तेह्रथुम । स्थानीय तहको निर्वाचन सकिएको १ वर्ष २ महिना बितिसक्दा पनि जिल्लाका दुरदराजसम्म बैङ्किङ सेवा विस्तार हुन सकेको छैन । स्थानीयत तहको निर्वाचन पछि सबै स्थानीय तहमा बैंकिङ सेवा पु¥याउने लक्ष्य राखिए पनि तेह्रथुमका सबै स्थानीय तहमा अहिलेसम्म बैङ्किङ सेवा पुग्न सकेको छैन । बैङ्किङ कारोबारका लागि सबै स्थानीय तहमा बैङ्क सञ्चालन गर्ने निर्णय भए पनि जिल्लाका दुई स्थानीय तहमा बैङ्कको शाखा समेत खुल्न सकेको छैन । जिल्ला स्थित ६ ओटा स्थानीय तह मध्ये चारओटा स्थानीय तहमा विभिन्न बैङ्कले आफ्नो सेवा सञ्चालन गरेको भए पनि दुई स्थानमा बैङ्किङ सेवा पुग्न नसकेको हो । जिल्लाका सबै भन्दा दुर्गम मानिएका मेन्छ्याम र फेदाप गाउँपालिकामा अझै बैङ्किङ सेवा सञ्चालनमा आउन सकेको छैन । दुई नगरपालिका र दुई गाउँपालिकामा मात्र सेवा पुगेको छ । अन्य दुई स्थानमा सेवा पुग्न सकेको छैन । बैङ्कहरूको ढिलासुस्तीले जिल्लाका मेन्छ्याम र फेदाप गाउँपालिकामा सेवा सुरु भएको छैन । दुई गाउँपालिकाका स्थानीयवासी अहिले बैंकिङ सेवाका लागि घण्टौँ हिँडेर सदरमुकामसम्म पुग्नु पर्ने बाध्यता छ । ‘बैंकको कामले गर्दा कोदो रोप्ने काम छोडेर ५ घण्टा पैदल हिँडेर सदरमुकाम म्याङलुङ आइपुगेको छु ।’ मेन्छयम गाउँपालिका श्रीजुङ्खका मात्रुका दाहालले भने । स्थानीय तहमा बैङ्क नहुँदा शिक्षकको तलब, योजनाका कामको फरफारकदेखि लिएर चानचुने पैसा साट्न पनि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तहमा बैङ्क नहुदाँ बैङ्किङ कारोबार मार्फत गर्नुपर्ने कार्य गर्न समस्या परेको फेदाप गाउँपालिकाका स्थानीय रुद्र खनाल बताउँछन् । ‘सिंहदरबार गाउँगाउँमा आयो त भन्छन् तर सेवा सुविधा हेर्दा गाउँमा त्यसको कुनै छनक छैन, उल्टै कर बढि तिर्नु परेको छ । ’ मेन्छ्याम गाउँपालिका जनप्रिय माध्यमिक विद्यालयका शिक्षक डेनु गौतमले भने । पटक–पटक तागेता गर्दा पनि बैङ्क नआएकाले सानो कामको लागि पनि सदरमुकाम ध्याउनु परेको फेदाप गाउँपालिकाका अध्यक्ष हरि चोङवाङ बताउँछन् । बैंकिङ सेवा नपुगेका स्थानीय तहमा निर्वाचन भएको दुई महिनामा बैङ्किङ सेवा पु¥याउने भनिए पनि अहिलेसम्म सुरसार नै छैन् । राष्ट्र बैङ्कको निर्देशनमा जिल्लाका स्थानीय तहमा शाखा कार्यालय स्थापना गरी बैङ्कले सेवा दिनु पर्ने बताइएको थियो तर राष्ट्र बैंकले निर्णय गरेको वर्ष दिन बित्न लाग्दा पनि बैङ्कहरूले शाखा स्थापना गरेका छ्रैनन् । उनीहरूले विभिन्न बहाना देखाएर बैङ्क स्थापना नगरेका हुन् । बैङ्कहरूले भने जस्तो घर छैन्, सुरक्षा छैन, बाटोघाटो राम्रो छैनजस्ता बहाना बनाउने गरेको मेन्छ्याम गाउँपालिकाका अध्यक्ष यादव खापुङ्खले बताए । विकास निर्माण, स्थानीय तहका कार्य, विदेशबाट आउने रेमिटेन्स लिनका लागि दैनिक गाउँपालिकाबाट दर्जन भन्दा बढी मानिसहरू सदरमुकाम जानुपर्ने बाध्यता रहेको मेन्छ्याम गाउँपालिकाका उपाध्यक्ष गीता गौतमले बताइन् । सदरमुकाम म्याङलुङ केन्द्रित सेवा बढ्दो स्थानीय र दुर्गममा बैङ्किङ सेवा विस्तार नभइरहेका बेला सदरमुकाम म्याङलुङमा भने बैङ्किङ सेवाले प्राथमिकता पाएको छ । जिल्ला सदरमुकाममा रहेको म्याङलुङमा अहिले दर्जन जति बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा छन् । बजार क्षेत्रमा लगानी बढी हुने र कर्जा प्रवाह पनि राम्रो हुने बैङ्क सञ्चालकहरू बताउँछन् । अहिले म्याङलुङको जिरिखिम्ती बजारमा जनता बैङ्क, काबेनी बैङक, म्याङलुङ बजारमा नेपाल बैङ्क, कृषि विकास बैङ्क, सानिमा बैङ्क, एसबीआई बैङ्क, ग्लोबल आईएमई बैङ्क, सनराइज बैङ्कलगायतले आफ्नो सेवा विस्तार गरिसकेका छन् भने एनआइसी एसिया बैङ्कले साउन ४ गतेदेखि सेवा सुरु गरेको छ । ग्रामिण क्षेत्रमा मुनाफा कमाउन नसकिने भएकाले बैङ्कहरू शाखा खोल्न आलटाल गरिरहेका बेला जिल्ला सदरमुकाम र बजार केन्द्रित बैङ्क भने दिनप्रतिदिन बढ्दै गएका छन् ।