तेह्रथुम । सरकारले महिलाका नाममा घरजग्गा पास गर्दा २५ देखि ३५ प्रतिशतसम्म राजश्व छुट दिने व्यवस्था गरेपछि जिल्लामा घरजग्गा रजिस्ट्रेशन गर्ने महिलाको सङ्ख्या वृद्धि भएको छ । सरकारले घरजग्गा पास गर्दा महिलालाई २५ प्रतिशत, एकल महिलालाई ३५ प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, दलित तथा अपाङ्गता भएकालाई २५ प्रतिशत रजिस्ट्रेशन पासमा छुट दिँदै आएको छ । राजस्व छुट हुँदा सर्वसाधारणले राहत पाउनुका साथै घरजग्गा लगायतका अचल सम्पत्तिमा महिलाको स्वामित्व समेत बढ्दै गएको छ । जिल्ला मालमोत कार्यालयका अनुसार विगत तीन वर्षयता मात्र तेह्रथुममा ९ सय ६९ जनाले महिलाको नाममा घरजग्गा पास गरेको निमित्त कार्यालय प्रमुख रमेश गौतमले बताए । ‘विगत चार पाँच वर्ष अघिसम्म महिलाको नाममा घरजग्गा दर्ता गराउने विरलैमात्र भेटिन्थे ।’ प्रमुख गौतमले भने । पछिल्लो समय राजश्व छुट र सामाजिक चेतनासँगै आएको परिवर्तनले जिल्लामा महिलाको नाममा घरजग्गा रजिस्ट्रेशन गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । यसले महिलाको आर्थिक तथा सम्पत्ति स्वामित्वमा वृद्धि गरेको रजिस्ट्रेशन फाँटकी प्रमुख रूकादेवी सुवेदी उप्रेतीले बताइन् । आर्थिक वर्ष २०७२÷०७३ मा ग्रामिण महिलाको नाममा ३ सय ३९ जना, शहरी महिलाका नाममा ३ सय ४, शहरी दलित ५, ग्रामिण दलित ९ जनाको नाममा लिखत पास भएको छ । भने अपाङ्ग शहरी २ र ग्रामिण ५ जनाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरूले १५ लाख १६ हजार ६४ रुपैयाँ राजस्व छुट पाएका छन् । आव २०७३÷०७४ मा ग्रामिण महिलाको नाममा १ सय ८३ जना, शहरी महिलाका नाममा १ सय १९ जनाको नाममा घरजग्गा पास भएको छ भने दलित ग्रामिण ७, शहरी ४ र अपाङ्ग १ र जेष्ठ नागरिक ३ जनाको नाममा लिखत पास भएको मालपोत कार्यालयले जनाएको छ । जसबाट उनीहरूले ५ लाख ४० हजार ८ सय ३ रुपैयाँ छुुट पाएका छन् । आ.व. २०७४÷०७५ मा ग्रामिण महिलाको नाममा १ सय ११, शहरी महिलाका नाममा २ सय १७, दलित ग्रामिण १, शहरी १ र अपाङ्गता भएका २ जनाको नाममा जग्गा पास भएको छ । जसबाट उनीहरूले ८ लाख ८० हजार ७ सय ७० रुपैयाँ छुट पाएका छन् । यसरी तीन वर्षमा उनीहरूले २९ लाख ३७ हजार ६ सय ३७ रुपैयाँ छुट पाइसकेको कार्यालयले जनाएको छ । जिल्लामा एकल महिलाहरूले अहिलेसम्म घरजग्गा पास नगरेको प्रमुख गौतमले बताए । सरकारले दलित र ७० वर्ष माथि उमेरका जेष्ठ नागरिकले पनि आफ्नो नाममा घरजग्गा पास गराएमा महिला सरह राजस्व छुट दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०६५÷०६५ सालदेखि शेष पछिको वकसपत्र, दानपत्र र धितो बन्दकी बाहेकका महिलाको नाममा रजिस्ट्रेशन पास हुने घरजग्गामा सरकारले यस्तो सुविधा दिँदै आएको छ ।