तेह्रथुम । मेन्छ्यायेम गाउँपालिका मोराहाङका थापा दम्पतीले करोडभन्दा बढी रुपैयाँ गरिब दुःखीका नाममा खर्च गरिसकेका छन् । आर्थिक उपार्जनका लागि अमेरिका गएका थापाले १२ वर्षको अवधिमा यतिका धेरै रकम अरुलाई सहयोग गरेका हुन् । १४ वर्षअगाडि तात्कालीन माओवादीले अपहरण गरी सात दिनपछि मर्यो भनेर फ्याँकेका थापा काठमाडौंमा उपचारपछि ठीक भएका थिए । काठमाडौंमा दुई वर्ष काम गरेर ऋण खोजेर अमेरिका पुगेका थापा अमेरिका गएको दुई वर्षदेखि नै गरिब, दुःखीलाई सहयोग गर्न थालेको बताउँछन् । ‘दुई–चार पैसा कमाएर कसरी गरिबलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले गाउँमा हुँदादेखि नै पोलिरहन्थ्यो, त्यसमाथि मरेर पनि बाँचेको छु’ अमेरिकामा रहेका थापाले भने, ‘जति पैसा कमाए पनि अरुको समाजसेवामा नै खर्च गरिरहेको छु ।’ गाउँकै मोराहाङ बजारमा सानो पसल खोलेर बसेका थापासँग माओवादीले ७ लाख चन्दा माग्दा नदिएको हुनाले जङ्गलमा सातदिन राखेर कुटेर फ्याँकेको उनी स्मरण गर्दछन् । पारिवारिक अवस्था अत्यन्तै कमजोर भएका थापा बाँच्नका लागि काठमाडौं गएको र आफ्नो मेहनतले अमेरिका पुगेको बताउँछन् । यो अवधिमा थापाले नाम र दाम दुवै कमाएका छन् । थापा पेशाले न्यूयोर्कका ड्राइभर हुन् । श्रीमतीको ब्युटी पार्लरबाट हुने आर्जनले घर चलाउन सामान्य सघाउ पुगे पनि तीन छोराछोरीको आवश्यकता पूरा गर्ने दायित्व उनकै छ । त्यति गर्दा पनि दिन–रात मेहनत गरेर दुःखी गरिबको सहयोगका लागि रकम छुट्याउँदै आएको थापा बताउँछन् । ‘म दिनमा १८ देखि २० घण्टासम्म श्रम गर्छु । त्यही आर्जनबाट घर चलाउँछु र आत्मा सन्तुष्टिका लागि पीडामा रहेकाहरुलाई सेवा गर्न सकेको छु । आफ्नो गाँस काटेरै भए पनि पीडितलाई सहयोग गर्न पाउँदा धन्य लाग्छ ।’ आफूले के कमाएँ भनेर होइन, अर्कालाई कति सहयोग गर्न सकेँ भनेर खुसी लाग्ने गरेको थापा बताउँछन् । उनीहरुलाई न ठूल्ठूला घोषणासभाको जरुरत पर्छ, न आफूले सहयोग गरेपछिको प्रचारप्रसारकै । उनीहरु चुपचाप गरिब र निमुखाहरुको उद्धारमा जुटिरहन्छन्, चाहे दुनियाँले आफूलाई चिनोस् या नचिनोस् । गाउँमा रहँदा पनि उनी खेलमैदान, बाटोघाटो, पुल निर्माणमा अघि सर्ने गरेको छिमेकीहरु बताउँछन् । अमेरिका आएपछि कोही काम नपाएर अप्ठ्यारोमा परेकालाई काम खोजिदिनेदेखि काम नपाउन्जेल सित्तैँमा खान–बस्न दिनेजस्ता सहयोग उनले धेरैलाई गरेका छन् । कठिनाइमा परेकालाई सकेको आर्थिक सहयोग पनि उनले जारी नै राखेका छन् । त्यस क्रममा २०७२ को महाभूकम्प गएपछि पीडितहरुको उद्धारका लागि नेपालमा रहेकी दिदीमार्फत् पाँचलाख रुपैयाँ सहयोग पठाए । गतवर्षको बाढीपहिरो पीडितका लागि पनि तत्काल पाँचलाख रुपैयाँ पठाएको उनी बताउँछन् । अहिलेसम्म काठमाडौंमा मात्र ६–७ जना मृगौलापीडितलाई जनही १० हजारदेखि ७० हजार रुपैयाँसम्म सहयोग गरेको उनी सुनाउँछन् । त्यस्तै धरानका एक मृगौला रोगीलाई २ लाख र अर्का एकजनालाई १ लाख २० हजार रुपैयाँ सहयोग पठाइदिएका छन् । नेपालका विभिन्न समाचार नछुटाई हेर्ने थापा त्यहाँ कुनै दुःखी सर्वसाधारणको पीडाबारेको समाचार देखेपछि आफ्नो मन सहयोगका लागि छट्पटिन थालिहाल्ने बताउँछन् । केही समयअघि पर्साको मौवान्–७ स्थित दलित प्राथमिक विद्यालयको जीर्ण अवस्थाबारे टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगमा रिपोर्ट प्रसारण भएपछि थापाले प्रस्तोता रवि लामिछानेमार्फत् दुई पटक गरी पाँचलाख रुपैयाँ सहयोग गरे । रिपोर्टमा स्कुलको अवस्था साँच्चीकै भयावह देखाइएको थियो । डेस्क–बेञ्चको अभावमा बालबालिका बोरामा बसेर पढ्दै थिए भने भवन पनि जीर्ण थियो । यो दृश्यले उनलाई धेरै भावुकसमेत बनायो । ‘ती नानीहरुले राम्रोसँग पढ्न पाए भोलि देश हाँक्ने कर्मचारी बन्लान् । नेता–सभासद् बन्लान्’– उनी भन्छन् । यसैगरी सिधा कुरा जनतासँगमा एक वृद्धाले सहकारीमा राखेको १० लाख रुपैयाँ सहकारी सञ्चालकले ठगेर उनलाई बिचल्ली पारेको रिपोर्ट बजाएपछि थापाले २० हजार रुपैयाँ सहयोग पठाएका थिए । त्यस्तै सोही कार्यक्रमको फरक अङ्कमा देखाइएको धर्मे छोराले सबै सम्पत्ति हत्याएर घर न घाटको बनाएका एक वृद्धलाई ५० हजार रुपैयाँ पठाइदिएको उनी बताउँछन् । साउदी अरबको अदालतबाट निर्दोष ठहरिए पनि जेलमुक्त हुन नसकेका प्रेम राईलाई बचाउन थापाले केही समयअघि मात्र पाँचलाख रुपैयाँ सहयोग गरेका छन् । थापाको उक्त सहयोगको प्रशंसा गर्दै युनाइटेड किरात राई संस्थाले गत जुन २३ मा न्यूयोर्कमा आयोजित कार्यक्रममा सम्मान गरेको थियो । यो रकम प्रेम राई बचाऊ अभियानलाई दिँदा पनि उनीसँग हातमा नगद नहुनाले ऋण लिएर दिएको बताए । ‘अदालतबाट निर्दोष ठहरिएका प्रेम त्यहाँबाट छुट्दा उनकी सानी छोरीसहित सिङ्गो परिवारको मुहारमा मुस्कान छाउँछ’ उनी भन्छन्, ‘त्यति मात्र होइन, एउटा गाउँ नै खुसी हुन्छ । आखिर जति कमाए पनि अन्त्यमा लिएर जाने होइन ।’ उनले केही दिनअघि मात्र बोनम्यारो पीडित पाँचथरकी ४ वर्षीया एलिस्ना राईको उपचारका लागि १० हजार रुपैयाँ सहयोग रकम नेपाल पठाएका छन् । त्यस्तै साउदी अरबकै जेलमा रहेका कुमार रानाको उद्धारका लागि २ लाख रुपैयाँ, आफूले अक्षर चिनेको सिकिदेम माविलाई तीन लाख र गौखुरी माविलाई पाँचलाख रुपैयाँ सहयोग दिइसकेका छन् । केहीअघि मुस्ताङमा भएको टिपर दुर्घटनामा परेर त्यहाँ श्रम गर्न गएका एक दम्पतीको निधन भएपछि बिचल्लीमा परेका दुई नाबालक छोरालाई पढाउने जिम्मा लिने प्रक्रिया पनि थापाले शुरु गरेको बताउँछन् । आफ्नै गृहजिल्ला तेह्रथुमको जिरीखिम्तीमा निर्माणाधीन वृद्धाश्रमलाई २ लाख रुपैयाँ प्रदान गरेका छन् । यसरी विभिन्न संस्था र दुःख पाएका व्यक्तिहरुका लागि हालसम्म परोपकारमा १ करोड रुपैयाँ हाराहारी खर्चिसकेको उनी सुनाउँछन् । थापाको अभियानमा श्रीमती मायाको उस्तै खुला सहयोग र सद्भाव छ । आफूलाई पनि अर्काको पीडाले असाध्यै दुख्ने भएको हुँदा श्रीमान्को सेवाभावलाई सदैव मद्दत गर्ने गरेको उनी सुनाउँछिन् । ‘श्रम गरेरै आर्जने हो, खान लाउन पुगेकै छ’ उनी भन्छिन्, ‘केही अंश बचाएर दुःखी गरिबलाई सघाउँदा आत्मालाई सन्तोष मिल्छ, आखिर थुपारेर के नै गर्नु छ र !’