नेपालको संविधान २०७२ ले राज्य धर्मनिरपेक्ष रहनेछ भनी राज्यको मत राखेको छ । साथै नेपालमा कुनै खालको लोभ, लालच, प्रलोभन तथा दबावमा कसैको धर्म परिवर्तन गर्ने गराउने कुरालाई गैरकानूनी कार्यको रूपमा व्याख्यासमेत गरेको छ । यो संविधान अन्तरिम संविधान २०६३ को जगमा निर्माण गरिएको संविधान हो । अन्तरिम संविधान २०६३ जारी हुनुअगाडि नेपालमा लागू संविधान २०४७ ले नेपाललाई हिन्दु अधिराज्यको रूपमा संवैधानिक व्याख्या गरेको थियो । लामो सङ्घर्षपछि प्राप्त संविधान २०७२ ले राज्यलाई धर्मनिरपेक्ष घोषणा गरेपछि नेपालमा धर्मसम्बन्धी बहस हुन असान्दर्भिक तथा अनपेक्षित जस्तो लाग्छ । धर्मको विषयलाई लिएर कुनै पनि खालका बहस तथा विवाद जारी रहन्नन् भन्ने अनुमान विपरीत नेपालको पूर्वीभेगमा भने धर्मको बहस सतहमा आएको छ । यो बहस अत्यन्तै चर्को रूपमा उठेको छ । विषेशतः नेपाल, भारतलगायत विश्वका विभिन्न देशमा छरिएर रहेका याक्थुङ (लिम्बू) समुदायले २०७५ वैशाख १६ गतेदेखि १८ गतेसम्म धरानमा सम्पन्न गरेको युमा मुन्धुम, धर्म र दर्शन विषयक अन्तर्राष्ट्रिय गोष्ठीले याक्थुङ (लिम्बू) समुदायको धर्म युमाधर्म हो भनी घोषणा गरेपछि चर्किएको धर्मको बहस तीन महिना बितिसक्दा समेत सेलाउन पाएको छैन । यो बहस देश विदेशका लिम्बू समुदायभित्र मात्र सीमित छैन । यसले अन्य समुदायको समेत जबरजस्त ध्यान आकर्षण गरेको छ । नेपाली साहित्यका मूर्धन्य व्यक्तित्व प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्वाङ (वैरागी काइँला) को प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले धर्मको बहसलाई अनायासै एउटा उचाइमा पुर्यायो । उक्त घोषणापछि यस घोषणा तथा धर्मको बारेका थुप्रै खालका टिका टिप्पणीहरु भए । थुप्रै खालका शङ्का उपशङ्काहरु तेस्र्याइए । सामाजिक सञ्जालले यो माहोललाई झनै तताउने काम गर्यो । यो बहस याक्थुङ (लिम्बू) समुदायमा यति गहन रूपमा चर्कियो कि यसले अन्ततः याक्थुङ (लिम्बू) जातिलाई ठूलो द्वन्द्वमा फसाउने र हिंसात्मक रूप लिन सक्नेसम्मका अनुमानहरु लगाइए । अहिले पनि उक्त खालको अफवाहहरु बजारमा व्याप्त भएकै छन् । आखिर किन धर्मको विषयलाई लिएर यति चर्को बहस आवश्यक पर्यो ? किन याक्थुङ (लिम्बू) समुदाय यस विषयलाई लिएर अभूतपूर्व रूपमा विभाजित बन्यो ? यसमा कुन खालका अन्तरङ्गहरुले काम गरेको छ ? यसले प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्ने कारणहरु के के छन् ? भन्ने विषयमा समेत छलफल अगाडि बढाइयो भने यो धार्मिक बहसलाई सुरक्षित अवतरण गर्न सकिने वातावरण तयार हुन सक्छन् ।
प्रथमतः यो बहस चर्कनुमा राज्यको धार्मिक नीति तथा व्यवहारलाई दोष लाग्नसक्ने अवस्था छ । नेपाल धार्मिक दृष्टिकोणले हिन्दु धर्म सापेक्ष राज्य रहेको इतिहास आम नेपालीमा छर्लङ्ग छ । यो कुराको प्रमाणका लागि हामीले हाम्रा विगतका संविधान, ऐन तथा कानूनहरुलाई हेर्यौं भने पर्याप्त हुन्छ । विगतका २००४ सालदेखि ०४७ सालसम्मका संविधानहरु हिन्दुवादबाट प्रभावित थिए । नेपालमा संवैधानिक इतिहास शुरु हुनुअगाडि संविधानसरह प्रयोग भएको मुलुकी ऐन १९१० ले यो शृङ्खलाको शुरुवात गरेको देखिन्छ । यस्ता खालका ऐन, कानून र संविधानहरुले अन्ततः राज्यलाई धार्मिक, सांस्कृतिक, भाषिक, सामाजिक तथा राजनैतिक दृष्टिकोणले एकात्मक राज्य बनायो । जसले अन्य जात जातिका धार्मिक मूल्य मान्यताहरुलाई स्वतन्त्र अभ्यास गर्ने अथवा फल्ने–फुल्ने वातावरणलाई सीमित घेरा लगाइदियो । जसका विरुद्ध विभिन्न आभियान, १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन भए । जसबाट विभिन्न समुदायले राजनैतिक स्वतन्त्रन्तासँगै धार्मिक स्वतन्त्रता आउने अपेक्षा गरेका थिए । धर्म निरपेक्षताको मुद्दा पहिले नै चर्को रूपमा उठेको हुनाले यसको समाधान नेपालको संविधान २०७२ ले गर्छ भन्ने आम जनताको विश्वास विपरीत यो संविधानमा धार्मिक नीति व्यवस्था गरिएको छ । संविधानमा राज्य धर्म निरपेक्ष रहने कुरा उल्लेख छ । तर धर्म निरपेक्षताको परिभाषा पार्टीहरुको चासोअनुसार घुमाउरो अर्थमा स्थापित गरिएको छ । जसले नेपाललाई धार्मिक दृष्टिकोणबाट हेर्ने हो भने फेरि पनि पहिलाकै मोडमा उभ्याएको देखिन्छ । धर्मसम्बन्धी राज्यको नीति घुमाउरो ढङ्गले उही पुरानै हिन्दु सापेक्षताको स्थितिमा पुर्याएको छ । राज्यको धार्मिक व्यवहारमा कुनै अन्तर आएको छैन । यसले घुमाई फिराई हिन्दु धर्म तथा यसका मान्यतासँग नजिक रहेका धर्मिक मतहरुको संरक्षण गर्न खोजेको देखिन्छ ।
यसलाई धर्म निरपेक्षताको परिभाषा तथा स्पष्टीकरणः ‘यस धाराको प्रयोजनको लागि ‘धर्मनिरपेक्ष’ भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ’ भन्ने वाक्यले स्पष्ट पार्दछ । जुन परिभाषा पश्चिमा अवधारणामा प्रयोग भएको अथवा अभ्यासमा रहेको सेक्युलरिजम अथवा धर्म निरपेक्षताको परिभाषा तथा बुझाइभन्दा विल्कुल फरक छ । सेक्युलरिजम भन्नाले राज्य कुनै पनि धर्मप्रति निरपेक्ष रहने भनी बुझ्ने विषय हो । राज्यले कुनै पनि धर्मको पक्षपोषण तथा संरक्षण गर्दैन भन्ने बुझाइ हो । धर्मलाई जनताको स्वतन्त्र अधिकारको रूपमा व्याख्या गरिएको विषय हो । संविधानमा परेको सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण भन्ने वाक्यांशले राज्य अझ पनि केही धर्महरुको संरक्षणका लागि बाध्य छ र गरिरहेको छ भन्ने देखिन्छ र बुझिन्छ । विभिन्न धर्मसँग सम्बन्धित संरचना निर्माणलगायतका लागि राज्यले अझै आर्थिक सहायता गरिरहेको छ । धार्मिक अभ्यास अनुष्ठानहरुमा राज्यका उच्च ओहदाका व्यक्तित्वहरु औपचारिक रूपमा सहभागी हुने क्रम जारी नै छ । यहाँ सनातन भन्नाले निश्चित धर्मको नाम मात्र आउँछ । नेपाली जनताले छनौट गर्न चाहेका फरक धर्महरु सनातनीको दायरा भित्र पर्दैनन । उनीहरुको धार्मिक अभ्यासका लागि राज्यको धार्मिक निति र ब्यावहार प्रतिकूल छन ।
कुनै समय विशेषगरी मध्ययुगीन समयमा राज्य सञ्चालनको मियो धर्म हुने गर्दथ्यो । धर्म पालना गर्नु राज्यका नागरिकहरुको कर्तब्य हुने गर्दथ्यो । सबै खालका न्याय, निसाफ तथा फैसला जस्ता कार्यहरु धार्मिक मान्यताका आधारमा हुने गर्दथे । धार्मिक मान्यताभन्दा टाढा जान खोज्नु राजद्रोह तथा राज्य विप्लवको कुरा हुन्थ्यो । धार्मिक मूल्य मान्यताहरुको पालना गर्ने गराउने जिम्मा शासकहरुको कर्तव्य हुन्थ्यो । यसको प्रभाव केही अल्प विकसित राष्ट्रहरुमा अझ रहेको छ । हाल आएर संसारका प्रायः देशहरु धर्मनिरपेक्षताको कित्तामा उभिएका छन् । यतिबेला धर्म खासै कुनै महत्वको विषय नभएको बताइए तापनि धर्म सामाजिक, सांस्कृतिक अभ्यासको मेरुदण्ड हो । धार्मिक मान्यताहरुले नै मानिसको संस्कार, संस्कृति, परम्परा तथा सामाजिक सामुदायिक व्यवहारलाई समेत प्रभावित पारेको हुन्छ । यसले नै उसको सोचाइ अथवा मनोविज्ञानलाई प्रभावित पारेको हुन्छ । यो तथ्यलाई मनन् गरेरै हुनुपर्छ धर्म निरपेक्षताको वकालत गर्ने पश्चिमा मुलुकहरु अप्रत्यक्ष रूपमा धर्म प्रचारमा विश्वव्यापी लागेको, सांस्कृतिक प्रसारलाई जोड दिएको अथवा लगानी गरिरहेका भेटिन्छन् । नेपालमा समेत सनातनी धर्महरुको संरक्षण शब्दले राज्यको परम्परागत धार्मिक व्यवहारलाई निरन्तरता दिएको छ । जसले अन्य धर्मका मूल्य मान्यतामा अतिक्रमणलाई जारी राखेकाले पनि धर्मसम्बन्धी बहस हुनुलाई स्वभाविक मान्नु पर्दछ । याक्थुङ (लिम्बू) समुदायमा अभ्यास भइरहेको याक्थुङ (लिम्बू)को वास्तविक धार्मिक अभ्यास र विश्वासलाई प्रतिनिधित्व गरिरहेको भनिएको किरात धर्मले आफ्नो वास्तविक धार्मिक अभ्यास र विश्वासलाई प्रतिनिधित्व गर्न नसक्ने मान्यतामा याक्थुङ (लिम्बू) समुदायका अग्रज व्यक्तिहरु निचोडमा पुगेपछि आफ्नो समुदायमा अनादिकालदेखि अभ्यासमा रहेको धर्म युमाधर्म भएको घोषणा गर्नु स्वभाविक हो । यस्तो अवस्थामा आफ्नो मौलिक तथा सनातनी धार्मिक मान्यताका लागि आफ्नो समुदायमा धार्मिक बहस चलाउनु अत्यन्तै जायज विषय हो र याक्थुङ (लिम्बू) समुदायले आफ्नो समुदायमा अनादिकालदेखि चलिआएको सनातनी धर्म नै युमाधर्म हो भन्ने तर्कसमेत पेश गरिएको छ । यो नै वास्तविक कुरा पनि हो ।
नेपालको पूर्वीभेग लिम्बुवानमा आदिकालदेखि खाम्बोङ्बा लुङ्बोङ्बा, सावा येत्हाङ सा, याक्थुङ हुँदै लिम्बू जातिको विकास भएको देखिन्छ । यो समुदायले सातौं शताब्दीमा लिम्बुवान स्थापना गरेको र यसको मूल जातिलाई लिम्बू जातिको रूपमा विकास गरेको देखिन्छ । यसले लिम्बुवान स्थापना गर्दासमेत आफ्नै मौलिक धार्मिक तथा राजनैतिक दर्शनका आधारमा राज्य स्थापना गरको भेटिन्छ । जुन कुराबाट हामी के भन्न सक्छौं भने यो समुदायले आफ्नै धार्मिक तथा राजनैतिक दर्शनले बोकेको थियो र छ भन्न सकिन्छ । युमाधर्म अनादिकालदेखि मानव सभ्यताको विकास क्रमसँगै विभिन्न मानव समुदायमा अभ्यासमा रहेको धर्म हो । यो विशेषगरी लिम्बू समुदायमा अझ प्रबल अस्तित्वमा रहेको छ । युमा धर्म एक स्त्री युमारुपी आत्मा पात्र सर्वशक्तिशाली देवी भएको एक मात्र विश्वको अस्तित्वमा रहेको धर्म हो । यो धर्मको आफ्नै मान्यता, विश्वास र दर्शन छ । यो याक्थुङ (लिम्बू) समुदायमा अझसम्म जीवित छ । यसमा अहिले आएर दर्शन तथा व्यवहारमा केही विचलन देखिएका छन् । यो धर्मलाई युमा भनिए ता पनि आधिकारिक तवरमा युमा धर्म भनी घोषणा गर्ने काम गरिएको थिएन । यसै बीचमा लिम्बू समुदायमा अभ्यासमा आएको अधिक मासु (मांस) तथा मदिरा प्रयोगबाट भत्कँदै गरेको लिम्बू समुदायलाई १९८८ मा फाल्गुनन्द लिङ्देनले दश लिम्बुवान १७ थुमको मुचुल्का तयार गरी सत्यहाङ पन्थको विकास गरेका थिए । फाल्गुनन्द आफै शुरुमा जसमनी पन्थीमा थिए । पछि उनले याक्थुङ (लिम्बू) समुदायको केही मौलिक धार्मिक मान्यताहरु लिई जसमनी पन्थसँग संयोजन गरे । जसले अन्ततः २०३६ मा किरात धर्मको जन्म दियो । जुन धर्मको अभ्यास अगाडि बढ्दै जाँदा अधिकांश धार्मिक मान्यताहरु जसमनी हिन्दुकृत हुँदै गए । अभ्यासमा समेत जसमनी हिन्दुकृत गर्दै लगियो । जसका कारण लिम्बू समुदायमा रहेको मौलिक धार्मिक मान्यता, दर्शन तथा अभ्यासलाई अस्तित्व सङ्कटमा पार्ने अवस्था सिर्जना भएपछि याक्थुङ (लिम्बू) समुदायका अग्रजहरुले लिम्बू समुदायको भावनाअनुसार यो कदम चालेको स्पष्ट छ । हालसम्म राज्यको संरक्षण पाएको तथा पाइरहेको किरात धर्म अभ्यासको क्रममा निकै सशक्त भएको छ । ठीक यहीबेला यसको मूल समुदाय याक्थुङ (लिम्बू) मै अर्को धर्मको घोषणाले स्वाभाविक रूपमा धर्मको बहसलाई फराकिलो बनाउने नै भयो ।
एकातिर याक्थुङ (लिम्बू) समुदायको धार्मिक दर्शनलाई किरात धर्मले मौलिक रूपमा प्रतिनिधित्व गर्न नसकेको अवस्था अर्कोतिर मौलिक धार्मिक मान्यताहरुमा आएको केही व्यहारिक विचलन तथा आफ्नो मौलिक बाटोको स्पष्ट किटानीको अभाव आदि कारण याक्थुङ लिम्बूहरु कतिपयले आफूलाई हिन्दु लेख्नु, कतिले नबुझी किरात लेख्ने, कसैले क्रिश्चियन धर्म मान्न थाल्नुपर्ने अवस्थामा आफ्नो मौलिकताको खोजी गर्नु, आफ्नो पहिचान स्पष्ट पार्नु आफैमा समुदायको लागि एक महत्वपूर्ण उपलब्धि हो । आफैसँग रहेका अहम् विश्वास, मान्यता, दर्शनहरुको खोजी गर्नु नराम्रो कुरा पक्कै होइन । युमा धर्मको उदय, विकास क्रम तथा अभ्यासको बारेमा खुल्ला बहस आफैमा एउटा बृहत् बहस हो । यो बहस यति बिध्न उचाइमा आउनमा राजनैतिक कारण पनि हुन सक्छ । नेपालमा झण्डै दुई दशकदेखि पहिचानको मुद्दा उठिरहेको छ । अहिले यो बृहत् रूपमा उठिरहेको अवस्थामा पूर्वमा लिम्बुवानको आफ्नै राजनैतिक मुद्दाहरु छन् । यसको मूल समुदाय याक्थुङ (लिम्बू) जाति हो । सङ्घीयताका यसको आफ्नै महत्व र आधारहरु छन् । जसका लागि याक्थुङ (लिम्बू) तथा लिम्बुवानी समुदायले इतिहासदेखि नै ठूलो सङ्घर्ष गर्दै आएका छन् । जसमा सयौं व्यक्तिले सहादत प्राप्त गरेका छन् भने कतिपयले यही मुद्दाका कारण राज्य विप्लवको आरोपमा विदेश पलायन हुनुपरेको छ । यसले लिम्बू समुदायको भाषा, लिपि, संस्कार, संस्कृति संरक्षणमा प्रतिकूल भूमिका खेलेको छ । राजनैतिक रूपमा षड्यन्त्रपूर्वक लिम्बुवान खोसिएको महसुस गरेको छ । अहिले प्रदेश नं. १ को नामाङ्कनमा समेत केन्द्रीय राज्यसत्ताको आडमा किरात धर्मको नाममा फेरि पनि लिम्बुवानको माग सम्बोधन हुने सम्भावनालाई निश्तेज पार्ने विभिन्न खालका क्रियाकलापहरु भइरहेका छन् । लिम्बू पनि आखिरी किरात नै हो । लिम्बुवान पनि किरात नै हो भन्नेखालका तर्कहरु प्रस्तुत गरी लिम्बुवानलाई हदैसम्मको किनारा लाउने, भित्तामा चेप्ट्याउने खालको काम भइरहेको छ । यसको ऐतिहासिक, भौगोलिक निरन्तरता तथा राजनैतिक महत्वलाई कमजोर पार्न विभिन्नखालका चलखेलसमेत भइरहेका छन् । लिम्बुवानको थुप्रै आधारहरु भए तापनि यसलाई हिजोको हिन्दुवादी एकात्मक राज्य व्यवस्थाले हदैसम्म षड्यन्त्रपूर्वक किनारा लगाएको कुरा घाम जतिकै छर्लङ्ग छ ।
यति धेरै उत्पीडनको शिकार भएर पनि याक्थुङ (लिम्बू) समुदायले आफ्ना भाषा, धर्म, परम्परा, संस्कृति, दर्शनलाई जीवन्त राख्न सक्षम भएको कुरा पनि स्पष्ट रहेको विषय हो । यस्तो अवस्थामा पूर्वमा विगत लामो समयदेखि लिम्बुवानको आवाज उठ्दै आएको छ । यो मुद्दामा ठूला–ठूला आन्दोलन तथा सङ्घर्षहरु भएका छन् । पछिल्लो समयमा किरात धर्मको आडमा लिम्बुवानको मुद्दा नै निश्तेज गर्ने प्रयास भएको पाइन्छ । जसले गर्दा लिम्बू तथा लिम्बुवानी समुदायले आफ्नो मौलिक पहिचान के भन्ने कुरा दुनियाँलाई दर्शाउनु पर्ने बाध्यताका कारण पनि यो धर्मको बहस सतहमा आएको स्पष्ट छ । यो एक खालको सामाजिक सांस्कृतिक विद्रोह नै हो भन्दा अन्यथा हुँदैन भन्दा हुन्छ । यो पहिचानवादी आन्दोलनमा सही र गलत बाटो कुन हो भनी छुट्याउन चालिएको बहस पनि हो भनेर बुझ्न पनि सरल हुन्छ ।