक कूटनीतिक हिसाबले प्रयोग गरेका थिए । तारा सुब्बासँग भेटघाट र सँगै काम गरेको केही अनुभव राख्न चाहन्छु । धरानको महेन्द्र क्याम्पसमा बुद्धिजीवीहरुको एउटा भेला बोलाइएको थियो । त्यो बेलामा नगर कमिटीको हैसियतमा तारा पनि आएका थिए । त्यहाँ मलाई बोलाउनुभन्दा पनि मैले नै त्यो कार्यक्रम आयोजना गर्न लगाएको थिएँ । त्यो भेला गर्नुको मुख्य उद्देश्य थियो, देशमा विभिन्न जातीय सङ्गठनहरुले जातीय बितण्डा मच्चाइरहेका थिए । अर्को राष्ट्रियताको पक्षमा जनमत सृजना गर्नुपर्ने आवश्यकता थियो । अब गाउँ–गाउँमा गएर जातीय सद्भाव भड्काइरहेका थिए । तराई मधेसमा जातीय विभेद बढिरहेको थियो । यस्तो परिस्थितिलाई बदल्ने उद्देश्यका साथ बुद्धिजीवीहरुलाई भेला गरेर बुद्धिजीवी मार्फत् नै जातीय समवेदनालाई र विविध जातिको एकतालाई पुनस्र्थापित गर्न र जातीय सद्भाव बढाउन बुद्धिजीवीहरुलाई परिचालन गरी भेला, गोष्ठीका साथै लेख, रचना तयार गरी जातीय एकताको पक्षमा र राष्ट्रिय एकताको पक्षमा लगाउने उद्देश्यले बुद्धिजीवीहरुको भेलाको आयोजना गर्न लगाइएको थियो । यसको मूल उद्देश्य उल्टो दिशातिर बग्न लागेको समाजलाई सुल्टो दिशातिर फर्काउनु नै थियो । यसरी देशव्यापी रूपमा बुद्धिजीवीहरुलाई परिचालन गर्ने कुरा अनौपचारिक रूपले पार्टीका जिम्मेवार नेताको छलफल भएको आधारमा भेला आयोजना भएको थियो । तर त्यहाँ बुद्धिजीवी साथीहरुले विषय अन्तर गर्दै आ–आफ्ना विषयहरु प्रस्तुत गरेका थिए । केही साथीहरुले नगरकमिटी अध्ययक्षलाई नगरपालिकामा शिक्षा क्षेत्रलगायत कतिपय विषयहरुमा राम्रै गरी आलोचना गरेका थिए । साथीहरु हामीले पाएका स्थानलाई किन काङ्गे्रसको हातमा दिनू, किन हामीले हाम्रा विषयहरु राख्न कमजोरी ग¥यौं, यो नगरकमिटी के हेरेर बसिरहेको छ भनेर प्रश्न गरेका थिए । त्यो आलोचना सुनिरहेका तारा सुब्बाले आफ्नो बोल्ने पालोमा यसरी आफ्नो कुरा राखेका थिए । उनले भने अहिले यो नगरपालिकामा हामी मात्र छौनौं । हामीले अहिले कोहीसँग मिल्न सकिन्छ भने केही साना पार्टीहरुलाई आफ्नो पक्षमा ल्याएर मिलाएर लिएर जानको लागि तिनलाई पनि केही लोभ देखाउनै प¥यो । उनीहरु हाम्रो विरुद्धमा नलाग्नको लागि अर्को ठूलो शक्तिलाई साथ नदिउन् भन्नका लागिे केही कुरा दिएर भए पनि हाम्रो पक्षमा ल्याउनु राम्रो हो । अहिले नगरकमिटीले त्यही गरिरहेको छ । बुद्धिजीवी साथीहरु तपाईहरुको अहिलेको काम भनेको खाली आलोचना मात्रै गरेको देखिएको छ । कहिले बसेर काममा सहयोग गर्ने सुझाव दिने अप्ठ्यारो परिस्थितिमा सघाउने कुनै पनि काम भएका छैनन्, प्रशिक्षण दिने केही पनि काम गरिरहनु भएको छैन । बुद्धिजीवी साथीहरु कलेजमा विद्यार्थीहरुलाई पढाउने, एउटा मात्र होइन ३–३ ओटा कलेज भ्याउने गर्नुहुन्छ र पार्टीको काममा कहिले सघाउने गर्नुहुन्न खाली आलोचना मात्र गर्नु हुन्छ । काम नगर्नेले आलोचना गर्नु पनि हुँदैन भनेका थिए । साँच्ची नै बुद्धिजीवीहरुको आम चरित्र पनि त्यही हो । यसरी भएको यो भेटपछि तारा र मेरो पुरानो सम्बन्ध फेरि गाँसिएको थियो । उनी र म पहाडको पनि एउटै गाउँको भए पनि हाम्रो सम्बन्ध दाजु भाइको थियो । कहिलेकाहीँ म उनलाई होइन हौ अरे यो लिम्बू केटो के गर्दै छ भन्थेँ । उनले पनि यो बाहुन दाइले के के अह्राउँछ र सिकाउँछ मेरा नेता दाजुले भनेको त कता पो हराइजान्छ अरे नि भन्थे । मैले उनलाई महेन्द्र बुढाथोकीको तेह्रांै दिनको श्रद्धाञ्जली सभामा भेटेको थिएँ । त्यो कार्यक्रममा हामी दुवैजनाको मन्तव्य रहेछ । त्यो दिन ताराले भनेको एउटा कुरा म अहिले पनि सम्झिरहेको छु– अहिले हाम्रो पंक्तिमा यी बूढाहरुले के जानेका छन् भनेर बूढाहरुको अवमूल्यन हुने गर्छ । यो नितान्त घातक कुरा हो । हाम्रो इतिहासको जन्म यिनै बूढाहरुले दिएका हुन् । आज हामी जहाँ उभिएका छौं, त्यो ठाउँमा महेन्द्र बुढाथोकी, छविलाल लम्साल, कृष्णप्रसाद श्रेष्ठ (बी. ए.), दलबहादुर छाया र निर्मल गिरी जस्ता क्रान्तिकारीहरुले परिवर्तनको चिराग सल्काएका थिए । उनीहरु नभएको भए अहिले हामी कहाँ हुने थियौं भन्दै त्यो पुरानो पुस्तालाई हामीले संरक्षण गर्नु पर्छ । उनीहरुको योगदानबाट हामीले हाम्रो मार्ग तय गर्नुपर्छ । उनीहरु हाम्रा धरोहर हुन् । उनीहरुको छहारीमा हामीले शितल ताप्न जान्नु पर्छ भनेका थिए । कार्यक्रम सकिएपछि शङ्कर घिमिरेले तपाईको व्यक्तिगत जीवन चैं कस्तो छ नि भनेर सोधेका थिए । मैले मेरो व्यक्तिगत कुरा सुनाएँ । त्यसैबेला तारालाई बोलाएर शङ्करले मेरो छेउमा ल्याएर तपाई दुवैको एउटै समस्या रहेछ, यसको समाधान कसरी हुनसक्छ बसेर छलफल गर्नुहोस् र समाधानको उपाय निकाल्नुहोस् । मैले तारालाई सोधेँ, तपाईको किड्नीको अवस्था के छ ?’ उनले निेकै अप्ठ्यारो भएको बताए । हात, खुट्टा, अनुहार सुन्निएको थियो । अब यसको एउटा मात्र उपाय किड्नी फेर्नुमात्र हुन्थ्यो । मैले त्यसको तयारीमा जुट्न भनेँ । उनले मेरा बारेमा पनि सोधे । मैले जवाफमा सुधार हुँदै गरेको अवस्था बताएँ । उनले बूढीऔंला ठड्याएर दाजु तपाईको त ठीक भैसकेछ । गुड् । म केहीदिनमा दिल्ली जाँदैछु भनेका थिए । केही दिनपछि उनी दिल्ली जान लागेको बेलामा तात्कालीन नेकपा (एमाले)का उपाध्यक्ष विद्या भण्डारीलाई तपाईले दिल्ली हस्पिटलमा भनिदिनुप¥यो भने । मैले पनि भनिदिएँ । दिल्ली जाने बेलामा मलाई भेट्नु, म त्यहाँको हस्पिटललाई भनिदिन्छु भनी विद्या भण्डारीले भन्नुभएको थियो । मैले साथीहरुलाई त्यही कुरा भनिदिएँ । यहाँ सबैकुरा मिलाएर त्यहाँ गएको हुनाले समयमै मृगौला फेर्ने काम सफलतापूर्वक सम्पन्न भएको थियो । लामो समय उपचार गरिरहेका उनलाई हामी सबैले स्वास्थ्यलाभको कामना ग¥यौं । उनी निको भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत सुरक्षा क्षेत्रमा काम गर्ने मजदुरहरुको आन्दोलनमा भेट भएको थियो । समस्या समाधानसम्बन्धी छलफलमा अरुका लामा–लामा कुरा सुनेर बसेका उनले नबोलौं भन्दाभन्दै बोल्नुप¥यो भनेर आफ्ना कुरा यसरी राखेका थिए । मजदुर साथीहरु माग तपाईहरुको हो, त्यो पूरा हुँदा तपाईहरुले पाउने हो । अब त्यो माग पूरा गर्ने जिम्मा पनि तपाईहरुको हैन र ? तर म यहाँ देखिरहेको छु, तपाईहरुको माग पूरा गर्न सिङ्गो पार्टी उत्रिनुपर्ने, अनि त्यही पार्टीले माग पूरा गरिदिनुपर्ने, अनि तपाईंहरुले त्यो उपलब्धि बसेर खाने यस्तोखाले आन्दोलन गर्न सकिँदैन र गर्नु पनि हुँदैन पनि भन्दै आफ्नो विचार प्रष्ट राखेका थिए । मुलुकमा गणतन्त्र प्राप्त पछिको पहिलो निर्वाचनले मुलुकलाई सङ्घीयतामा लग्यो । पहिलो स्थानीय निर्वाचनमा धरान उपमहानगर पालिकाको लागि तारा सुब्बालाई मेयरको उम्मेदवार बनाइयो । धरानका जनताको विश्वास जितेर मेयर भएका तारा सुब्बा धराने जनताका प्रियपात्र पनि बन्दै थिए । स्पष्ट वक्ता उनी धरानलाई नेपालकै पहिलो नमुना नगरपालिका बनाउने योजनामा लागेका थिए । उनले तयार गरेका केही योजना यहाँ उल्लेख गर्दा सान्दर्भिक हुन्छ भन्ने ठानेको छु । लामो समयदेखि निर्णय भएको तर काम भने नभएको बसपार्कलाई यसपालि जसरी पनि काम पूरा गर्ने र सम्पूर्ण बस त्यहाँ राख्ने योजना थियो । अर्को योजना थियो बाईपास सडक निर्माण गर्ने । जसका लागि बजेटसमेत छुट्याएका थिए । सङ्घीय सरकारले अहिले किमाथाङ्का–जोगवनी सडकलाई तीव्रता दिएको छ । यो योजनालाई सहयोग पुग्ने गरी बाईपास सडकको त्यतिकै आवश्यकता पनि छ । अहिले जसरी धरानको मध्यभागबाट सडक गइरहेको छ, यो सडकले अबको आवश्कतालाई पूरा गर्न सक्दैन । त्यसको आवश्यकता पूरा गर्न सडकलाई फराकिलो बनाउनु आवश्यक छ । यदि त्यही ठाउँबाट आवश्यकता पूरा गर्न यसकारण सकिँदैन कि धरान मूल बजारका दुवैतिरका धेरै घरहरु भत्काउनु पर्ने हुन्छ, त्यसले ठूलो नोक्सानी गर्छ । त्यसैले बाईपास सडक अहिलेको अनिवार्य आवश्यकता हो । धरानमा लामो समयदेखि समस्याको रूपमा देखिएको खानेपानी समस्या हो । धरानमा जहिले पनि फागुनदेखि असारसम्म खानेपानीको हाहाकार नै हुन्छ । बसोबासको हिसाबले हेर्दा वर्षेनी धरानमा ठूलो संख्याको रूपमा मानव बस्तीको विकास भएको छ । त्यसैअनुसार खानेपानीको व्यवस्था गर्नु अनिवार्य आवश्यकता हो । त्यो समस्यालाई पूर्णरूपले समाधान गर्ने उद्देश्यले मेयर तारा सुब्बा यो सिङ्गो नगरपालिका खानेपानीको व्यवस्था गर्न लागेको थियो । खानेपानीको ट्याङ्की राख्न पञ्चकन्यामा खन्ने काम पनि शुरु हुँदै थियो । तर त्यहाँ केही धरानसँग सरोकार नभएका मानिस र धरानकै केही जनताप्रति संवेदनशील नभएका तत्वहरुले त्यो काममा ठूलो अवरोधको सृजना शुरु गरे । मेयर तारा सुब्बालाई तिनीहरुले गाली गर्दै यहाँ तारा सुब्बाले आफ्नो चिहान खन्दै छ भनेका थिए । यसरी भएको अवरोधका कारण धराने जनताहरुले फेरि पानीको समस्या समाधान हुन ढिलो हुने सम्भावना देखिन्छ । यसरी अवरोध गरिरहे पनि खानेपानीको समस्या समाधान गरी धराने जनतालाई स्वच्छ खानेपानी दिने मेयरको अठोट थियो । उनले भन्ने गरेका थिए– मलाई यो राम्रै काम गरेको छु भन्ने लागेको छ । यो मेरो व्यक्तिगत मेरो लागि गरेको थिएन । यो मैले धराने जनताको लागि गरेको हुँ । तर नराम्रो गरी गाली मैले खाएको छु । अब पर्यटन क्षेत्रको बारेमा कुरा गरौं– पहिलो त इलाम नगरपालिका र धरान उपनगरपालिका बीचमा संयुक्त कामको थालनी गर्न शुरुवात गरेका थिए । जसले धरान र इलामलाई सहजै जोड्ने गरी धरान र इलामबीचको चुरेक्षेत्रमा पर्यटकीयस्थल निर्माण गर्ने गरी सहकार्य शुरु गरेका थिए । अर्को धरान बजारको मध्यभागको बाटोमा रेलिङ्क बनाई त्यसपछि गमला राखिएको छ र त्यहाँ फूल रोपिएको छ । पाँच वर्षभित्रमा धरानलाई पूर्ण फूलबारीको शहर बनाउने लक्ष्य राखिएको थियो । त्यस्तै बहुजातीय सङग्रहालय निर्माण, स्विमिङ पुल, शहीदपार्क र हरियाली धरान इनको लक्ष थियो । धरानमा लामो समयदेखि कचल्टिएको सुकुम्बासी समस्या थियो । त्यसको लगत तयार गरी धरानमा भएको ऐलानी पर्ती जमिनमा सुकुम्बासीलाई बसोबास गराउने काम लगभग टुङ्गिएको छ । बाँकी रहेको धनीपुर्जा वितरण यसै साल सक्ने लक्ष थियो । यो कामको थालनी उनी मेयर भएपछि नै भएको थियो । अन्तमा तारा सुब्बाको आगामी ५ वर्षको काम धरानलाई नेपालको नमुना शहर बनाउने उनको योजना थियो । ती सबै योजनाको कार्यान्वयन गर्दै धरान एउटा पूर्वको पर्यटकीय क्षेत्र बन्ने अब्बल दर्जाको खेलकुद मैदान साहित्य र कला क्षेत्रलाई अगाडि बढाउन साहित्य कला प्रतिष्ठान निर्माण गर्ने उनको सपना थियो । यो सपना धरानको हो । अब बाँच्नेहरुले तारा सुब्बाको शोक मनाइरहँदा सम्पूर्ण नगरवासीहरु शोकलाई शक्तिमा बदलेर अगाडि बढ्नु नै तारा सुब्बा माथि साँचो श्रद्धाञ्जली ठहर्नेछ । हामी सबैले सम्झौं– तारा सुब्बा एकजना व्यक्तिमात्र थिएनन् । उनी धरानका अभिभावक थिए । धरानका पिता थिए । जहिलेसम्म धरान रहिरहन्छ । त्यतिन्जेलसम्म उनको सम्झना रहिरहन्छ । अहिले कसैले पालो पर्खेर बस्ने बेला होइन । पालोमा उभिने बेला पनि भएको छैन । पहिले धरानका सबै एकजुट होऔं र ताराले छोडेर गएका सबै काम पूरा गरौं र धरानको भविष्य उज्वल बनाऔं । उनीप्रतिको सच्चा श्रद्धाञ्जली यही हुनेछ ।