विराटनगर । पानीको अम्लीयपन (पिएच) बढाउनको लागि विराटनगरका अधिकांश पानी उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने सोडा प्रयोग गर्ने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले ६ देखि ८ दशमल ५ पिएच भएको पानीमात्र पिउनयोग्य हुने मापदण्ड तोकिदिएको छ । खाद्यले तोकिदिएको मापदण्ड पूरा गर्न विराटनगरका अधिकांश पानी उद्योगले मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने सोडा प्रयोग गर्ने गरेको पाइएको हो । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको नेतृत्वमा तीन दिनदेखि विराटनगरका पानी उद्योगमा गरिएको अनुगमनको क्रममा अधिकांश उद्योगले पानीको पिएच बढाउन सोडा हाल्ने गरेको पाइएको क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका खाद्य निरीक्षक प्रेम अर्यालले बताए । अनुगमनको क्रममा सोमबार विराटनगर– ८ मधुमारामा कपिल खड्काले सञ्चालनमा ल्याएको हाम्रो प्रयास जल उद्योगको उत्पादन हुने ‘हाम्रो जल’ मा सोडा हाल्ने गरेको भेटिएको थियो । ‘शुद्ध र पिउनयोग्य हुन खाद्यले मापदण्ड तय गरिदिएको छ’ खाद्य निरीक्षक अर्यालले भने, ‘पानी उद्योगले खाद्यले तोकिदिएको मापदण्ड पूरा गर्न सोडा हालेको भेटियो । पानीमा यसरी सोडा हाल्न पाइँदैन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले सोडा हाल्न प्रतिबन्ध लगाएको छ ।’ यसरी पानी उद्योगले पिएच बढाउन सोडा हाल्ने हाम्रो प्रयास जल उद्योगमात्र होइन, विराटनगर–८ सञ्चालित शितल जल उद्योग, माउन्टेन वाटर इण्डष्ट्रिजको उत्पादन माउन्टेन पानी, मोरङको बूढीगङ्गा गाउँपालिका–१ गङ्गाचौकमा रहेको शुभजल उद्योग, विराटनगर–५ मा रहेको एसएसएस जल उद्योग, विराटनगर–५ जामुनगाछीमा रहेको पूजा पानी उद्योगले पानीमा सोडा हालेको फेला परेको थियो । जसमध्ये पूजा र एसएसएस जल उद्योग भने अनुज्ञापत्र बिनै वर्षौंदेखि सञ्चालनमा रहेको पाइएपछि शिलबन्दी गरिएको छ । अनुगमन टोलीले सोडा मिसाउने पानी उद्योगलाई पहिलोपटक सचेत गराएको छ भने पुनः दोह¥याएमा उद्योग नै बन्द गर्ने खाद्य निरीक्षक अर्यालले चेतावनी दिएका छन् । यता सोडा हालेको पानी पिउँदा पेटमा विभिन्न समस्या हुनेदेखि मुटुको बिरामीलाई झनै धेरै असर गर्ने विराटनगरका वरिष्ठ फिजिसियन डाक्टर रोशन खड्काले बताए । उनका अनुसार सोडा हालेको पानी पिउनले ग्याष्ट्रिक, अल्सर, मटुको चाल गडबड हुनेलगायतका विभिन्न समस्या हुने गर्दछ । ‘मुटु र किड्नीको बिरामीको लागि सोडा हालेको पानी घातक हो’ डाक्टर खड्काले भने, ‘सोडा हालेको पानी बढी सेवनले ज्यानै जानसक्नेसम्मको खतरा हुन्छ ।’ पिएचको मात्रा कम भएको पानी र सोडा मिसाएको पानी पिउनाले जीवाणुहरु पानीमा हुर्कन सक्ने खतरा र पेटसम्बन्धी समस्या हुने खाद्य निरीक्षक अर्यालले बताए । अनुगमन गरेका सबै उद्योगले उत्पादन गरेको पानीको नमुनासमेत सङ्कलन गरेको सामाजिक विकास मन्त्रालयका उपसचिव गोपीप्रसाद घिमिरेले जानकारी दिए । प्रदेश १ का सबै पानी उद्योगको अनुगमन गरेपछि पानीको गुणस्तरबारे मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको घिमिरेले जानकारी दिए ।

विराटनगरमा बग्रेल्ती पानी उद्योग पानी उद्योग सञ्चालन गर्ने होडबाजीले विराटनगरमा बग्रेल्ती पानी उद्योग सञ्चालित छन् । थोरै लगानीमा चाँडै पैसा कुम्ल्याउने लोभले आवश्यक मापदण्ड पूरा नगरी विराटनगरमा बग्रेल्ती पानी उद्योग सञ्चालनमा रहेको पाइएको हो । विराटनगरमा ३७ वटा पानी उद्योग सञ्चालनमा रहेको पानी उत्पादक प्रदेश नम्बर १ को अध्यक्ष पुण्यप्रसाद भट्टराईले जानकारी दिए । तर, अनुगमनको क्रममा यो संख्या अझ बढ्ने देखिएको भट्टराईले बताए । विराटनगरमा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट खाद्य अनुज्ञापत्र बिना सञ्चालनमा रहेका चारवटा उद्योग फेला परिसकेको छ । सञ्चालनमा आएका अधिकांश उद्योगले खाद्यले तोकिदिएको मापदण्ड पूरा नगरेको पाइएको हो । मानव स्वास्थ्यमा अति नै आवश्यक पर्ने पानीमा शुद्धता ल्याउन सामाजिक विकास मन्त्रालयको नेतृत्वमा अनुगमन सक्रिय बनाएको उपसचिव घिमिरेले बताए । उनले १ नम्बर प्रदेशभरि शुद्ध पानी आपूर्ति गर्न निरन्तर लागिपर्ने बताए ।