जिरोपोइन्ट । सिटी सफारी चालक अञ्जुको दिनचर्या एक वर्षयता फेरिएको छ । बिहानै उठ्ने, घरको काम सक्ने अनि सफारी लिएर चोक–चोक पुग्दै यात्रुलाई गन्तव्यमा पु¥याउने । एक वर्षअघिसम्म उनको दिनचर्या कोठामै बित्थ्यो । अहिले उनी आफैँ कमाउने भएकी छन् । सफारी चलाएरै दैनिक १ हजार वचत गर्छिन् । भन्छिन, ‘दिनहुँ एक हजार वचतसमेत गर्ने गर्छु ।’ श्रीमान्को कमाइले मात्रै घरखर्च चलाउन गाह्रो भएपछि उनी सफारी चलाउन शुरू गरिन् । श्रीमान्ले पनि उनलाई सहयोग गरे । आफूलाई पनि काम गर्ने इच्छा भएकाले सफारी चलाउन शुरू गरेको उनी बताउँछिन् । उनी कक्षा १० सम्म पढेकी छन् । त्यसपछि बिहे गरिन् । श्रीमानको एक्लो कमाइले बजारमा घरखर्च धान्न हम्मे पर्दै गयो । श्रीमानको कमाइको भर थियो । घरमा दिनभर कामविहीन भएकाले उनलाई पनि समय खेर फाल्नुभन्दा सफारी चलाउन उपयुक्त ठानिन् । अहिले समयमात्रै सदुपयोग भएको छैन । घरखर्च चलाउन पनि सहज भएको छ । अहिले श्रीमान् पनि खुसी छन् । उनको परिवार पनि खुसी छ । ‘श्रीमानको कमाइको आश गर्नुभन्दा पनि आफ्नै कमाइले खुसी दिलाउँदो रहेछ ।’ उनी भन्छिन् । धरान बजारमा अञ्जु एक्ली महिला सफारी चालक होइनन् । उनीजस्तै कविता मगर पनि सफारीकी ड्राइभर हुन् । दैनिक सयौंलाई गन्तव्यमा पु¥याउँछिन् । उनले भर्खरै सफारी चलाउन सिकेकी हुन् । अन्य कामभन्दा सजिलो देखेपछि उनी सफारी चालक बनेको अनुभव सुनाउँछिन् । साहुको सफारी कुदाउँछिन् । त्यो सफारीले उनलाई दैनिक ६–७ सय रूपैयाँ आम्दानी दिन्छ । घरखर्च चल्छ । साहुलाई दैनिक ६ सय बुझाउने गरेकी छन् । तीनजनाको परिवार सहजै चलेको छ । एकजनाको खर्च भए पनि अर्कोको रकम वचत हुने भएकाले उनी सन्तुष्ट छिन् । ‘तीनजनाको परिवारमा एउटाको कमाइले घर खर्च चलाएर अर्काको वचत गर्न सकिने रहेछ ।’ कविता भन्छिन् । सफारीले धेरै महिलाको जीवन धानेको छ । श्रीमानसँग भर पर्ने महिला स्वरोजगार बनेका छन् । जेनतेन जीविका चलाउनेहरूका लागि सफारी भरपर्दो कमाइको माध्यम बनेको छ । सफारी चालक सुशिला लिम्बू भन्छिन्, ‘सुरुआतमा त कमाइ त्यति हुँदैन्थ्यो । तर अहिले वचतसमेत हुन थालेको छ ।’ महिलाहरूमा पनि पुरूष सरह नै काम गर्ने क्षमता हुने उनी बताउँछिन् । आत्मनिर्भर भएपछि उनीहरूमा विश्वास पनि बढेको छ । अञ्जु, कविता, सुशीलाजस्ता महिलाहरूको जीविकोपार्जनसँगै छोराछोरी पढाउन पनि सहयोगी बनेको छ सफारी । श्रीमानका आशामा बस्ने यी महिलाहरू अहिले आफूखुसी खर्च गर्न सक्ने बनेका छन् । खालीसमयको सदुपयोग गर्न पाएकोमा सुशीला गर्व गर्छिन् । भन्छिन्, ‘खाली समय त्यसै बिताउनु भन्दा यसमा धेरै राम्रो छ ।’