ताप्लेजुङ । लिम्बू जातीको परम्परागत खाना हो कोदोको जाँड हालेर तयार पारेको तोङ्बा, याङ्वेन, किनेमा, चाम्रे, फाँदो अचार, सिगोले, फापरको रोटी । त्यस मध्येको पनि मौलिक लिम्बू खाना याङ्बेन प्रति लिम्बु तथा गैरलिम्बूहरू पनि अचेल झ्याम्मिन थालेका छन् । यस्को स्वादमा रमाउन चाहानेहरुको सँख्या समेत बढ्दै जाँदा याङ्वेनको माग समेत उच्च हुन थालेको छ । यस्को माग स्थानिय देखि अन्तराष्ट्रिय बजारमा समेत उच्च छ । याङ्वेनलाई नेपाली भाषामा झ्याउ भनिन्छ । उच्च लेकाली क्षेत्रको बनस्पतिहरू उत्तिस, गुराँस, कटुसको रूखमा पलाउने एक प्रकारको परजीवि वनस्पतिलाई हजारौं वर्षदेखि पूर्वका लिम्बू समुदायले खानाको रूपमा प्रयोग गर्दै आएका छन् ।
‘लिम्बू समुदायले परम्परागत रूपमा उहिलैदेखि याङ्वेनलाई खाद्यपदार्थको रूपमा प्रयोग गर्दै आएको छ,’ स्थानिय मानधोज लिम्बू भन्छन्, ‘यस्तो खाना तयार पार्नका लागि सबैभन्दा पहिले त लेकका रूखमा पलाएको झ्याउ चिन्नुपर्छ ।’ यसपछि टिपेर बटुल्नुपर्छ । खरानी पानीमा निकैबेर उमाल्नुपर्छ । फेरि सुकाएर खान योग्य भएपछि सुंगुर, कुखुरा, खसी, राँगाको मासुसँग पकाउनुपर्छ । ‘निकै मिठो पो हुन्छ ।’ उनले भने ।
संस्कृति र मुन्धुमका जानकार ज्ञानु फुरुम्वोका अनुसार कृषि युग सुरु हुनु अगाडि मानिसले अन्नबालीका बीउविजन रोप्ने, छर्ने, खाद्यान्न उत्पादन गर्ने चलन बसेको थिएन । त्यतिबेला सिकार गरेको जीवजन्तुको मासु र रगतसँग रूखमा पलाएको झ्याउ पकाएर भोक मेट्दै शरीरमा शक्ति सञ्चय गर्ने चलनको उनको दाबी छ । ‘त्यही परम्पराको निरन्तरता हो याङ्वेन,’ उनले भने, ‘अहिले त लिम्बू समुदायसँगै गैरलिम्बूले पनि याङवेन र सेरगेङ निकै मन पराएका छन् ।’ उनका अनुसार यस्को प्रयोगले औषधिको काम समेत गर्ने लिम्बू समुदायको विश्वास छ ।
अन्य खाद्यपदार्थ जस्तो खेतबारीमा मानिसले बीउ रोपेर उत्पादन गर्ने नभएकाले लिम्बू समुदायले मात्र प्रयोगमा ल्याएको याङ्वेनको महत्व बेग्लै रहेको स्थानिय सँगिता मादेनको भनाई छ । यता केही वर्षअघिसम्म पूर्वी नेपालका उच्च पहाडी क्षेत्रमा याङ्वेन प्रशस्तै पाइने बताउँदै अहिले ती सबै सामुदायिक वन भएकाले र याङ्वेनको व्यापार व्यवसाय बढेकाले अभाव हुन थालेको छ ।
अहिले आएर याङ्वेनको माग ठुल्ठुला सहर तथा विदेश सम्मबाट पनि आउने गरेको छ । स्थानिय कोशेली घरका सञ्चालक ललित गुरुङका अनुसार नेपालका ठेल्ठुला शहरहरु धरान, इटहरी, काठमाण्डौँ, पोखरा लगायतका क्षेत्रबाट ठुलो मात्रमा माग छ । यस्तै लिम्बू समुदायहरुको बाहुल्यता रहेका हङ्कङ, युके, सिँगापुर लगायतका बाहिरी देशवाट समेत यस्को माग उच्च छ । “अहिले १ केजि याङवेनको ४ हजार देखि ५ हजार सम्म पर्ने गरको छ । माग पनि बिदेशबाट धेरै आएको छ तर दिन सकिएको छैन,” कोशेली घर सञ्चालक गुरुङ भन्छन्, “ खै जंगलमा पनि पाउन छाड्यो भन्छन्, मागै धान्न गाह्रो भो ।” याङ्वेन संकलक धनबिक्रम ईवाराम लिम्बूका अनुसार अहिले झ्याउ धेरै विक्री हुने भएपछि जंगलमा नै सकिन थालेको छ । लिम्बू परम्परा अनुसार याङ्वेनसँगै घ्यूमा चालम पकाएर बनाए चाम्रे, भटमास भुटेर ओख्लीमा नुन, अकबरे खोर्सानी र अन्य मसला लगाएर पिठो बनाएपछि तयार हुने फाँदो अचार, किनेमा, गुन्द्रुकको विभिन्न परिकार, संगुरको आन्द्राको याङ्वेन, रक्ती, चामल र अन्य मारमसला लगाएर पकाएको सेरगेङ लिम्बू परम्परागत खानाहरू हुन् ।