ताप्लेजुङ । हिमचितुवा र भालु जस्ता जङ्गली जनावरले बारम्बार दुख दिईरहने ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रमा पछिल्लो समय ब्वासो आतंक मच्चिएको छ । ब्वासोले चरनक्षेत्र र गोठ गोठमानै पुगेर चौरी याक लगायतका घर पालुवा जनावर मारिदिन थालेपछि पशुपालन व्यवसायमा आस्रितहरु समस्यामा परेका छन् । यस अघि कहिल्यै नदेखेको ब्वासोले एक पछि अर्को गर्दै चौरी र याकहरु मार्न थालेपछि स्थानिय समस्यामा परेको छन् । तिब्बतबाट नेपाल प्रबेस गरेको हुनसक्ने अनुमान गरीएको ब्वासोले कञ्चनजंघा क्षेत्रको चौरी र याकमा पल्किएपछि स्थानियको ठुलो क्षति गर्न थालेको छ । यस्ले ओलाङचुङगोला, घुन्सा, याङ्मा, याम्फुदिन लगायतका क्षेत्रमा धेरै क्षति पुर्याएको छ ।
हेर्दा स्थानिय कुकुर जस्तै देखिने तिब्बतियन व्वाँसोले सो क्षेत्रका कृषकहरुले गोठमा पालेको चौँरी, याक लगायतका घरपालुवा जनावारहरुलाई अाक्रमण गर्ने गरेको फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पाले बताए । “दुई तिन वर्ष अघि देखि अलि धेरै मात्रामा देखिन थालेको छ, अहिले त धेरैका नोक्सानी गरेको छ ।” शेर्पाले भने । “अहिले त प्रति परिवार १० देखि १५ लाखको क्षति गरेको छ ।” उक्त व्बाँसोले स्थानियको घर मै छिरेर क्षति पुर्याउने गरेको छ ।
यस्ले प्रत्येक वर्ष ३० देखि ३५ ओटा सम्म चौँरी तथा याकलाई मार्ने गरेको छ । याङ्माका स्थानिय फिन्जु शेर्पा भन्छन् “रातमा आउँछ गोठमा भएको चौँरीलाई खाईदिन्छ । हामीलाई त गाह्रो भयो ।” खासगरि कञ्चनजंघा संरक्षण क्षेत्रकै सबैभन्दा बढि गोठ भएको याङ्मामा अहिले पनि ५ सय भन्दा बढि चौँरीहरु रहेका छन् । १२ घर मात्र रहेको याङ्मा गाउँमा चौँरी गोठ बाहेका आलु मात्र उत्पादन हुने गरेको छ ।
“यहाँ त आलु मात्र उत्पादन हुन्छ ।” सोहि ठाउँका दावा शेर्पा भन्छन् “ भएको एउटा गोठमा पनि तिब्वतियन ब्वाँसोले मारेर सक्न लाग्यो, अब त वसाँई नै सर्ने बेला भयो ।” प्रायः यस व्वाँसोले व्याउन लागेको तथा धेरै उमेरका चौँरीलाई आक्रमण गर्ने गर्दछ । यो व्वाँसो करिब ५० वर्ष अघि देखिएको र पछिल्लो समय स्थानियको घर गोठमा यस्ले व्यापक क्षति पुर्याईरहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परीषदका अध्यक्ष खगेन्द्र फेम्बो बताए । “अग्रहरुका अनुसार करिब ५० वर्ष अघि यस्तो व्वाँसो देखिएको थियो । केहि समय अघि देखि त निकै धेरै क्षति पुर्याइरहेको छ ।” अध्यक्ष फेम्वो भन्छन् “यस्तै भयो भने केहि समय पछि सो क्षेत्रमा गोठ नै पाउन मुस्कील छ ।” “तर यस्मा हाम्रो लागि राम्रो अवशर पनि छ ।” उनि भन्छन् “तिव्वतमा पाईने व्वाँसो नेपालमा पनि पाईयो यो हाम्रो गौरवको बिषय हो ।” यति हुँदा हुँदै पनि यस्को व्यावस्थापनमा भने निकै ठुलो चुनौती रहेको उनले वताए । यतिका धेरै क्षति पुर्याउने सो व्वाँसोको बिषयमा भने गहिरो गरि अध्यायन गर्ने योजना रहेको अध्यक्ष फेम्वोको भनाई छ । “हामी यस व्वाँसोको बिषयमा गहिरो गरि अध्यान गर्ने योजनामा छौँ । ” अध्यक्ष फेम्वो भन्छन् “साथै क्षतिपुर्तीको लागि पनि दातृ निकाय तथा नेपाल सरकार सँग पहल जारी राखेका छौँ । ” यसअघि नै सो क्षेत्रमा हिमचितुवा लगायत वन्यजन्तुले घरपालुवा मार्दा अक्षय कोष मार्फत क्षतिपुर्ति दिने व्यवस्था गरीएको छ । त्यस अन्र्तगत विभिन्न ४ ओटा उपसमिति गठन गरिएको छ । भारतको शिकिम र चिनको तिब्बत दुबै देश सँग सिमाना जोडिएको कञ्चनजंघा संरक्षण क्षेत्रमा यि दुबै क्षेत्रबाट आउने बन्यजन्तुले स्थानियलाई बारम्बार दुख दिने गरेका छन् । वि.स २०५४ सालमा स्थापना भएको कञ्चनजंघा संरक्षण क्षेत्र ताप्लेजुङ जिल्लाको साविकको तापेथोक, लेलेप, याम्फुदिन र ओलाङ्चुङगोलाको २०३५ वर्ग कि.मी मा फैलिएको छ । यस क्षेत्रमा हिउँ चितुवा, भालु, हाब्रे, मुनाल, भंगेरा लगाएत पाईन्छन ।