मान्छेले जन्म लिएपछि एकदिन त मर्नै पर्छ । यो सबैलाई थाहै छ । तर कोही लोकप्रिय मान्छेको असामयिक निधन भने साहै्र पीडादायी हुँदो रहेछ । अहिले यस्तै भएको छ सम्पूर्ण धरानवासीहरुलाई । एक वर्षअधि धराने जनताले भोट दिएर धरान उपमहानगर पालिकाको मेयर पदमा विजय गराई काम गर्ने मौका दिएका थियौं तारा सुब्बालाई । तर मेयर भएको एक वर्षभित्रै ५२ वर्षको उमेरमा वहाँको निधनले हामी सबै नगरवासी, साथीभाइहरु स्तब्ध भएका छौं । ‘आनन्दजी सधैँ आनन्दै’ व्यक्तिगत रूपमा वहाँले मलाई भेट्दा मुसुक्क हाँस्दै भन्ने शब्द यही हो । म पनि भन्थेँ ‘आनन्दै’ । एउटा सानो शहरमा बस्ने हामी दुईबीच वर्र्षौं पहिलेदेखि एउटा राजनीतिक नेता र म सञ्चारकर्मीको नाताले बारम्बार भेट त हुने भइहाल्यो । पछिल्लो १५ वर्षदेखिको धरानको पानीको समस्या समाधान गर्न छलफल, भेला, गोष्ठी, भ्रमण हुँदा हाम्रो घनिभूत रूपले भेटघाट भइरहन्थ्यो । वहाँ मेयर भएपछि धरान खानेपानी बोर्डको अध्यक्ष र म बोर्डको सदस्य भएकोे नाताले झनै भेटघाट बाक्लिएको थियो । वहाँ मेयर भएर आएपछि धरानलाई फूलैफूलको शहर बनाऔं भन्ने हाम्रो संस्था वातावरण तथा पर्यटन विकास केन्द्रको सुझावलाई तुरुन्त स्वीकार गरी नगरपालिकाको पर्यटन विकास समितिमार्फत् एक–दुई ठाउँमा काम पनि थाल्नुभएको थियो । यसैगरी सर्दु जलधार क्षेत्रको सीमाङ्कन गरेर त्यसको विवाद सदाको लागि सुल्झाई दिगो पानीको स्रोत बढाउन एउटा समिति बनाई काम पनि अघि बढिसकेको थियो, जुन समितिमा हाम्रो संस्थालाई सदस्यमा राख्नुभएको थियो । यसरी नगरको वातावरण र पर्यटन विकासको लागि हाम्रो सहकार्य निरन्तर थियो । खानेपानीको समस्याबाट ग्रस्त धरानलाई जसरी भए पनि पानीको समस्याबाट मुक्त गराउने अभियानमा ताराजीको र वहाँको पार्टीको भूमिका सधैँ विवादरहित र सकारात्मक रहेको थियो । धरानमा पानीको समस्या समाधान गर्न भनी संस्था नै स्थापना गरी २०६० सालदेखि निरन्तर लागिपरेको नाताले यो पंक्तिकारको आन्तरिक मूल्याङ्कनमा वहाँको भूमिका सधैँ स्मरण गरी रहन्छु ।
स्व. सुब्बा हक्की र स्पष्ट वक्ता भएको कारणले वहाँ बोर्डको अध्यक्षमा आउनुभएपछि धेरै अप्ठ््यारा निर्णयहरु पनि सजिलै पार लगाउनुभएको थियो । तर एडिबीको ऋण सहयोगमा सञ्चालित खानेपानी योजनाले अब मूर्तरूप लिएर यसै महिनादेखि जनताको घर–घरमा पुगेको दिन हेर्न नपाउँदै वहाँ बित्नु भएकोले हामीलाई ज्यादै नरमाइलो लागेको छ । परियोजनाकै कुरा गर्दा ५ वटा सवस्टेशनमध्ये ४ वटा पानी ट्याङ्कीको निर्माण भई यसै महिनादेखि पानी वितरण थाल्ने अवस्थामा पुगेको छ भने पञ्चकन्याको जङ्गलभित्र बनाउने भनिएको पानी ट्याङ्की चाहिँ अनावश्यक विवादका कारण अड्किन पुगेको छ । बोर्ड अध्यक्षको नाताले सो विवादको गाँठो फुकाउने दायित्व पनि वहाँकै थियो । कुनै पनि विकास निर्माणको कामलाई जनसहभागितामूलक बनाउने वहाँको प्रयास सधैँ हुने गथ्र्यो । यसै सिलसिलामा यो पानी ट्याङ्कीको निर्माणमा पनि सकभर सबैको सहभागिता र सहमति होस् भन्ने वहाँको प्रयास थियो । त्यसैले सबै प्रक्रिया पु¥याएर सबै राजनीतिक दल र जातीय सङ्घ–संस्थाका साथीहरुलाई खुसी पार्न खोज्दाखोज्दै झण्डै ६ महिना त्यसै बित्यो । जसको कारण परियोजना सम्पन्न हुनमा ढिलाइ हुन गएको छ । कसैले अनावश्यक विवाद उत्पन्न गराए पनि विवाद गर्नेलाई बाईपास नगरी बरु छलफल गर्ने गराउने वहाँको बानी थियो । अहिले पनि सो क्षेत्रमा कसरी ट्याङ्की बनाउने भन्ने बारेमा ठूलो चिन्ता र चासोका साथ लागिपर्नुभएको थियो । सम्भवतः वहाँले थालेको कामहरुमध्ये यो एउटा काम अधुरो रहन गएको छ । विजयपुरको त्यस क्षेत्रमा कुनै सांस्कृतिक तथा ऐतिहासिक भौतिक संरचना नभए पनि हामी त्यहाँ बनाउन दिन्नौं भनेर लाग्नेहरुमध्ये धेरै व्यक्ति, संस्था र नाता पर्नेहरु निश्चय नै वहाँलाई श्रद्धाञ्जली दिन आउनुभएको थियो । त्यसैले म वहाँहरुलाई के भन्न चाहन्छु भने सुब्बा उपचारको सिलसिलामा काठमाडौं लाग्नुअघिसम्म पनि मलाई भेटेर ‘आनन्दजी यो ट्याङ्कीको काम जसरी भए पनि अब शुरु गर्नुपर्छ, नत्र माथिल्लो भेगका जनतालाई अन्याय हुन जान्छ । दातृसंस्थाहरुले पनि हामीलाई पत्याउँदैन । त्यसैले म काठमाडौंबाट फर्कने बित्तिकै बोर्ड मिटिङ राखेर काम अघि बढाउनु पर्छ है’ भन्नुभएको म झल्झली सम्झन्छु । अब ती साथी र संस्थाहरुले सोचून् कि मेयर सुब्बाले आफ्नै शहरको सांस्कृतिक क्षेत्र बिगार्न त त्यसो भनेका थिएनन् होला । झण्डै एक वर्ष लगाएर आर्थिक प्राविधिक तथा स्थानीय जनता सङ्घ–संस्थाहरुसँग कयौं पटक औपचारिक अनौपचारिक छलफल गरेरै त्यहाँ बनाउने निर्णय गरिएको थियो । त्यसैले धराने जनताको हित र स्व. सुब्बाको अन्तिम अभिलाषा पूरा गर्न र वहाँलाई साँच्चीकै हृदयबाट श्रद्धाञ्जली दिन चाहनुहुन्छ भने त्यस क्षेत्रमा विवाद नगरिकन पानी ट्याङ्कीको निर्माण गरौ र बरु सम्भव भए त्यसैक्षेत्रमा वहाँको अर्धकदको प्रतीमासमेत राखेर तारा स्मृति पार्कसमेत बनाउन सकिए धरान उपमहानगरपालिकाको प्रथम मेयरको सम्मान र सम्झना पनि सधैँ रहिरहने सुझाव दिन चाहन्छु । सामयिक होस्, असामयिक होस् जनताको लागि राम्रो काम गरेर मर्र्नेहरुको सम्मान गर्न सिक्ने र सिकाउने शहरको रूपमा पनि धरानलाई पहिलो किन नबनाउने ? अर्काको देशको लागि लड्दालड्दै अर्काको देशमा ज्यान गुमाउनेहरुको त धरानका चोक गल्लीहरुमा सालिक बनाएर राखिएको छ भने धराने जनताको लागि धराने भूमिमा बसेर जीवन बिताई राम्रो काम गर्नेहरुको सालिक राख्दा के खति होला र ? बरु यस्ता कामले हाम्रा भावी पुस्ताहरुलाई गौरव र प्रेरणाको स्रोत नै थपिन जान्छ । स्वास्थ्यप्रति सचेत बनौं हामी मानिस पञ्चतत्वद्वारा निर्मित देह लिएर आएका छौं । प्रकृतिकप्रदत्त यो देहको सञ्चालक हामी आफू स्वयम् भएकोले यसको अवसान र मर्मत सम्भार गर्ने सम्पूर्ण जिम्मेवार पनि हामी आफू स्वयम् हौं । त्यसैले प्राकृतिक प्रकोप, दुर्घटना बाहेक आफ्नो सामयिक मृत्युको सीमारेखा हामीले नै कोर्न सक्छौं भन्ने कुरा खानपान आहार विहार निन्द्रा मैथुनमा भरपर्ने कुरा हुन् भनेर धर्मशास्त्र, हाम्रा पुर्खाहरुले पनि सिकाएका छन् । मेयर सुब्बाको निधन नितान्त असामयिक हो । सामान्य नेपालीको सरदर आयु पनि ६० वर्ष तोकिसकेको अवस्थामा ५२ वर्षकै उमेरमा वहाँको मुत्यु हुनु असामयिक हो । तर के गर्ने देशको, शहरको लागि केही गर्छु भन्दाभन्दै पनि स्वास्थ्यले साथ नदिएपछि कसैको केही नचल्ने रहेछ । पछिल्लो समय वहाँलाई परेको धपेडीलाई वहाँको शरीरले थेग्न नसकेको देखिन्छ । समयै राम्रो उपचार पाएको भए पनि वहाँको मृत्युलाई अलिक पछाडि धकेल्न सकिन्थ्यो । तर समय बितिसकेको छ । अहिले यो कुरा गर्न सान्दर्भिक पनि देखिँदैन । बरु असामयिकरूपमा बित्नेहरुले आफ्नो स्वास्थ्यप्रति कतै हेल्चेक्र्याइँ गरे तापनि हामी जीवित रहनेहरुले अब बढी सजग रहनु आवश्यक छ । विशेषगरी हाम्रा देशका राजनीति कर्ममा लाग्ने नेता कार्यकर्ताहरुले आफ्नो शरीरप्रति ठूलो अन्याय गरेको देखिन्छ । त्यसमा पनि नेपालका कम्युनिष्ट आन्दोलनमा लाग्नेहरुको शारीरिक अवस्था नाजुक भएको पाउँछौं । यसो हुनुमा अनियमित आहार–विहार निन्द्रा नै कारक हो । अझ कम्युनिष्टहरु त आफूलाई नास्तिक सम्झनुमा गर्व गर्छन् अनि अध्यात्मवाद र धार्मिक कुराप्रति ध्यानै दिँदैनन् । सधैँ स्वस्थ र सुखी जीवन बाँच्न सिकाउने आध्यात्मिक विज्ञानलाई नै नकारेपछि त्यसको परिणाम कति भयावह होला ? त्यसैले हाम्रा नेता कार्यकर्ताले समाजको सेवामा आफ्नो जीवन अर्पण गर्ने हो र जनताको स्वास्थ्यको कामना गर्ने हो भने पहिला आफ्नो शरीर स्वस्थ राख्न अति जरुरी भइसकेको छ । शरीर रहे मात्र मन र विचारले खेल्ने मौका पाउँछ । शरीरलाई स्वस्थ र दीर्घजीवी बनाउने हो भने ध्यान, योग, प्राणायाम बाहेक यो संसारमा अरु कुनै विकल्प टिकाउ छैन । सरकारमा बसेर देश हाँक्ने नेताहरु स्वस्थ भए जगत्ले सुख पाउन सक्छ । नेता नै अस्वस्थ भए जगत्ले दुःख पाउँछ । त्यसैले सरकारले रोग लाग्नेहरुको लागि अस्पताल बनाउन मात्र खर्च गर्ने होइन, बरु सबैलाई सधैँ निरोगी बनाउने हरेक गाउँ–शहरमा ध्यान, योग सिकाउने प्रबन्ध मिलाउनुको साथै साधना भवन, खेलकुद भवनहरुको निर्माणमा विशेष ध्यान दिन जरुरी छ भन्दै धरानका एक मिलनसार विकासप्रेमी नेता स्व. तारा सुब्बाप्रति यही शब्द सुमन अर्पण गर्दछु ।