भद्रपुर । झापामा बर्सेनी जङ्गली हात्तीले जनधनको ठूलो क्षति पु¥याउँदै आए पनि दीर्घकालीन नीतिको अभावमा बजेट उपलब्धिविहीन भएको छ । नियन्त्रणका लागि ठोस योजना तथा नीति पारित नहुँदा नियन्त्रणका लागि आएको बजेट उपलब्धिविहीन बनेको हो । हात्तीको आक्रमणबाट झापामा पाँचवर्षमा ३५ जनाले ज्यान गुमाइसकेका छन् । वर्षेनी २ करोड बढी धनजनको क्षति हुँदै आएको छ । मान्छेका कारण ९ वटा हात्तीको मृत्यु भइसकेको छ । यो तथ्याङ्क आर्थिक वर्ष २०६७÷६८ देखि ०७४÷७५ सम्मको हो । भद्रपुर नगरपालिका–९ का दुर्गा कटुवाल, विर्तामोड नगरपालिका–७ का रसुल मियाँ र सोही नगरपालिका–३ का हरिमण राजवंशीको गत आवमा मृत्यु भएको वन कार्यालयले जनाएको छ । उनीहरुको परिवारलाई दश लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ । त्यसैगरी हात्तीको आक्रमणबाट १० जना सामान्य घाइते, ३ सय ३५ घरगोठमा क्षति, अन्नबाली विनाश २ सय ३४ जनाको गरेको छ भने पाँचवटा पशु मारेको कार्यालयले जनाएको छ । राहत निर्देशिका अनुसार क्षतिपूर्तिको लागि दाबी गरेको ९६ लाख ३२ हजार ६ सय ७४ रुपैयाँमा पीडित परिवारलाई आर्थिक वर्ष ०७४÷७५ असारसम्म क्षतिपूर्ति बापत नेपाल सरकारले प्रदान गरेको ८० लाख ८७ हजार ७ सय ९० रुपैयाँ बराबरको राहत वितरण गरेको फरेष्टर विश्वदीप चौधरीले बताए । अझै १५ लाख ४४ हजार ८ सय ८४ रुपैयाँ क्षतिपूर्ति दिन बाँकी रहेको चौधरीको भनाइ छ । हालसम्म हात्तीलगायतका वन्यजन्तुबाट पीडितहरु १७ सय २६ जनालाई ३ करोड १५ लाख ७२ हजार ६ सय १४ रुपैयाँ बराबरको राहत रकम वितरण गरिसकेको उनले जनाए । २०४१ सालपछि झापाको प्रमुख समस्या बन्दै गएको हात्ती–मानव द्वन्द्व नियन्त्रणका लागि पटक –पटक गरिएको प्रयास असफल हुँदै आइरहेको छ । यसको व्यवस्थापन हुन नसक्दा जनधनको क्षति र हात्ती मारिने क्रम रोकिएको छैन । वन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार हात्तीका कारण बढी क्षति हुने स्थानहरुमा साविक दुवागढी, चन्द्रगढी, गरामनी, पृथ्वीनगर, जलथल, बालुबाडी, घेराबारी, शान्तिनगर, बुधबारे, बाहुनडाँगी, खुदुनावारी गाविसका स्थानहरु रहेका छन् । आर्थिक वर्ष २०७०÷७१ सम्म बाहुनडाँगीमा हात्तीको उपद्रो धेरै थियो । कुनैबेला हात्ती आतङ्कको क्षेत्र भनेर चिनिने बाहुनडाँगीको कथा पछिल्लो समय दक्षिणी क्षेत्रमा सरेको हो । यसको प्रमुख कारण बाहुनडाँगी छोएर बग्ने मेची नदीको किनारमा निर्माण गरिएको १८ किलोमिटर लामो विद्युतीय तारबार भएको स्थानीयको बुझाइ छ । हालसम्म हात्ती नियन्त्रणका लागि मन्त्रालयबाट ८ करोड रकम विनियोजन भए पनि आर्थिक वर्ष २०७४÷७५ मा २ करोड रकम निकासा भइसकेको जनाइएको छ तर अहिलेसम्म सो बजेटबाट हात्ती नियन्त्रण भएको छैन । विभिन्न स्थानीय तहमा जङ्गली हात्तीले उपद्रो मच्चाउन थालपछि रोकथाम तथा न्यूनीकरणका लागि सरकारी पक्ष गम्भीर नभएकोमा मानव–हात्ती द्वन्द्व बढ्दै गएको छ । बजेट ल्याएर मात्र हँुदैन, हात्ती नियन्त्रणको लागि खर्च गरेमा मात्र मानव सुरक्षित हुने प्रदेश सांसद् वसन्त बानियाँले बताए । हात्ती नियन्त्रणका लागि आवश्यक स्रोत साधन नभएकोले मानव र बस्ती सुरक्षित हुन नसकेको बानियाँको भनाइ छ । जङ्गली हात्ती आहारको खोजीमा गाउँघर पस्ने गरेकोले जङ्गलमा हात्तीलाई चाहिने आहारको खेतीको शुरुवात गर्नु जरुरी रहेको उनको बुझाइ छ । भारतको पश्चिम बङ्गाल सरकारसँग हात्ती व्यवस्थापनको बारेमा ठोस वार्ता नभएसम्म हात्ती आतङ्क नरोकिने विज्ञको भनाइ छ । वनभित्रै आहार र जलको व्यवस्थापन नभएसम्म हात्ती आतङ्कमा कमी नआउने उनीहरुको बुझाइ छ । यसको रोकथामका लागि सौर्य तारबारसहितको जैविक पदमार्ग र आहार खेती, जल मुख्य योजना बनाउनु पर्ने उनीहरु बताउँछन् । भुटानले लगाएको सौर्य तारबारको योजनाअनुसार उत्तरी झापाको मेचीनगरस्थित बाहुनडाँगी क्षेत्रमा सौर्य तारबार लगाएपछि भारतबाट आउने जङ्गली हात्तीलाई ९५ प्रतिशत रोकथाम गर्न सहयोग गरेको थियो तर, सौर्य तारबारको व्यवस्थापनमा समस्या आएकोले फेरि चुनौती थपिएको छ । पश्चिम बङ्गाल सरकारसँग सहकार्य नगरेसम्म हात्ती नियन्त्रणले दिगो व्यवस्थापन नपाउने सरोकारवालाको भनाइ छ । झापामा एक महिनाअघि सौर्य तारबार लगाएकै ठाउँबाट १८ वटा जङ्गली हात्ती नेपाल प्रवेश गरी मेचीनगरस्थित ज्यामिरगढी क्षेत्रमा क्षति पु¥याएका थिए । ठूलो समूहमा हात्ती फेरि नेपाल प्रवेश गरेपछि त्यसक्षेत्रका स्थानीय त्रसित बनेका थिए । आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजना तथा वन कार्यालय झापाको सहकार्यमा मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि जनप्रतिनिधि तथा सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम समेत गरेको थियो । सहभागीहरुले भारतको पश्चिम बङ्गालबाट वर्षेनी नेपाल भित्रिने जङ्गली हात्तीको आतङ्कबाट सुरक्षित बनाउने नीति तथा कार्यक्रमको आवश्यकता रहेको औंल्याएका थिए तर, कार्यक्रम कागजमा नै सीमित रहन गयो । भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठले हात्ती समस्या हल गर्न दीर्घकालीन रणनीतिका लागि सरोकारवाला निकायका प्रतिनिधिहरुसित छलफल गरी निर्वाचनका बेला जनतासित राखेका प्रतिबद्धता अनुरुप समाधानको बाटो खोज्ने गरी काम थालेको बताएका छन् । ‘झापामा रैथाने हात्ती त छँदैछ’ वन कार्यालय झापाका प्रमुख बोधराज सुवेदीले भने, ‘त्यसका अलावा भारतबाट हुलका हुल आउने जङ्गली हात्ती नियन्त्रणका लागि लगाइएको सौर्य तारबारको व्यवस्थापनमै चुनौती थपिएको छ, मेची नदीसँगै रहेको तारबार निर्माणमा एक करोड २० लाख खर्च गरे पनि तटबन्धन र टावर मर्मत सम्भार नै मुख्य चुनौतीको रूपमा छ ।’ मेचीनगरको बहुवनदेखि जलथलसम्मको वनक्षेत्र जोड्ने गरी जैविक पदमार्गका लागि सरकारले २ करोड बजेट गत आर्थिक वर्षमा विनियोजन गरेको थियो । चालु वर्षमा ६ करोड थपेपछि ८ करोड बजेट हुन्छ, त्यसपछि जैविक पदमार्ग निर्माण गरी हात्ती नियन्त्रणलाई रोकथाम गर्न सकिने उनले प्रष्ट्याए । चारआलीदेखि जलथलसम्म हात्ती हिँड्ने जैविक मार्ग देउनियाँ खोलाको आडबाट बन्नेछ भने सो मार्गको पूर्वी र पश्चिम क्षेत्रमा सौर्य ऊर्जाको विद्युतीय तारबार निर्माण हुने उनको भनाइ छ । ९ किलोमिटर जैविक मार्गका रूपमा रहने चारआली–जलथल वनक्षेत्रलाई जोड्ने ७५ किलोमिटर तारबारको घेराबारा रहने उनले बताए । चौतर्फी घेराबाराको तारबार र जैविक मार्ग हात्ती नियन्त्रणको दीर्घकालीन समाधान हुने कार्य योजनाको लक्ष्य रहेको छ । यो योजना कार्यान्वयनमा आए हात्ती प्रभावित क्षेत्रका स्थानीय जनता जैविक कृषि तथा इको टुरिजमको प्रबन्ध निर्माण भई स्वरोजगार बन्नेछन् । आयआर्जनको बाटो बलियो भएपछि रोजगारीका लागि विदेशिनु पर्ने बाध्यता हट्ने विज्ञहरुको धारणा छ ।