धरान । १० वर्ष अघि सप्तकोशी नदीले गरेको महाविनाशका विषयमा नेपाली साझा मञ्चले शनिबार प्रदेश १ का सभामुख प्रदीप भण्डारी, मुख्यमन्त्री शेरधनराईलगायत प्रदेश सभाका सांसद्सँग संक्षिप्त अन्तक्र्रिया गरेको छ । सुनसरीको पश्चिम कुशाहस्थित तटबन्ध भत्काएर हरिपुर, श्रीपुर र पश्चिम कुशाहलाई पूर्णरूपमा क्षति पु¥याएको विषयमा टोलीले अवगत गराएको थियो । सोही विषयलाई समेटेर मञ्चले वृत्तचित्र र फोटो प्रदर्शनी गर्ने योजनासमेत बनाएको मञ्चका सुनसरी सह–संयोजक लक्ष्मण थापाले बताए । महाविगनाशले पारेको आर्थिक, सामाजिक, प्रशासनिक, शैक्षिक, राजनीतिक, जनस्वास्थ्य, पर्यटकीय र वातावरणीय प्रभावको पुनः दृश्यावलोकन गराउनुका साथै महाविनाशका समयमा गर्नुपर्ने पूर्व तयारीका सम्बन्धमा प्रदर्शनीले सचेत गराउने छ । सोही अवसरमा फोटो पत्रकारलाई सम्मानसमेत गरिने योजना छ । टोलीले राष्ट्रले गरेको सन्धि सम्झौतामा पुनर्विचार गर्न र नयाँ सन्धि सम्झौतामा गम्भीरतापूर्वक राष्ट्रिय हितका पक्षमा गर्न आग्रह गरेको थियो । समीक्षात्मक अन्तक्र्रियामा सभामुख प्रदीपकुमार भण्डारी, मुख्यमन्त्री शेरधन राई, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियतको सहभागिता थियो । भने मञ्चका तर्फबाट अन्र्तराष्ट्रिय संयोजक एवम् केन्द्रीय अध्यक्ष महेश श्रेष्ठ, सुनसरी संयोजक विश्वबन्धु ताम्राकार(तमोट)लगायत पदाधिकारीको उपस्थिति थियो । सरकारी तथ्याङ्कअनुसार सप्तकोसीको महाविनाशबाट ७ हजार पाँच सय ७२ घर परिवारका ४२ हजार आठ सय नागरिक विस्थापित भएका थिए । सुनसरीका ५ हजार ५ सय हेक्टर खेतीयोग्य जमिन बालुवामा परिणत भएको थियो । सप्तकोशी नदीले १२ किमी कालोपत्रे सडक र १३ किमी कच्ची सडक बगाउँदा लामो समयसम्म यातायात अवरुद्ध भएको थियो । दर्जनौं विद्युतका पोल क्षतिग्रस्त हुदा पूर्वी नेपाल महिनौंसम्म अन्धकार भएको थियो । नेपाल टेलिकमको अप्टिकल फाइबर बगाउँदा सञ्चार सेवाबाट समेत पूर्वेलीहरू सम्पर्कविच्छेद भएका थिए । सडक यातायात अवरुद्ध हुँदा सप्तकोशी पूर्व र पश्चिम आवतजावत गर्न भारतको बाटो भएर जानु पर्दथ्यो । सप्तकोशी नदीले त्यसबेला भारतको बिहार राज्यका १८ जिल्ला डुबाएको थियो । बाढीबाट ३३ लाख मानिस प्रभावित भएका थिए  । सयौंको मृत्यु समेत भएको थियोे । सप्तकोशी नदी भाद्र २ गते दिउँसो १२ बजेर ४४ मिनेटमा मानव बस्तीमा प्रवेश गरेको थियो भने भाद्र २ गतेदेखि माघ १३ गतेसम्म मानव बस्तीमा प्रवेश गरेको थियो । नदीलाई माघ १३ गते साँझ ६ः४० मा पुनः पुरानै धारमा फर्काइएको थियो । कोशी नदी मानव बस्तीमा १ सय ६२ दिन बग्दा नदीले त्यहाँका जनतालाई घरबार विहीन त बनायो नै सुन जस्तै धानका बाला लहलहराउने सुनसरीका खेती योग्य जमिन मरुभूमिमा परिणत गरेको थियो ।