इलाम । इलाम नगरपालिका–४ निवासी ६३ वर्षीय कमल मुखियाको घरको बारदलीमा रहेको बेगुनिया फूलले सबैको मन आकर्षित गर्ने गरेको छ । माईपोखरी जाने सडकको बायाँपट्टि जसबिरेस्थित घरको बारदलीमा मौसम अनुसारको बेगुनिया फूल ढकमक्क फूलेका छन् । युवाअवस्था देखि नै फूलप्रतिको आकर्षणले भारतदेखि फूल किनेर ल्याई रोप्ने गरेका कमल अहिले पनि फूलप्रति उत्तिकै शौखिन रहेको बताउँछन् । भारतको सिलिगुडीबाट फूल ल्याई रोपेर घरो सजावट मात्र होइन बीउ उत्पादन गरी कुनै समय गोजीमा बोकेर काठमाडौँसम्म लगेर बेच्ने गरेको उनी बताँउछन् । फूल खेतीको आकर्षण देखेर बाटो हिँड्ने समेत आएर माग्ने, फोटो खिच्ने गर्ने गरेकाले सबैको ध्यान आफूले रोपेको फूलमा हुने गरेको उनी बताउँछन् । ०३९÷४० सालमा प्रथम पटक पाँच रुपैयाँ प्रतिगोटाका दरले एक सय रुपैँयाको फूल इलाम सदरमूकाममा बिक्री गरेपछि फूलबाट आर्थिक लाभ समेत हुने रहेछ भनी व्यवसायिक नर्सरी खेती गरेको बताउँछन् । हाल भने उमेर बढेसँगै पहिलेबाट फूलको शौख रहेको हुँदा मात्र सिजनको फूल रोपी बिक्री गर्ने गरेको बताए । गत वर्ष आठ हजारको बेगुनिया बिक्री गरेकोमा हाल दश हजारको माग भइसकेको उनको भनाइ छ । प्रतिगोटा दुईदेखि तीन सय रुपैँयामा बिक्री हुने बेगुनिया फूल फुल्न कोपिला लागेपछि इलाम सदरमुकाममा ल्याउने गर्दछन् । प्राविधिक ज्ञान भएपश्चात बेगुनियालाई मिहिनेत नलाग्ने भएकाले पनि यसप्रति आफू आकर्षित हुने गरेको बताउँछन् । जङ्गली माटो, गाईवस्तु, बङ्गुरको मल र पत्कर मात्र चाहिने हुनाले यसलाई उत्पादन गर्न सजिलो हुने गरेको छ । बीउबाट विरुवा उमार्न झन्झटिलो हुने र महँगोसमेत हुनाले बेगुनिया महँगोमा बिक्री हुने गर्दछ । सात वर्ष अगाडि महिला विकास कार्यालयले फूल प्रशिक्षकको रूपमा प्रशिक्षण दिएको र प्रशिक्षितहरूले कन्याम, हकर्टे तथा पशुपतिनगरमा व्यवसायिक फूल खेती गरी लाखौँ आम्दानी गरिरहेकाले फूल खेती घरको आकर्षण मात्र नभई यसले आर्थिक पाटो समेत माथि उकास्ने उनी बताउँछन् । कमल मात्र होइन इलामका उत्तरी भेग पुवामझुवा, जसवीरे, माईपोखरीलगायतका ठाँउमा वर्षात्को समयमा ‘बेगुनिया’ को आकर्षण हेर्न पाइन्छ । वर्षात्मा धेरै समयसम्म नटिक्ने भएपनि यसप्रतिको आकर्षण भने बढ्दो छ ।