यासोक/पाँचथरको कुम्मायक गाउँपालिका वडा न. ५ का स्थानीय रणबहादुर खड्का दैनिक जसो पानी लिन २ देखि ३ घण्टा लगाएर कुवा पधेरोमा धाउँछन् । उनको दैनिकी यसरी नै बितिरहेको छ । वर्षातको समयमा पानी लिन जाँन समस्या भएपछि वर्षादको पानी खाँदै आएका छन् । २ देखि ३ मिटरसम्मको प्लास्टिक आगनमा टाँगेर वर्षातको पानी गाग्रोमा थापेर खाँदै आएका छन् । ‘झरि परेको समयमा दैनिक १ सय लिटरदेखि १५० लिटरसम्म जम्मा हुन्छ, अनि जम्मा गरेको पानी तारेर र उमालेर खाने गरेको छु' उनले भने । वर्षातको समयमा उनको जस्तै समस्या छ, स्थानीय बिष्णु थापाको पनि घाम लागेको समयमा पानी लिनजान कुनै समस्या हुदैन तर पानी परेको समयमा निकै कठिन हुने गरेको उनि बताउछन् । पानी लिनजाने बाटो उकालो र ओरालो छ । पानी झरीमा ३ देखि ४ घण्टाको चिप्लो बाटो हिढ्नुपर्छ कुन बेला लडिने हो थाहा हुदैन । जसोतसो गरेर भएपनि वर्षातको पानी थापेर खानुको बिकल्प छैन, उनले दुखेसो पोख्दै भने । घरका आगनभरी ५ सयदेखि १ हजार लिटरका ड्रमहरु छन् । वर्षादको समयमा भरिएकाे पानी  हिउँदको समयमा प्रयोग गर्ने गरेको थापाले बताए ।

वर्षातको समयमा जम्मा गरेको पानी कतिपयले फिल्टर वा उमालेर प्रयोग गर्दै आएका छन् । गाउँपालिकाको वडा न. १, ३, ४ र ५ नम्बर वडामा पानीको चर्को समस्या छ । पानी अभावले काकाकुल बन्न पुगेका कुम्मायकबासीको क्षणिक अभाव पूर्ति वर्षातको पानीले गर्छ । त्यस्तै हाेटल व्यवसाय गर्दै आएका मदन चाम्लिङ राईको पनि वर्षातको पानीले ड्रमहरु टम्म भरिने गरेको छ । लुगा धुन र शौचालयमा वर्षातको पानीको बढि प्रयोग हुने उनी बताउँछन् । घरको छानामा पाईपको डुढ प्रयोग गरेर बलेसीमा खेरगइरहेको पानी वर्षादको समयमा दैनिक जसो जम्मा गर्ने गर्दछन । हिउदको समयमा पानी अभावले होटल व्यावसाय सञ्चालनमा कठिनाई नहुने राईले बताए ।

कुम्मायक गाउँपालिका बासिन्दा मध्ये अधिकांशले वर्षातको पानी संकलनकै लागि जस्तापाताको छाना भएको घर पनि बनाउँन थालेका छन । खरले छाएको छानामा भन्दा जस्तापाताले छाएको छानाबाट बलेसीमा राम्रो पानी झर्ने भएकाले गाउँपालिकामा वर्षेनी खरको छाना भएको घरको संख्या घट्दै गएको छ । वर्षातको पानी संकलनको लागि कुम्मायक गाउँपालिकाले साविकका प्रत्येक वडामा प्लास्टिक पोखरी बनाउन पाँच–पाँच वटाको दरले प्लास्टिक दिएको छ । ३५ हजार लिटर पानी अँटने क्षमताको प्लास्टिक कृषक समुहहरुलाई दिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए । पानीको अल्पकालीन समस्या समाधानको बिकल्प नै प्लास्टिक पोखरी बनेपछि कृषक समुहहरु छनोट गरी साझेदारीमा दिएको उनले बताए । आर्थिक वर्ष ०७५/७६ को वार्षिक बजेट सहितको नीति तथा कार्यक्रममा पनि खानेपानी अन्तरर्गत प्लास्टिक पोखरी निर्माणलाई गाउँपालिकाले प्राथमिकता दिएको छ । चेम्जोङले प्लास्टिक पोखरीले सामान्य करेसाबारी सिञ्चतदेखि लिएर गाईवस्तुलाई पानी किनेर खुवाउनुपर्ने जटिल अवस्थाको अन्त्य हुने बताए ।

गाउँपालिकाले केही महिनादेखि प्रति लिटर ६० पैसामा खानेपानी उपलब्ध गराउँदै आएको छ । गत आर्थिक वर्षमा गाउँपालिकाले खरिद गरेको २ वटा ट्रयाक्टरबाट पानी ढुवानी गरि स्थानीयलाई सुफत मुल्यमा पानी बितरण गर्दै आएको छ । नीजि सवारी साधनले प्रतिलिटर २ रुपयाँले पानी बेच्न थालेपछि गाउँपालिकाले ट्याक्टर खरिद गरि ६० पैसा प्रतिलिटरको दरले स्थानीयलाई पानी बितरण गर्न थालेको हो । कुम्मायक गाउँपालिका सुख्खा ग्रस्त क्षेत्र भएकाले पनि पानी ‘अमृत’ सामान जस्तै भएको छ । खानेपानीका पुराना मुहानहरु सुकेर बिगत ८ वर्षयता हाहाकार भएपछि नै यहाँ पानी अमृतजस्तो भएको हो । गाउँपालिकाका सुख्खा बस्तीहरु खाल्डे, ओखलढुंगा, होक्लुम्बा, भुल्के लगायतका बस्तीहरुमा एक गिलास पानीको सट्ठा मोही दिन थालेका छन ।