भद्रपुर । भारतको विहार र बङ्गाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सार कार्यालय ३६ वर्षपछि पुनः प्रमुख भन्सार भएको छ । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहतमा रहेको भद्रपुर छोटी भन्सारलाई विभागले चालु आर्थिक वर्षको शुरुबाट प्रमुख भन्सारको रूपमा मान्यता दिएको हो । अब झापाको पूर्वी सीमानामा भद्रपुर र मेची गरी दुईवटा प्रमुख भन्सार कार्यालय भएका छन् । वि.सं. २००८ सालमा झापामा एकमात्र प्रमुख भन्सारको रूपमा स्थापना भएको भद्रपुर पूर्व–पश्चिम महेन्द्र राजमार्ग सुचारु भई काँकरभिट्टासँग जोडिन पुगेपछि मेची भन्सारको स्थापना भई भद्रपुरलाई छोटी भन्सारमा राखिएको थियो । वि.सं. २०३९ सालदेखि भद्रपुर छोटी भन्सारको गतिविधिलाई मेची भन्सारले हेर्दै आएको थियो । मेची पुल निर्माण कार्य सम्पन्न भएलगत्तै नेपाल सरकार र भन्सार विभागको पहलमा भद्रपुर भन्सारको स्तरोन्नति भएको बताइएको छ । भद्रपुर भन्सार कार्यालयको स्तरोन्नति भए पनि विभागबाट कर्मचारी नखटाइएकोले तत्काल मेची भन्सारकै मातहतमा सञ्चालन हुने मेची भन्सार अधिकृत विमल पौडेलले जानकारी दिए । विभागबाट अधिकृतसहितको कर्मचारी पठाएपछि सम्पूर्ण काम र कर्तव्य विभागसँग जोडिने अधिकृत पौडेलको भनाइ छ । निर्णय भइसकेले राजपत्रमा प्रकाशित पनि अब केही दिनभित्रमा हुने उनले जानकारी दिए । राजमार्ग दक्षिणमा सञ्चालित केचना, झापा, घेराबारी र पञ्चपाडा भद्रपुर मतहतमामा रहने गरी विभागले तयारी शुरु गरिसकेको बुझिएको छ । भद्रपुर–५ स्थित करिब १० का क्षेत्रफलमा भद्रपुर भन्सारमा हाल दुईवटा गोदामसहित एउटा भवन छ । पुरानो भवन भत्काएर पाँच वर्षअघि दुईतले भवन र एउटा गोदाम घर मेची भन्सारले सञ्चालनमा ल्याएको थियो । तर मेची पुल पश्चिमतर्फ रहेको भन्सार कार्यालयको उत्तरबाट सडक विस्तार हुने भएकोले कार्यालय भवनमा केही क्षति हुने भएको छ । भन्सार विभागले पूर्वाधारको योजनासँगै भद्रपुर भन्सारलाई दीर्घकालीन व्यवस्थापन नगरिएकोले नेपाल सरकार, भन्सार विभाग र स्थानीय सरकारले तत्काल भन्सारको पूर्वाधार निर्माणमा जुट्नुपर्ने स्थानीय व्यवसायीको भनाइ छ । भारतको विहार र बङ्गाल राज्य, बङ्गालदेशसहित भुटानसँगको दूरी कम रहेको भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणका लागि १० बिगाहा जमिनको आवश्यकता रहेको कार्यालयले जनाएको छ । सडकको आसपासमा जमिन खरिदका लागि अध्ययन शुरु भइसकेकोले भन्सारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, चेकजाँच स्थल, पशु, कृषि, खाद्य क्वारेन्टाइन, कार्यालय, गोदाम, पार्किङस्थल रहने भन्सार कार्यालयले जनाएको छ ।