भद्रपुर । बर्षेनी जङ्गली हात्तीले झापामा जनधनको ठूलो क्षति पुर्याउँदै आएको छ । नियन्त्रणका लागि दिर्घकालिन ठोस योजना तथा नीति पारित नहुँदा आएको बजेट उपलब्धिमुलक नभएको पाइएको हो ।
हात्तीको आक्रमणबाट झापामा पाँचबर्षमा ३५ जनाले ज्यान गुमाइसकेका छन् । बर्षेनी २ करोड बढी धनजनको क्षति हुदै आएको छ । यस्तै ९ वटा हात्ती मान्छेका कारण मरेका छन् । गत २०६७ ।०६८ देखि ०७४।०७५ सम्मकोे तथ्याङ्ले यस्तो देखाएको छ । आर्थिक वर्ष २०७४। ०७५ को असार मसान्त सम्ममा मात्र हात्तीको आक्रमणबाट तीन जनाले ज्यान गुमाएको वन कार्यालयको तथ्याङ्मा उल्लेख छ । भद्रपुर नगरपालिका ९ का दुर्गा कटुवाल , विर्तामोड नगरपालिका ७ का रसुल मिया र सोही नगरपालिका ३ का हरीमण राजवंशी रहेको वन कार्यलयले जनाएको छ ।
उनिहरुको प्रति परिवारलाई दश लाख रुपैयाँका दरले राहत बितरण गरिएको छ । त्यसैगरी हात्तीको आक्रमणबाट १० जना सामान्य घाईते , ३ सय ३५ घरगोठमा क्षति ,अन्न बालीमा २ सय ३४ जनाको गरेको छ भने पाँचवटा पशु मरेको कार्यालयले जनाएको छ । राहत निर्देशिका अनुसार क्षतिपूर्तिको लागि दाबी गरेको ९६ लाख ३२ हजार ६ सय ७४रुपैयाँमा पीडित परिवारलाई आर्थिक बर्ष ०७४।७५ असार सम्म क्षतिपूर्ति वापतको नेपाल सरकारले प्रदान गरेको ८० लाख ८७ हजार ७ सय ९० रुपैयाँ बरावरको राहत बितरण गरेको फरेष्टर विश्वदीप चौधरीले बताए ।
अझै १५ लाख ४४ हजार ८ सय ८४ रुपैयाँ क्षतिपूर्ति दिन बाँकी रहेको चौधरीको भनाई छ । हालसम्म हात्ती लगायतका वन्यजन्तुबाट पुर्र्याएको क्षतिपूर्ति बापतको १७ सय २६ जना पीडितहरुलाई ३ करोड १५ लाख ७२ हजार ६ सय १४ रुपैयाँ बराबरको राहत रकम बितरण गरिसकेको उनले जनाए । २०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको हात्ती–मानव द्वन्द्व नियन्त्रणको पटक –पटक गरिएको प्रयास अहिलेसम्म सफल हुन सकेको छैन् ।
यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति र हात्ती मारिने क्रम रोकिएको छैन । वन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार हात्तीका कारण बढी क्षति हुने स्थानहरुमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी शान्तिनगर, बुधबारे, बाहुण्डाँगी, खुदुनावारी गाउँपालिकाका स्थानहरु रहेका छन् ।
आर्थिक वर्ष २०७० । ०७१ सम्म बाहुनडाँगीमा हात्तीको उपद्रो धेरै थियो । कुनैबेला हात्ती आतङ्कको क्षेत्र भनेर चिनिने बाहुनडाँगीको कथा पछिल्लो समय दक्षिणी क्षेत्रमा सरेको हो । यसको प्रमुख कारण बाहुनडाँगी छोएर बग्ने मेची नदीको किनारमा निर्माण गरिएको १८ किलोमिटर लामो विद्युतीय तारबार भएको स्थानीयको बुझाई छ ।
हालसम्म हात्ती नियान्त्रणका लागि मन्त्रालय वाट ८ करोड रकम विनियोजन भए पनि आर्थिक वर्ष २०७४/७५ मा २ करोड रकम निकासा भईसकेको जनाईएको छ । तर ,अहिलेसम्म सो बजेटबाट हात्ती नियन्त्रण हुने काम भएको छैन् ।