इलाम । जिल्लाको माईजोगमाई गाउँपालिका वडानम्बर ६ प्याङ निवासी प्रेम काफ्लेले १२ वटा गाई पालेर ८० लिटर दूध उत्पादन गरी आफूले डेरी सञ्चालन गरेर आम्दानी गर्दै आए तापनि विगत दुई महिनायता घिउ, छुर्पीको मूल्यमा गिरावट आउन थालेपछि चिन्तित बनेको बताउँछन् । वर्षातको समयमा विगतमा समेत घिउ, छुर्पीको मूल्यमा गिरावट हुने गरेको थियो तर अहिले भने मूल्य गिरावटका कारण डेरी घाटामा गएकाले कृषकहरु मारमा परेको बताए । वर्षातको समयमा यातायातका साधनसमेत नचल्ने प्याङमा गाउँपालिकाले समेत केही पहल गर्न नसकेको उनको भनाइ छ । उनले भने, ‘४० रुपैयाँ प्रतिलिटर बिक्री हुँदै आएको दूधको मूल्यसमेत पाँच रुपैयाँ घटेर ३५ पुगेको छ, घिउ र छुर्पीको भाउमा गिरावट हुँदै गएमा किसानले उत्पादन गरेको दूधको मूल्यसमेत ओरालो लाग्नेछ, यसबाट किसान मर्कामा पर्नेछन् ।’ प्याङमा कृषकहरुले आम्दानी गर्ने उद्देश्य राखी गाईपालन गर्ने गरेको र जसबाट आफैले उत्पादन गरेको दूधको घिउ, छुर्पी बिक्री गर्दै आएका छन् । हाल ३० भन्दा बढी संख्यामा डेरी रहेकामा घिउ, छुर्पी बिक्न छोडेपछि किसानहरु मारमा परेका हुन् । स्थानीय कृषक चन्द्र सुनुवारले आठवटा गाई पालेर ३० लिटर दूध उत्पादन गर्दै आएको तर दूधको भाउ नभएको बताउँछन् । विगतमा यो सिजनमा प्रतिकिलो चारसय पचास रुपैयाँका दरले बिक्री हुने घिउ हाल स्थानीय जौबारी बजारमा प्रतिकिलो तीन सय रुपैयाँका दरलेसमेत बिक्री हुन छोडेको बताउँछन् । व्यापारीहरुले घिउ, छुर्पी कोल्डस्टोरमा राख्ने गरेकाले लिन नमान्ने उनको भनाइ छ । स्थानीय सरकार, केन्द्रबाट समेत यसप्रति केही पहल हुन नसक्दा किसानको पसिना खेर जाने गरेको छ । उनले गाउँपालिकाले चिस्यान केन्द्रसमेत बनाउन पहल गर्नुपर्ने र ग्रामीणभेगमा उत्पादनको मूल्य बढाउनुपर्ने बताए । सरकारले कर लिन मात्र अघि सरेको तर सेवा सुविधामा ध्यान पु¥याउन नसक्दा कृषकलाई मार पर्ने बताए । स्थानीय डेरी सञ्चालक सनाम शेर्पाले विगत केही महिनायताबाट भारतका केही बजारहरुमासमेत रोक लगाएकाले घिउ, छुर्पीको बिक्रीमा मन्दी आएको बताए । उनले भारतको दार्जिलिङ, सिक्किमहुँदै ग्यान्टोक निर्यात हुने छुर्पी सिक्किम बन्दका कारण बिक्री हुन नसकेको बताए । दैनिक करिब तीनसय लिटर दूधको कारोबार गर्दे आएका सनाम हाल व्यापार ठप्प भएका कारण कृषकलाई पेमेन्ट गर्न समेत कठिनाइ भइरहेको बताउँछन् । उनले ग्रामीणक्षेत्रमा किसानले गरेको मेहनत उठाउन र व्यवसाय सञ्चालन गर्नसमेत गाह्रो भएको बताए । नेपालमा बजार नभएको र निर्यातका लागि माग आउन छोडेकाले छुर्पी बिक्न छोडेका कारण दूधको मूल्यमासमेत ह्रास आएको उनको भनाइ छ । यस्तै फिक्कलका व्यापारी मिलन भण्डारीले घिउ, छुर्पी बिक्रीमा समस्या रहेको बताए । अमेरिकामा निर्यात हुने डकच्यु छुर्पी नेपालको कम गुणस्तरका कारण बिक्री हुन नसकेकाले व्यापारी समेत घाटामा रहेको बताए । माईजोगमाई गाउँपालिकाका प्याङ, नयाँबजार, जोगमाई, सूर्योदय नगरपालिकाका करिब ३० वटा डेरीले घिउ, छुर्पीको कारोबार गर्दै आएकोमा हाल उत्पादन बढी भएकाले घिउको कोल्डस्टोर गर्न समस्या भएकाले हाल कतिपय डेरीलाई छोड्नुपरेको बताए । उनले भने, ‘घिउ, छुर्पीको व्यापार यही गतिले ओरालो लाग्दै जाने हो र नेपालमा यसको बजार व्यवस्थापन नहुने हो भने ग्रामीणभेगका डेरी व्यवसायीहरु मर्कामा पर्नेछन्, हामी व्यापारीहरुसमेत पेशा गर्ने वा छाड्ने अन्योलमा छौँ, यसले गर्दा गाईपालनबाट आयस्रोत दिन प्रतिदिन घट्न थालेपछि कृषकहरु निराश छौं ।’ गतसाल यो सिजनमा पाँच सय रुपैयाँ प्रतिकिलो किनबेच हुँदै आएको घिउ हाल तीनसय पचासमा ओर्लिएको छ । यस्तै गतवर्ष एक हजार पचास रुपैयाँमा बिक्री भएको छुर्पी हाल आठ सयमा झरेको छ, यसले व्यापारीमात्र नभई डेरी सञ्चालक र कृषक घाटामा पर्ने गरेका छन् । भारतीय बजारसमेत ठप्प भएकाले अत्याधिक मात्रामा घिउ स्टक रहने गरेको छ । अमेरिका, कोरियालगायत अन्य देशहरुमासमेत छुर्पी उत्पादन हुन थालेकाले नेपालको छुर्पी बिक्री हुन छोडेको उनको भनाइ छ । काठमाडौँमासमेत घिउ, छुर्पीको माग नभएकाले डेढ महिनाको अवधिमा चार हजार किलो घिउ कोल्डस्टोरमा राख्नुपरेकाले थप घाटामा परेको बताए । गत वर्षातको समयमा केही असहज हुने व्यापार यस वर्ष चैत महिनाबाट नै घाटा भएकाले व्यापार पेशा गर्ने वा छोड्नेमा दोधार रहेको बताए ।