रङ्गेली । शुद्ध दूधले गाईपालन थालेकी मोरङ कटहरी गाउँपालिका–१ की रञ्जना चालिसेको लागि कमाइको माध्यम बनेको छ । एउटा गाई ल्याएर आफ्ना सन्तानलाई दूध खुवाउन थालेकी उनले अहिले मोहन गौशाला सञ्चालन गरिरहेकी छन् । जसबाट मनग्य आम्दानीमात्रै लिँदिनन्, आफ्ना सन्तानको लागि शुद्ध दूधसमेत खुवाइरहेकी छन् । १८ वर्षअघि एउटा गाईबाट बढेको पाइला रोकिएको छैन । नाति–नातिनाको मायाले बुबाले किनिदिएको गाईले उनी अहिले आफ्ना सन्तानलाई मात्रै हैन, धेरै सन्तानलाई दूध खुवाइरहेकी छन् । माइती घर र श्रीमान्को घर नजिकै भएकाले पनि उनलाई बुबाले नाति–नतिनाका लागि गाई किनिदिएको स्मरण गर्छिन् । त्यही गाई अहिले गौशालाको रूपमा परिणत भएको उनी सुनाउँछिन् । उनको माइती घर विराटनगर–२ मा पर्छ । प्रशस्तै बारी भएकाले गाईका लागि पर्याप्त घाँस हुने भएपछि गाईपालनमा घरपरिवार नै लागेका थिए । घरपरिवारका अन्य सदस्यले दुःख गर्न नसकेपछि आफैले स्याहार गर्न थालेको उनी बताउँछिन् । उनका श्रीमान् इन्द्रमोहन ठाकुर मार्केटिङ पेशामा आबद्ध थिए । त्यसैबाट उनलाई प्रशस्तै आउँथ्यो । कुनै दुःख गर्नु पर्र्दैनथ्यो । तर गाईको रेखदेखमा राखेका सहयोगीबाट प्रशस्तै सहयोग भएपछि गाईको संख्या बढाउँदै गएको उनी बताउँछिन् । अहिले उनको गौशालामा ८० माउ गाईमात्रै छन् । त्यसका बच्चाबच्ची उस्तै छन् । गाई स्याहारको लागि पाँचजना सहयोगी छन् । जीवनको ५० वसन्त पार गरिसकेकी चालिसे घरपरिवारको सहयोगले यो स्थानमा आएको सुनाउँछिन् । गाईको संख्या बढेसँगै उत्पादन भएको दूधको श्रीमान्ले बजारको व्यवस्थापन गरिदिएकाले सहज भयो । यसरी गाईको दूधबाटै घर खर्चसमेत चल्ने अवस्था सृजना भएपछि श्रीमान्ले दूधको बजारीकरणमा समय दिन थालेको उनी बताउँछिन् । उनको परिवारलाई गाई पालनका लागि थप ऊर्जा जिल्ला पशुसेवा कार्यालय पनि दियो । तात्कालीन पशुसेवा कार्यालय मोरङका पशु चिकित्सक कुमारसिंह खत्रीको सहयोगले नै उनी यो ठाउँसम्म आइपुग्न सफल भएको सुनाउँछिन् । उनको हौसलाकै कारण अहिले आफू यस स्थानमा आउन सफल भएको बताइन् । गाईपालनको शुरुको चरणमा उनको घरबाट गौशाला पुग्न ४५ मिनेट लाग्थ्यो । गाई बिरामी हुँदा रातविरात जानुपर्ने त्यही बेला मधेस आन्दोलन पनि उत्कर्षमा रहेकाले निकै असहज हुन्थ्यो । सिङ्घिया खोला तरेर जानुपर्ने बाध्यता थियो । सुनसान बाटो भएकाले पनि उनलाई निकै कष्ट पनि भएको स्मरण गर्छिन् । त्यसपछि गोठछेउमै टहरा बनाएर बस्न थालिन् । अहिले गौशालाको कमाइबाटै ठाकुर परिवारले सोही स्थानमा घर ठड्याएका छन् । उनका तीन सन्तानमध्ये एक छोरा र छोरीको बिहेवारी पनि गरिदिएका छन् । यसैबाट उनीहरुलाई पढाइन्, हुर्काइन् । समय–समयमा हुने गरेको ‘मिल्क होली डे’ बाट जोगिन ठाकुर परिवारले डेरी सञ्चालन पनि ल्याएका छन् । दूधका विभिन्न परिकारसमेत बनाउन थालेको उनी सुनाउँछिन् । आफ्नो र किसानको गरी १६ सय लिटर दूधको व्यवस्थापन गर्ने गरेको छोरा रविन ठाकुरले बताए । त्यसैगरी दूधबाट बन्ने सबै प्रकारको मिठाई उत्पादन गर्ने गरेको रविन बताउँछन् । विराटनगर–२ को बञ्जरा चोकमा रहेको बिक्रीकेन्द्रबाट मिठाईसँगै दैनिक १४ सय वटा समोसासमेत बिक्री गर्ने गरेका छन् । अहिले मासिक सरदर १ लाख रुपैयाँसम्म मुनाफा हुने गरेको उनले बताए । २० हजारको लागतमा २ कठ्ठा जमिनमा गाई गोठ बनाएर शुरु गरेको अहिले साढे ६ कठ्ठा जमिनमा फैलिएको छ । निकट भविष्यमा १२ कठ्ठा जमिन थपेर कुखुरा र बाख्रापालन शुरु गर्ने लागेको चालिसेले जानकारी दिइन् । घाँसका लागि ४ बिघा जमिन भाडामा लिएका छन् । मेहनत गरे कृषि कर्मबाट पनि राम्रै जीवनयापन गर्ने सकिने देखर छोराहरूलाई पनि यसै पेशामा लाग्न उत्प्रेरित गरिरहेको उनी बताउँछिन् । उनले छोराहरूको सहयोगमा व्यवसाय बढाउने सपना पालेकी छन् । यद्यपि कृषि व्यवसायमा अझै पनि लगानीको समस्या रहेको उनले गुनासो गरिन् ।