विराटनगर । १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा सबैभन्दा बढी अपराधको घटना सुनसरी जिल्लामा हुने गरेको पाइएको छ । प्रदेशको अन्य जिल्लाको तुलनामा आर्थिक वर्षमा सुनसरीमा बढी अपराधको घटना भएको हो । प्रदेश नं. १ को १४ जिल्लामा आर्थिक वर्ष २०७४/०७५ मा ७ हजार ६ सय ९१ वटा अपराधको घटना भएकामध्ये अन्य जिल्लाको तुलनामा सबैभन्दा बढी सुनसरीमा १ हजार ९ सय ९० वटा अपराध घटना भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्षमा प्रदेशमा ७ हजार ६ सय ९१ वटा मुद्दा दर्ता भएकोमा ४ हजार १ सय ६९ वटा मुद्दा फछ्र्यौट भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी केदार रिजालले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिए । तीन हजार पाँच सय ३२ वटा घटना फछ्र्यौट हुन बाँकी रहेको र ती घटनाको अनुसन्धान जारी रहेको उनले बताए । सबैभन्दा थोरै तेह्रथुममा एक सयवटा आपराधिक घटना भएका छन् । सबैभन्दा बढी अपराध हुने सुनसरीमा आर्थिक वर्षमा २० वटा कर्तव्य, ६२ वटा ज्यान मार्ने, ५ अपहरण, ८ वटा हातहतियार तथा खरखजाना, २ सय २४ लागूऔषध, १ सय ५० वटा आत्महत्याको घटना भएको प्रहरीको अभिलेखमा उल्लेख छ । झापामा १ हजार ६ सय ८७, इलाममा तीन सय ४२, पाँचथरमा २ सय ८१, ताप्लेजुङमा एक सय ६७, मोरङमा १ हजार ६ सय ३७, सुनसरीमा एक हजार नौ सय ९०, धनकुटामा एक सय ४७, तेह्रथुममा १ सय, भोजपुरमा एक सय ६६, सङ्खुवासभामा दुई सय १८, उदयपुरमा ५ सय ३५, खोटाङमा १ सय ६०, ओखलढुङ्गामा १ सय ३० र सोलुखुम्बुमा एक सय ३१ वटा आपराधिक घटना भएको प्रदेश प्रहरीको तथ्याङ्कमा छ । ‘बारको आधारमा सबैभन्दा बढी अपराध शुक्रबार हुने गरेको देखिएको छ’ डिआइजी रिजालले भने, ‘शनिबार बिदा हुने शुक्रबार रमाइलो गर्ने बहानामा मदिरा सेवनबाट अपराध हुने गरेको देखिन्छ ।’ उनका अनुसार दिउँसो १२ देखि साँझ ६ बजेको बीचमा अपराधको घटना बढी हुने गरेको बताए ।

गुण्डागर्दीको दिन गएः डिआइजी रिजाल डीआईजी रिजालले गुण्डागर्दी नियन्त्रण गर्ने अभियानको रूपमा लागिपरेको बताए । कसैले गुण्डागर्दी गर्छ भने प्रहरीले तत्काल नियन्त्रणमा लिएर कारबाही अगाडि बढाउनेछ । उनले असारदेखि ३ महिने गुण्डागर्दी नियन्त्रण अभियानमा शुरु गरेको बताए । ‘प्रोफाइलअनुसार गुण्डाहरूको वर्गीकरण गरेर नियन्त्रण गर्ने अभियानको थालनी गरेका छौं’ रिजालले भने, ‘उनीहरूको स्तरअनुसार निगरानी बढाएका छौं ।’ राजनीतिक आडमा गुण्डाहरूले उद्योगी व्यवसायीहरूसँग हप्ता उठाउने, ठेक्कापट्टामा हस्तक्षेप गर्नुका साथै आपराधिक गतिविधि सञ्चालन गर्दै आएका छन् । कुनै न कुनै दलमा आबद्ध भएकाले पनि गुण्डागर्दी नियन्त्रणमा समस्या छ । तर, प्रदेश प्रहरीले संरक्षण गर्ने नेतालाई समेत गुण्डाकै कोटीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ । अभियान अन्तर्गत पक्राउ परेका १ सय ४३ मध्ये १ सय ३३ जनालाई कडा निगरानीमा राखिएको डीआईजी रिजालले बताए । यो अवधिमा सबैभन्दा बढी सुनसरीबाट २३ र सबैभन्दा कम धनकुटाबाट १ जना पक्राउ परेका छन् ।