उदयपुर । उदयपुरमा बाँस तथा निगालोको सामान लोकप्रिय बन्दै गएको छ । बाँसबाट विभिन्न आकृति र घरमा प्रयोग हुने अति आवश्यक सामग्री बन्ने भए पनि व्यवसायिक रूपमा उत्पादन नगर्दा लोप हुने खतरा भए पनि पछिल्लो पिँढीले बाँसको सामान र बाँसप्रतिको मोहले लोकप्रिय बन्दै गएको हो । घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा बाँस तथा निगालो वस्तु विकास तथा प्रशिक्षण केन्द्र उदयपुरले आत्मनिर्भर बनाउने हेतुले दिँदै आएको तालिमबाट उत्पादित जनशक्तिले उत्पादन गरेका बाँसका सामान लोकप्रिय हुँदै गएको छ । २०५७ सालमा स्थापना भएको प्रशिक्षण केन्द्रले एक वर्षमा ४० जना हस्तकलाका जनशक्ति उत्पादन गर्र्दै आएको छ । वस्तु विकास तालिमको बजेट केन्द्रबाट नै छुट्टिएर आउने भए पनि जिल्ला घरेलु तथा साना उद्योग विकास समितिद्वारा तालिम दिनुपर्ने र बाँस तथा निगालोबाट काइँयो, बिनायो, डालो, नाङ्लो, सोली, पूmलदानी, कोट, टोपीदेखि टेवल, कुर्सी, बेड लगायत विभिन्नखालको तालिम प्रदान गर्दै आएको प्रमुख प्रशिक्षक शान्ता राईले बताइन् । हाल बाँसबाट बनेको मायाको चिनो र मुढा बढी प्रयोगमा आए पनि बाँसको अन्य सामान कम प्रयोगमा आएको छ । बाँसको सामान बढी टिकाउ र कम मूल्यमा पाउने भए पनि बाँसको महत्व नबुझी मानिसहरु बजारमा आएको सामान खरिद गरिरहेकाले समाजमा बाँसको महत्व बुझाउनु अहिलेको चुनौती भएकोे जिल्ला घरेलु तथा साना उद्योग विकास समितिका निर्देशक शम्भुप्रसाद साहले बताए । बाँसको सामग्रीबाट आत्मनिर्भर भई व्यवसायिक रूपमा विकास गर्नुपर्ने र आर्थिक वर्षमा नगरपालिका र गाउँपालिकाहरुसँग समन्वय गरी बाँस वस्तु विकास र महत्वको विकास गरी उदयपुरलाई नेपालकै एक बाँस वास्तुकलाको केन्द्र बनाउने उद्देश्य लिएको जिल्ला घरेलु तथा साना उद्योग विकास समितिको निर्देशक साहले बताए । तालिम लिएपछि उत्पादन भएको बाँसका सामग्रीहरु कोसेली घर गाईघाटले बिक्री वितरण गरिदिने गरेको छ भने कोसेली घरमा हाल एक सयभन्दा बढी आइटमका बाँसका सामग्रीहरु रहेको कोसेली घर गाईघाटका सञ्चालक रुद्रबहादुर श्रेष्ठले बताए । कोसेली घरमा ४–५ वटा जिल्लाबाट बाँस तथा निगालोका सामग्री आउने गरेको छ । बाँसका सामग्री प्रतिदिन ५–१० वटा बिक्री हुने भए पनि मुढा र मायाको चिनो जस्ता सामग्री मात्रै बिक्री हुने गरेको र आमदानी पनि सामान्य हुने उनले बताए । बिक्रीबाट घरपरिवार चलाउन पुग्ने सञ्चालक श्रेष्ठले बताए । उनले परापूर्वकालदेखि नै नेपालीहरुले बाँसका विभिन्न सामग्रीकोे प्रयोग गर्दै आए पनि नयाँ पिँढीले महत्व नबुझेपछि लोप हुँदै गएको बताए । यस्तै अवस्था रहेमा बाँसका सामग्रीहरु सङ्ग्रहालयमा मात्रै सीमित हुनसक्ने उनले बताए ।