उर्लाबारी । उर्लाबारी नगरपालिका–७ निवासी ७४ वर्षीय चन्द्रमाया पाठकलाई हरेक बिहानी सँगै ११ बजेसम्म पर्खन निकै कठिन हुन्छ । घरमा भएको भित्ते घडीको काँटा ११ तिर सोझिएपछि जीउ फुरुङ्ङ हुन्छ र नजिकै रहेको उर्लाबारी परोपकार सेवा केन्द्र पुगिहाल्छिन् । त्यहा“ उनीजस्तै जेष्ठ नागरिकसँग भलाकुसरी गर्दा ५ बजेको पत्तै हुँदैन  । विगत ६ महिनादेखिको दैनिकी नै बनेको छ चन्द्रमाया पाठकको । चन्द्रमाया मात्र होइन उर्लाबारी–७ का जेष्ठ नागरिक गोपाल थापाको पनि दिनचर्या त्यसरी नै कट्छ । अध्ययापन पेशाबाट सेवा निवृत्त भएका थापा पनि सेवा केन्द्रमा जाने साथीभाइसँग गफ गर्ने आवश्यक अध्यात्मिक ज्ञान दिने–लिने गर्दछन् । ‘यस किसिमको दैनिकीले घरमा गफ गर्ने सहेली नहुदा“ तनावमा जीउने हामीहरूका लागि अक्सिजन लिएको जस्तो महशुस हुने गरेको छ ।’ थापा भन्छन् । उर्लाबारीमा ६ महिना अघिदेखि सञ्चालनमा आएको सेवा केन्द्रमा नगरका ६० वर्ष उमेर समूहदेखि माथिका २५ जना जेष्ठ नागरिक भेला हुन्छन् । केन्द्रस्थित भवनमा ध्यान गर्ने, टेलिभिजन हेर्ने, झुला खेल्ने, ध्यान शिविरमा बस्ने, समय–समयमा स्वास्थ्य परीक्षण गर्ने र चियानास्तासमेत खान पाउँदा तनाव मूक्त हुने सेवा केन्द्रमा भेला भएका अधिकांश जेष्ठ नागरिहरूको भनाइ छ । नौ वर्ष अघि उर्लाबारी–७ का गङ्गाप्रसाद खरेलको अगुवाइमा मुख्य चोक नजिकै रहेको २ कट्ठा १ धुरमा निर्माण गरिएको तीन तले भवनमा उर्लाबारी परोपकार सेवा केन्द्र स्थापना गरी जेष्ठ नागरिकका लागि सेवा सुरु गरिएको हो । केन्द्रलाई थप सुविधा सम्पन्न बनाउन बजेटको अभाव भएकाले उर्लाबारी नगरपालिका, प्रदेश र केन्द्र सरकार समक्ष बजेटको माग गर्ने योजना रहेको खरेलले बताए । एकसय जना जेष्ठ नागरिकलाई सेवा दिन सक्ने क्षमता भएको सेवा केन्द्रमा मासिक २५ हजारसमेत अध्यक्षले बेहोर्दैै आएकाले दीर्घकालीन स्रोतको तयारीमा रहेको खरेलले बताए । २०७३ साल फागुन २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको उद्घाटन गर्दै जेष्ठ नागरिकहरूका लागि खोलिएको सेवा केन्द्रको खुलेर प्रशंशा गरेका थिए । केन्द्रका लागि खरेलसहित उर्लाबारीका व्यवसायीहरू प्रेमचन्द बाहेती, मानबहादुर श्रेष्ठ, चेतराज श्रेष्ठ, कुमार श्रेष्ठको समुहले सहयोग गरेको छन् ।