
ताप्लेजुङ । दुई वर्ष अघि ताप्लेजुङ पापुङकी ४० वर्षिय पेमा शेर्पालाई सुत्केरी व्यथाले च्याप्यो । तीन दिनदेखि सुत्केरी बेथाले च्याप्न थालेपनि सदरमुकाम ल्याउन सम्भव नभएपछि शेर्पाको उपचारको लागि काठमाडौबाट मनाङ एयरको हेलिकोप्टर चार्टर गरियो । तर, खराब मौसमका कारण पटक–पटक हेलिकोप्टर ल्याण्ड गर्न भएपनि मौसमका कारण हेलिकोप्टर ल्याण्ड गर्न सकेन । र पेमाको ज्यानै गयो । यसरी पेमा जस्तै अकालमै ज्यान गुमाउन बाध्य भैरहेका छन् दुर्गम क्षेत्रका महिलाहरु ।
जिल्ला कै याम्फुदिन गाउँपालिकाका विरबहादुर राईलाई जिल्ला सदरमुकाम फुङलिङमा भाडाका कोठा खोज्दै छन् । किनकी उनकी श्रीमती पनि गर्भवती छिन् । “ गाउँमै सुरक्षित रुपमा सुत्केरी गराउन वर्थिङ सेन्टर छैन ।” उनि भन्छन् “ कहिले के समस्या पर्छ तुरुन्तै जिल्ला ल्याउनु पर्ने हुन्छ, जिल्ला सम्म ल्याउन कम्तीमा पनि दुई दिन लाग्छ । त्यसैले यतै डेरा खोज्दै छु ।” यि त प्रतिनिधी पात्र मात्रै हुन दुर्गम गाउँका महिलाहरु यस्तै बाध्यतामा बाँच्न बिवश छन् ।
सुरक्षित मातृत्वको निम्ति अभियान चलेपनि त्यसबाट दुर्गम गाउँका महिलाहरु अझै लाभान्वित हुन सकेका छैनन् । नेपालले सुरक्षित मातृत्वको क्षेत्रमा प्रगति गरिरहेको भएपनि हिमाली र दुर्गम पहाडी भेगका आमाहरुको व्यथा अर्कै छ । ताप्लेजुङको ओलाङचुङगोला जस्ता दुर्गम हिमाली गाउँबस्तीका महिलाहरु अझै पनि असुरक्षित ढंगले घरमै सुत्केरी हुन बाध्य छन् । स्वास्थ्य चौकी र अस्पताल उनीहरुको पहुँच भन्दा धेरै टाढा छ ।
सहस्राव्दी विकास लक्ष्य अन्तरगत सन् १९९० देखि २०१५ को बीचमा मातृ मृत्यु दरलाई दुई तिहाइले घटाउने लक्ष्य नेपालले लिएको थियो । तर पनि दुर्गम भेगका महिलाहरु अझैपनि सुत्केरी व्यथाकै कारण ज्यान गुमाई रहेका छन् । सुगम ठाउँहरुमा मातृत्व सुरक्षित हुने क्रममा रहेको अधिकारीहरु बताउछन् । ताप्लेजुङको उत्तरी भागमा पर्ने विकट ओलाङचुङगोला, घुन्सा लगायतका स्थानका महिलाहरु अझैपनि डाक्टर र अस्पतालको पहुँच भन्दा धेरै टाढा छन् । उनीहरु भन्छन्, “महिलाहरु सुत्केरी हुनु अघि भगवानको प्रार्थना गर्ने चलन छ, तर स्वास्थ्य सेवा दुर्गम गाउँसम्म नपुगेकोले कहिलेकाहीं मानिसको ज्यान जाने गरेको छ ।”

भौगोलिक विकटता भौगोलीक बिकटताका कारण कतिपय गाउँमा महिलालाई बर्थीङ सेन्टर पुग्न अत्यन्तै लामो समय हिड्नु पर्ने अवस्था छ । लेलेप गाउँकी निमा फुटी शेर्पा भन्छिन्, “राम्रोसँग सुत्केरी हुन आमालाई सदरमुकाम सम्म पुर्याउनु पर्छ, तर त्यहाँ पुग्न धेरै समय लाग्छ ।” यस क्षेत्रका महिलाहरु प्राय घर–घरमै सुत्केरी हुने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दुर्ई वर्षको अन्तरालमा ताप्लेजुङ जिल्लामा सात महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाएका छन् । सो तथ्याङकलाई हेर्दा स्वास्थ्य संस्था जाँदा जाँदै मृत्यू हुने महिलाको संख्या वढि छ । भौगोलिक हिसावले कठिन धरातल भएकाले सो अवधिमा चार जनाको ज्यान गएको छ । यसैगरि घरैमा सुत्केरी गराउने दुई जनाको सो अवधिमा ज्यान गएको तथ्याङ्कले देखाएको छ ।
सो कार्यालयको तथ्याङ्क अनुसार आधाजसो महिला घरमैं सुरक्षित रुपमा सुत्केरी हुने गरेका छन् भने अरु बर्थीङ सेन्टर पुग्ने गरेका छन् । एक नगरपालिका र आठ गाउँपालिका सहित नौ स्थानिय तह रहेको ताप्लेजुङमा १८ ठाउँमा मात्र सुरक्षित रुपमा सुत्केरी गराउने बर्थीङ सेन्टरहरु रहेका छन् ।